अमरराज नहर्की
तनहुँ, वैशाख १ गते । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय तनहुँले जिल्लाका विभिन्न लिफ्ट खानेपानी आयोजनालाई ५८ लाख रुपियाँ विद्युत् महसुल अनुदान प्रदान गरेको छ । तनहुँ र नवलपुरका खानेपानी आयोजना हेर्दै आएको यस कार्यालयले १११ वटा योजनालाई उक्त रकम अनुदानस्वरूप उपलब्ध गराएको हो ।
कार्यालयका प्रमुख एवं सिनियर डिभिजन इन्जिनियर शम्भुराज खनालका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को हालसम्म ९४ लाख १४ हजार रुपियाँ महसुल भुक्तानी भएकोमा कार्यालयले ५८ लाख रुपियाँ बराबरको अनुदान दिएको हो । सरकारले उपभोक्तालाई राहत दिने उद्देश्यले साना खानेपानी आयोजनाका लागि वार्षिक अनुदान सीमा १५ हजारबाट बढाएर यस वर्ष २५ हजार रुपियाँ पुर्याएको छ । ठुला आयोजनाका हकमा भने विद्युत् खपतको आधारमा प्रतिशत तोकेर अनुदान दिने व्यवस्था गरिएको छ ।
‘लिफ्ट खानेपानी आयोजनामा विद्युत् महसुल अनुदानसम्बन्धी मापदण्ड, २०७९’ अनुसार मासिक २५ हजार रुपियाँसम्म विद्युत् महसुल खपत गर्ने उपभोक्ता समितिलाई शतप्रतिशत अनुदान दिइएको छ । त्यसैगरी २५ देखि ४० हजारसम्म खपत गर्नेलाई ७५ प्रतिशत, ४० देखि ६० हजारसम्मलाई ५० प्रतिशत, ६० देखि ८० हजारसम्मलाई २५ प्रतिशत र ८० हजारभन्दा बढी महसुल खपत गर्ने योजनालाई १० प्रतिशतका दरले अनुदान उपलब्ध गराइने प्रमुख खनालले जानकारी दिनुभयो ।
अनुदान प्राप्त गर्न उपभोक्ता समितिले विद्युत् महसुलको सक्कली बिल पेस गर्नुपर्ने र जरिवाना नतिरेको हुनुपर्ने अनिवार्य प्रावधान छ । हरेक छ–छ महिनामा उपभोक्ता समितिको निर्णय र वडा कार्यालयको सिफारिससहित अनुदानका लागि दाबी पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । नागरिकलाई स्वच्छ, गुणस्तरीय र सुरक्षित खानेपानी सर्वसुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले महसुलमा यस्तो सुविधा दिइएको कार्यालयले जनाएको छ ।