• १ वैशाख २०८३, मङ्गलबार

बागलुङमा शालग्राम महोत्सव हुने

blog

बागलुङको कुँडुलेस्थित शालग्राम सङ्ग्रहालय । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, वैशाख १ गते ।
बागलुङ नगरपालिका वडा नं. ४ कुँडुलेस्थित रङ्गवैकटेश मन्दिर तिरुपती बालाजी धाममा ३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने भएको छ । नयाँ वर्षको अवसरमा आगामी वैशाख ७ देखि ११ गतेसम्म शालग्राम महोत्सव हुनेछ ।

भगवान लक्ष्मीनारायणको प्राण प्रतिष्ठा गरिएको तिथी पारेर ३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव आयोजना गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा शालग्राम सङ्ग्रहालयका संरक्षक स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

शालग्राम र शालग्राम शिला पाइने कालीगण्डकी नदीको महिमाबारे चर्चा गरिने महोत्सवमा प्रत्येक दिन सामूहिक गितावाचन, भजनकिर्तन, कथावाचन, रथयात्रा, नित्य दिपदान, एक सय ८ कलस अभिषेक लगायतका कार्यक्रम गरिने छ । महोत्सवका रङ्गवैकटेश मन्दिर र संग्राहालय परिसरमा सरसफाई गरी तोरन र ध्वजापताकाले दुलहीझैं सिंगारिएको छ ।

बाघको मुखाकृति दुई सय मिटरको सुरुङ निर्माण गरी संग्रहित सवा लाख शालग्रामको दर्शन तथा अवलोकनका लागि दैनिकजसो आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको भीड लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

देशकै प्रसिद्व धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती र मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने हजारौँ पर्यटकले सङ्ग्रहालयको अवलोकन गर्ने गर्छन् । १० करोड रुपियाँभन्दा बढी लगानीबाट धार्मिक महत्वका संरचनाको निर्माण गरिएपछि सङ्ग्रहालयमा आउने पर्यटकको सङ्ख्या वर्षेनि बढ्दै गएको उपाध्यायले बताउनुभयो ।

सुरुङभित्र कालीगण्डकीको शिर दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको आकृति बनाइएको छ । ‘‘शालीग्रामको महत्व भारत वर्षमा, नेपालको मधेश प्रदेश र मिथिला सभ्यतामा बढी महत्व भएकोले सो क्षेत्रका पर्यटक बढी आउन थालेका छन्’’ संरक्षक प्रपन्नाचार्यले भन्नुभयो ।   

बागलुङको प्रतिकको रुपमा सङ्ग्रहालयको प्रवेशद्वारलाई बाघको मुखाकृति बनाइएको छ । कतिपय भारतीय नेपालको पुर्वदेखि पश्चिम घुम्न दस दिनको प्याकेज बनाएर आउने गर्छ । दक्षिण भारतको केरला, आन्द्रप्रदेश, गुजरात लगायतका स्थानबाट बढी भारतीय आउने गरेको सङ्ग्रहालयको तथ्याङ्कमा उल्लेख छ । भारतबाट आउनेले जनकपुर, लुम्बिनी, पशुपति र मुक्तिनाथको यात्रामा शालग्राम सङ्ग्रहालयलाई प्राथमिकतामा पार्ने गर्छन् ।

चाडपर्व र बिदाको समयमा धेरै पर्यटक सङ्ग्रहालय पुग्ने गर्छन् । गत आर्थिक वर्षमा एक लाखभन्दा बढी पर्यटकले शालिग्राम सङ्ग्रहालयको अवलोकन गरेका थिए । पर्यटकबाट यो वर्ष एक करोड २२ लाखभन्दा बढी आम्दानी भएको समितिले जनाएको छ ।