अमरराज नहर्की
तनहुँ, वैशाख १ गते । तनहुँ, लमजुङ र मनाङ जोड्ने मुख्य मार्ग डुम्रे–बेसीसहर सडक खण्डमा विगत केही दिनदेखि हुँदै आएको सवारी आवागमनको अवरोध आज (मङ्गलबार)देखि हटेको छ । सडक विस्तार तथा स्तरोन्नतिको काम भइरहेकाले चैत २१ गतेदेखि दैनिक आठ घण्टा बन्द हुँदै आएको उक्त सडक खण्ड अब पूर्ण रूपमा खुला भएको हो ।
सडक निर्माण कार्यका लागि सवारी साधन आवतजावतमा लगाइएको रोक हटेसँगै यस मार्ग भएर यात्रा गर्ने यात्रुहरूले सहजताको महसुस गरेका छन् । चैत २१ देखि ३० गतेसम्म भानु नगरपालिकाको चाम्बासदेखि तुरतुरेसम्मको खण्डमा दिउँसो १२ देखि ४ बजेसम्म र साँझ ५ देखि राति ९ बजेसम्म सवारी आवागमन बन्द गरिँदै आएको थियो ।
निर्माण कार्यलाई छिटो र सुरक्षित रूपमा सम्पन्न गर्न प्रशासनले लगाएको सो अस्थायी रोकले यात्रुहरूलाई केही सास्ती भए पनि अब भने सडक सञ्जाल निर्वाध रूपमा सञ्चालनमा आएको छ । सडक सुचारु भएसँगै लमजुङ र मनाङतर्फ जाने यात्रु तथा सवारी साधनहरूले नियमित समयमै आफ्नो गन्तव्य तय गर्न सक्नेछन् ।