अमरराज नहर्की
तनहुँ वैशाख १ गते ।तनहुँको बन्दीपुर अस्पतालले बिहान ७ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गरेको विस्तारित ओपिडी सेवाबाट एक वर्षको अवधिमा २४ हजारभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन् ।
विसं २०८२ वैशाख १ गतेदेखि सुरु गरिएको यस सेवाको एक वर्ष पूरा भएको अवसरमा अस्पतालले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कले नियमित समयभन्दा अतिरिक्त समयमा सेवा लिनेको आकर्षण उल्लेख्य रहेको देखाएको छ ।
अस्पतालको वार्षिक प्रतिवेदनअनुसार वैशाखदेखि चैत मसान्तसम्म कुल २४ हजार ३०४ जनाले ओपिडी सेवा लिएका छन् ।
जसमा ५२.९९ प्रतिशत सेवाग्राही (१२ हजार ८७८ जना) ले नियमित समयमा र ४७.०१ प्रतिशत (११ हजार ४२६ जना) ले अतिरिक्त समयमा सेवा लिएका छन् ।
कार्यालय समयमा भ्याउन नसक्ने कर्मचारी, विद्यार्थी, मजदुर, व्यापारी र गृहिणीहरूका लागि यो सेवा ‘वरदान’ सावित भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अनिल गिरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “एक वर्षको यो यात्रा हाम्रा लागि निकै उत्साहजनक छ । अस्पतालको ओपिडी सेवालाई बिहान ७ देखि बेलुकी ८ बजेसम्म विस्तार गर्ने हाम्रो लक्ष्य नागरिकको पहुँचमा पुगेको पुष्टि वार्षिक तथ्याङ्कले गरेको छ । सेवाग्राहीको चापलाई हेर्दा अब यो सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानुपर्ने देखिएको छ ।”
तथ्याङ्क अनुसार असोज र कात्तिक महिनामा अतिरिक्त ओपिडी सेवा लिनेको सङ्ख्या अन्य महिनाको तुलनामा धेरै देखिएको छ ।अस्पतालले कार्यालय खुल्ने दिन बिहान ७ देखि १० बजेसम्म र दिउँसो २ देखि बेलुकी ८ बजेसम्म तथा सार्वजनिक बिदा र शनिबारका दिन बिहान ७ देखि बेलुकी ८ बजेसम्म सेवा प्रदान गर्दै आएको छ ।
इमर्जेन्सी विभागको तथ्याङ्क बाहेकको यो विवरणले स्थानीय तहमा स्वास्थ्य सेवालाई सहज र पहुँचयोग्य बनाउन बन्दीपुर अस्पतालले सुरु गरेको यो अभ्यास जिल्लामै उदाहरणीय बन्दै गएको छ ।
विस्तारित ओपिडी सेवाले कार्य व्यस्तताका कारण स्वास्थ्य परीक्षणबाट वञ्चित रहनुपर्ने बाध्यतालाई अन्त्य गर्दै नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा बताउनुहुन्छ ।