• १ वैशाख २०८३, मङ्गलबार

सडन डेथमा मछिन्द्र पराजित, पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

blog

खेमराज सापकोटा
रानी, (विराटनगर), वैशाख १ गते ।
विभागीय टोली नेपाल पुलिस क्लब ३८औँ संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। विराटनगरस्थित शहीद मैदानमा सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा साविक विजेता मछिन्द्र फुटबल क्लबलाई सडन डेथमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा दुवै टोलीले ५–५ गोल गरेपछि खेल सडन डेथमा पुगेको थियो। निर्णायक क्षणमा पुलिसका सुजन मगरले गोल गर्न सफल हुनुभयो भने मछिन्द्रका श्याम मुर्मुको प्रहार नेपाल पुलिसका गोलरक्षक शत्रुधन चौधरीले रोकेपछि पुलिसको जित सुनिश्चित भएको हो।

उत्कृष्ट प्रदर्शन गर्नुभएका गोलरक्षक चौधरी नै खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद ११ हजार रुपियाँ प्राप्त गर्नुभयो।
टाइब्रेकरमा पुलिसका राम वाजी, सञ्जीव लामा, भरत शाह, जोन विष्ट र शत्रुधन चौधरीले गोल गर्नुभयो भने मछिन्द्रका रोहित चन्द, दिवाकर चौधरी, रोमन भुजेल, विशाल भण्डारी र देवेन्द्र तामाङले पनि सफल प्रहार गर्नुभयो।

यसअघि खेलको २९औँ मिनेटमा धिरेन्द्र शाहले गोल गर्दै पुलिसलाई अग्रता दिलाउनुभयो। ३४औँ मिनेटमा सौरभ लिम्बूले हेडमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याउनुभयो।

दोस्रो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे पनि थप गोल गर्न सकेनन्। नेपाल पुलिस क्लब यस प्रतियोगिताको २०७२ सालको विजेता टोली हो। यता, साविक विजेता मछिन्द्र यसपटक पहिलो खेलबाटै बाहिरिएको छ।

प्रतियोगिताअन्तर्गत मङ्गलबार राति अन्तिम क्वाटरफाइनल खेल घरेलु सम्राट स्पोर्टिङ क्लब र भारतको झारखण्डस्थित बिर्सामुण्डा स्पोट्र्स एकेडेमीबिच हुने आयोजकले जनाएको छ।