अजय शाह
गौशाला (महोत्तरी), वैशाख १ गते । महोत्तरी जिल्लाका किसानहरू यतिबेला चैते बालीअन्तर्गत गहुँ, रहरलगायत दलहन बाली भित्र्याउन तीव्र रूपमा जुटेका छन्। बेमौसमी हावाहुरी र वर्षाको जोखिम बढेसँगै सम्भावित क्षति टार्न उनीहरू हतार–हतारमा खेतमै खटिन बाध्य भएका हुन्।
बिहानदेखि बेलुकासम्म किसानहरू गहुँ काट्ने, थ्रेसरमार्फत दाना छुट्याउने र सुरक्षित भण्डारण गर्ने काममा व्यस्त छन्। समयमै बाली नउठाए नोक्सानी हुने डरले उनीहरूको कामको चाप उल्लेखनीय रूपमा बढेको छ।
यसैबिच डिजेल तथा अन्य इन्धनको मूल्यवृद्धिले कृषि कार्यको लागत झन् बढाएको किसानहरूको गुनासो छ। ट्र्याक्टर तथा थ्रेसर सेवाको भाडा महँगिँदा उत्पादन खर्च बढेको उनीहरू बताउँछन्।

औरही नगरपालिका–२ का किसान दिनेश यादवका अनुसार मौसमको अनिश्चितताले किसानहरूलाई दबाबमा पारेको छ। उहाँ भन्नुहुन्छ, “चैत–वैशाख महिनामा हावाहुरी र वर्षाको सम्भावना बढी हुने भएकाले बाली नष्ट हुने डरले हामी सबै परिवार खेतमै खटिएका छौँ। गहुँ छिटो काटेर थ्रेसरबाट दाना छुट्याउनुपर्ने बाध्यता छ।” उहाँले इन्धन महँगिएसँगै कृषि उपकरणको भाडा पनि बढेको उल्लेख गर्नुभयो।
यहाँका अर्का किसान पञ्चलाल कापरले पनि यस वर्षको मौसमलाई अत्यन्त अनिश्चित बताउँदै भन्नुभयो, “कहिले हावाहुरी, कहिले पानी पर्ने डरले ढिला गर्नै नसक्ने अवस्था छ। गहुँ पाकिसकेकाले ढिलाइ भए झर्ने वा बिग्रने जोखिम उच्च छ।”
किसानहरूका अनुसार खेत जोताइको लागत पनि अस्वाभाविक रूपमा बढेको छ। स्थानीय किसान पिडा यादवले ट्र्याक्टरले खेत जोत्दा प्रतिघण्टा करिब २२ सयसम्म लिने गरिएको गुनासो गर्नुभयो। उहाँका अनुसार, “इन्धन महँगिएको बहानामा सेवा प्रदायकहरूले मनोमानी भाडा असुलिरहेका छन्, जसले साना किसानलाई बढी मारमा पारेको छ।”
यसैगरी मजदुर अभावले पनि किसानहरूलाई थप समस्या पारेको छ। बाली भित्र्याउने मुख्य सिजनमै पर्याप्त कामदार नपाउँदा काम ढिलाइ भइरहेको उनीहरूको भनाइ छ। समयमै बाली भित्र्याउन नसके उत्पादनमा ठूलो क्षति हुने भन्दै किसानहरूले सम्बन्धित निकायसँग आवश्यक सहजीकरण र सहयोगको माग गरेका छन्।
यता कृषि प्राविधिकहरूले सम्भावित हावाहुरी, असिना र वर्षालाई ध्यानमा राख्दै सकेसम्म छिटो बाली भित्र्याउन किसानहरूलाई सुझाव दिएका छन्।


