राममणि दाहाल
मकवानपुर, वैशाख १ गते । नयाँ वर्ष २०८३ सालको अवसरमा हेटौँडा उपमहानगरपालिका ६ स्थित चौघडामा आयोजित खुला दौड प्रतियोगितामा मकवानपुरको बकैया गाउँपालिका ५ का राजकुमार गोले प्रथम हुनुभएको छ ।
नेपाल तरुण दल हेटौडा उपमहानगरपालिका ६ नं वडा समितिले मङ्गलबार आयोजना गरेको पाँच किलोमिटर खुला दौड प्रतियोगितामा बकैया ५ क्रै अनिष थिङ दोश्रो र राक्सिराङका सुभाष हेमजङ्ग तेश्रो हुनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: नगद १५ हजार, १० हजार र पाँच हजार रुपियाँ तथा मेडल र प्रमाणपत्र नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्व लामाले प्रदान गर्नुभएको थियो ।
यस्तै महिलातर्फ हेटौँडा १३ की साधना लोप्चन प्रथम, हेटौँडा १३ कै गङ्गा मोक्तान दोश्रो र हेटौँडा ३ की स्वस्तिका थिङ तेश्रो हुनुभएको थियो ।
तरुण दल मकवानपुरका जिल्ला सदस्य राजकुमार बास्तोलाको अध्यक्षतामा भएको दौड प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा हेटौँडा ६ नम्बर वडाका वडाध्यक्ष विष्णुबहादुर दाहाल, ७ नम्बर वडाका वडाध्यक्ष दामोदर गौतम, १६ नम्बर वडाका वडाध्यक्ष रामकृष्ण कोइराला, हेटौडा ६ का वडा सदस्य विजय पौडेल, कांग्रेसका जिल्ला सचिव भीमसेन महत, पार्टी प्रवक्ता अर्जुनप्रसाद चौलागाई, नगर सभापति उत्सव ईटेनीलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा चार महिलासहित ३० जनाको दौडमा सहभागिता रहेको थियो ।