• १ वैशाख २०८३, मङ्गलबार

सुडानमा जनवरीदेखि भएका ड्रोन आक्रमणमा सात सय जनाको मृत्यु : राष्ट्रसङ्घ

blog

जेनेभा, वैशाख १ गते । यस वर्षको जनवरीदेखि हालसम्म सुडानमा भएका ड्रोन आक्रमणमा करिब ७०० जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय सहायता प्रमुख टम फ्लेचरले बताउनु भएको छ । उहाँले तीन वर्ष लामो गृहयुद्धले सुडानमा विश्वको सबै भन्दा ठूलो मानवीय सङ्कट सिर्जना गरेको बताउनु भएको छ । 

लामो समय चलेको सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बिचको युद्धले दशौं हजार मानिसको ज्यान लिएको छ भने एक करोड १० लाख भन्दा बढी विस्थापित भएको जनाइएको छ ।  सुडानमा पछिल्लो समयमा, दैनिक जसो हुँदै आएका ड्रोन आक्रमणले सुडानको डार्फुरसहित विभिन्न क्षेत्रमा, जन-जीवन अस्तव्यस्त पारेको जनाइएको छ । 

युद्धले लाखौँ  सुडानीलाई आफ्नो घर छोड्न बाध्य पार्नुका साथै क्षेत्रीय अस्थिरताको जोखिम उच्च भएको फ्लेचरले बताउनु भएको छ । उहाँले तीन वर्षको युद्धले लगभग तीन करोड ४० लाख मानिसलाई मानवीय सहयोगको आवश्यकता रहेको बताउनु भएको छ । उहाँले परिस्थिती असहज हुँदै जाँदा भोकमरी बढ्दै गएको उल्लेख गर्दैै लाखौँ बालबालिका कुपोषित हुनुका साथै शिक्षाबाट वञ्चित रहेको बताउनु भएको छ । यसैबिच महिला तथा बालिकाले क्रूर यौनजन्य हिंसाको सामना गरिरहेको बताउदै उहाँले मानवतावादी  यस वर्ष दुई करोडलाई सहयोग गर्ने प्रयास गरेको बताउनु भएको छ । 

सुडानमा संयुक्त राष्ट्रसङ्घको आवासीय संयोजक डेनिस ब्राउनले यस वर्ष सुडानका लागि  सहयोग जुटाउन संयुक्त राष्ट्रसङ्घले गरेको अपिल सदस्य राष्ट्रबाट अन्तर्राष्ट्रिय सहायता योगदानमा कमी आएको कारण असहज भएको बताएउनु भएको छन् । सङ्कटग्रस्त शान्ति वार्तालाई पुन : र्जीवित गरी मानवीय सहायता परिचालन गर्ने उद्देश्यले बुधबार बर्लिनमा आयोजित सम्मेलनमा सहभागी हुन दाता भेला हुने जनाइएको छ । रासस/एएफपी