• २३ असार २०८१, आइतबार

सुकेटारमा तीन सातापछि उडान सुचारु

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, बैशाख २ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन सातापछि उडान सुचारु भएको छ । प्रतिकुल मौसमकाकारण अवरुद्ध बनेको उडान तीन सातापछि शुक्रबारदेखि सुचारु भएको हो । 

बाक्लो तुँवालो (हुस्सु) का कारण सुकेटार विमानस्थलमा पछिल्लो तीन सातायता लगातार उडान अवरुद्ध हुँदैआएको थियो । 

शुक्रबारदेखि मौसममा सुधार आएसँगै उडान सुरु भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभयो । लामो समयसम्म अवरुद्ध बनेको उडान सुचारु भएसँगै शुक्रबार एकैदिन काठमाडौं–ताप्लेजुङ तीन उडान भएको लिम्बूले जानकारी दिनुभयो ।

हालको पर्यटकीय मौसममा लगातार उडान अवरुद्ध हुदाँ विदेशी पर्यटकसहितका यात्रु मारमा पर्दै आएका थिए । क्रमिकरुपमा मौसममा सुधार आउन थालेकाले अब तालिकाअनुसार नियमित उडान हुने स्टेशन इन्चार्ज लिम्बूले बताउनुभयो । निगमकाअनुसार मौसम प्रतिकुल भएपछि आठ उडान अवरुद्ध हुन पुगेको थियो ।

 करिव तीन सातासम्म उडान अवरुद्ध भएपछि काठमाडौंका लागि टिकट बुकिङ गरेका यात्रुहरु विमानस्थल पुग्दै फर्कनेगरेका छन् । हरेक दिन (उडान हुने दिन) यात्रु विमानस्थलमा पुगेर एक डेढ घण्टा जहाज पर्खंदै उडान रद्द भएको जानकारी लिँदै फर्कने गरेका थिए । उडान अवरुद्ध हुँदा कञ्चनजङ्घाको भ्रमणमा आएका विदेशी पर्यटकसमेत प्रभावित बनेका थिए । हाल पर्यटकीय मौसम भएकाले यात्रुको अत्यधिक चाप रहेको निगमले जनाएको छ ।

 नेपाल वायुसेवा निगमले सुकेटर विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन काठमाडौं–ताप्लेजुङ सीधा उडान सञ्चालन गर्नेगरेको छ । सुकेटार विमानस्थल दुई हजार ४०० मिटरको उचाइमा रहेकाले हुस्सुसहित मौसम प्रतिकुल भएमा उडान प्रभावित हुनेगरेको छ ।