• २४ असार २०८१, सोमबार

डोजरे विकासले पहाडको पानीको मूल सुकायो

blog

गोकर्ण दयाल 

बैतडी, वैशाख २ गते । पहाडको चिसो बताससँगै बग्ने निर्मल पानी सम्झेर तराई झर्नेदेखि रोजगारीका लागि परदेश जाने सबैले अञ्जुलीमा पहाडको चिसो पानी पिउने कुराको वर्णन गरेर गाईएको गीतको स्मरण सबैले गर्नुहुन्छ । गीतमा वर्णन गरेजस्तै पहाडका कन्दराबाट दूधजस्तै बग्ने पानीका मुल सुक्न थालेका छन् । डाडाँमाथि जथाभावी डोजरले सडक खन्दा वस्तीमा खानेपानीको हाहाकार हुन थालेको छ ।  

पर्यावरणीय अध्ययन नगरी अन्दाधुन्ध डोजरले बाटो निर्माण गर्दा दूधजस्तै कञ्चन बग्ने बैतडीका १० वटा पानीका मुहान सुकेका छन् । डोजरले डाँडाकाँडा चिर्दा थुप्रिएको माटोले बैतडीका विभिन्न स्थानीय तहमा रहेका खानेपानीका मुहान समेत पुरिएका छन् । 

बैतडीमा नेताका डोजरले जथाभावी सडक निर्माण गर्दा पानीका मुहान सङ्कटमा परेको नागरिक समाज बैतडीका गणेश ठकुराठीले बताउनुभयो । “चुनाव जितेपछि नेताले आफ्नै डोजर किनेका छन्”, ठकुराठीले भन्नुभयो, “पर्यावरणीय अध्ययन नगरी सडक निर्माण गर्दा पानीका मुहान सुक्न थालेका छन् ।”

 पानीका मुहान सुकेपछि डिभिजन खानेपानी कार्यालय बैतडीले बैतडीका विभिन्न स्थानीय तहमा खोलाबाट १३ वटा लिफ््ट प्रविधिका खानेपानी योजना निर्माण गरिरहेको जानकारी दिएको छ । 

लिफ्ट प्रविधिबाट अहिले बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौं, पाटन नगरपालिकाको गैराखान, मेलौली नगरपालिकाको मेलौली, सिगास गाउँपालिका–३, को लगन र दोगडाकेदार गरी १३ वटा लिफ्ट प्रविधिका खानोनी योजना निर्माण भइरहेको खानेपानी तथा सररफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीले बताउनुभयो ।      

डोजरकै कारणले दशरथ चन्द नगरपालिका –२, देहिमाण्डौंमा खानेपानीका मुहान सुकेका छन् । माटोले पुरिएको खोलाको मुहान देखााउँदै स्थानीय पूर्णबहादुर बोहराले भन्नुभयो– “दुई तीन वर्षअघि कलकल बग्ने भट्टाड खोलाको पानी  अहिले सुकेको छ । माछा भेटिने यो खोला अहिले सुख्खा बगरमा परिणत भएको छ । खोलामा भर्खरै निर्माण भएका सडकको रातोमाटो जम्मा भएको छ ।”

जथाभावी डोजर चलाएर सडक खन्दा जमिन हल्लिएको र सडकको माटोले खोलाहरु पुरिएको स्थानीयको भनाई छ । गाउँमा खानेपानीको हाहाकार भएपछि खोलाबाट लिफ््ट गरेर पानी तान्ने योजना निर्माण गर्नुपरेको देहिमाण्डौंवासीले बताएका छन् । 

जथाभावी डोजर चल्दा मेलौली नगरपालिकामा पनि आसपासका खानेपानीमा मुहान सुकेका छन् । पछिल्लो समय पानीका मुहान सुकेपछि पानीको चर्को समस्या झेल्नुपरेको स्थानीयवासीले पीडा सुनाएका छन् । पानीको हाहाकार भएपछि बजारबाट निकै टाढाको जंगलबाट घोडामा पानी बोकेर होटल सञ्चालन गर्नु परिरहेको मेलौली नगरपालिकास्थित बिजु होटलका सञ्चालक विजयसिंह नायकले पीडा सुनाउनुभयो । 

मेलौली नगरपालिका र बजार क्षेत्रमा पानी आपूर्ति गर्न सुर्नया नदी किनारबाट पानी तान्न तीन करोडको साना सहरी खानेपानी योजना निर्माण हुन लागेको डिभिजन खानेपानी कार्यालय बैतडीले जनाएको छ । 

डोजरका कारण बैतडीका दुई महत्वपूर्ण संरक्षित वनका रुपमा रहेका सिगास संरक्षित वन र ग्वाल्लेक संरक्षित वन मासिन थालेपछि पानीका मुहान संकटमा परेका छन् । 

बैतडी सदरमुकामका लागि खानेपानीको आपूर्ति हुँदैआएको ग्वाल्लेक संरक्षित वनबाट आउने पानी घटेको साना सहरी खानेपानीका अध्यक्ष धर्मानन्द पाण्डेयले बताउनुभयो ।  ग्वाल्लेक संरक्षित वनमा दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाले दुबैतिरबाट डोजर चलाएर सडक खन्न थालेपछि ग्वाल्लेक संरक्षित वन संकटमा परेको छ ।