• १२ साउन २०८१, शनिबार

ब्युँतिएन जिरी

blog

बाबुराम शर्मा 

चरीकोट, वैशाख ३ गते ।  कुनै दिन मिनी स्विट्जरल्यान्ड भनेर विश्वभर चर्चामा रहेको जिरी विविध कारणले गर्दा पुरानो लयमा आउन सकेको छैन ।  सडक सञ्जाल जोडिएपछि पूर्ण रूपमा सञ्चालनमा आएको एयरपोर्ट सेवा बन्द हुन पुगेपछि आन्तरिक पर्यटक आगमनमा कमी हुँदै गएकाले जिरी पुरानो लयमा आउन नसकेको जिरी नगरपालिकाका नगरप्रमुख टङ्कबहादुर जिरेलले गुनासो पोख्नुभयो । 

उहाँका अनुसार जिरीलाई पुरानै लयमा ल्याउन नगरभित्रका पर्यटक लोभ्याउने प्रायःजसो पर्यटकीय स्थलको निर्माण तथा मर्मत गरिए पनि विमानस्थल गौचरणमा परिणत हुँदा असर पारिरहेको छ । स्विस सरकारले स्थापना गरिदिएका जिल्ला अस्पताल, गाईफर्म, जिरी प्राविधिक शिक्षालयलगायत आकर्षक स्थलहरू सञ्चालनमा आइरहँदा पनि विमानस्थल बन्द हुन पुगेपछि जिरी पुरानै लयमा आउन सकिरहेको छैन । 

काठमाडौंको धुलो, धुवाँदेखि वाक्क लागेर स्वच्छ वातावरणमा रम्न यहाँ आउनेको सङ्ख्या पनि खासै बढेन । बाह्य पर्यटकले खचाखच हुने जिरी लयमा फर्काउन अन्य उपाय उपलब्धिमूलक बन्न नसकेपछि गुनासो पोख्दै उहाँले भन्नुभयो, “एयरपोर्ट हुँदा सोलु, ओखलढुङ्गालगायत र सगरमाथा आरोहणमा आउने बाह्य पर्यटक यहाँ खचाखच हुन्थे । एयरपोर्ट बन्द भएपछि उता जाने पर्यटक काठमाडौँबाटै सिधै जान्छन् । अहिले फाटफुट बाह्य पर्यटक देख्न पाइन्छ । आन्तरिक पनि त्यति आउँदैनन् ।” 

काठमाडौँका ठूला घरको झल्को दिने ठूलो टावर, अपार्टमेन्ट जस्ता ठूला भवन, विद्यालय, बास्केटबल कोर्ट बनिसकेका छन् । अलि पर जङ्गल, हेरिरहुँ जस्ता दृश्य छन् । पारिपट्टिको वनलाई कुहिरोले ढाकेर हरियो वनमाथि सेतो घुम्टो ओढाए जस्तै साँच्चै मनमोहक दृश्य हेर्न पाइन्छ । 

गाईले ढुङ्गालाई दूध दिन थालेपछि पुजिन थालेको जिरेश्वरी महादेव मन्दिर, अग्लो ढुङ्गा, ढुङ्गाको गुफाभित्र त्रिशूलैत्रिशूलले भरिएका मठमन्दिर । मन्दिरबाट देखिने माथिबाट बगिरहेको झरना र तल बगिरहेको निश्चल खोलाले मनै आनन्द बनाउने थुप्रै दृश्य यहाँ छन् । 

गुफामा रहेको गाईका थुन जस्ता आकृतिबाट पहिला दूध आउँथ्यो भनिन्छ, अहिले पनि पानी चुहिरहन्छ । यहाँ जे माग्यो त्यो पूरा हुन्छ  भन्ने विश्वास छ । 

यहाँ पर्यटक आकर्षण गर्न पहिलो पटक सगरमाथा चढ्न सफल आरोही स्वार्गीय तेञ्जिङ नोर्गे शेर्पा र स्वर्गीय सर एडमन्ड पर्सिभल हिलारी पार्क निर्माण गरिएको छ । उनीहरू सगरमाथा चढ्न जाँदा यहाँ विश्राम गर्न बसेका थिए । मनै लोभ्याउने दुई हजार ३८४ मिटर उचाइमा बुद्धपार्क निर्माण गरिएको छ । 

गौचरण बनेको एयरपोर्ट चौरको छेउबाटै खोला बगिरहन्छ । २०४० सालअघि विमानस्थल रहेको उक्त चौर गौचरणमा परिणत भएको पनि करिब चार दशक पुग्न लागिसकेको छ । धेरै प्रयास गर्दा पनि एयरपोर्ट सञ्चालनमा आउन  सकेको छैन ।  एयरपोर्ट सञ्चालनमा आए जिरी पुरानै लयमा फर्किने अपेक्षा जिरीवासीले  राखेका छन् ।