• २३ असार २०८१, आइतबार

आदिबासी समुदायले मनाउँदै छन् सिरुवा पर्व

blog

बिष्णुप्रसाद पोखरेल

दमक, वैशाख २ गते । झापाका बिभिन्न आदिबासी समुदायले यो बर्ष हर्ष उल्लासका साथ सिरुवा पर्व मनाइरहेका छन् । कोरोना संक्रमणको महामारीले दुई बर्षसम्म खुलेर सिरुवा पर्व मनाउन नपाएका आदिबासी समुदायले यो बर्ष सिरुवा पर्व भब्यताकासाथ मनाएका हुन् । 

राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायतका समुदायले बैशाख १ गते विहिबार पानी एक अर्कालाई छ्यापेर र दोश्रो दिन शुक्रबार हिलो (काद) दलादल गरेर अन्तिम अर्थात शनिवार रंग दलेर यो पर्व मनाउँदै छ्न । कतिपय ग्रामथानहरुमा सामुहिक कुलपुजासहितको धार्मिक मेला समेत लाग्दैआएको छ ।

एकापसमा भातृत्व र बन्धुत्वको सम्बन्धलाई अझ प्रगाढ बनाउन शुभकामना आदानप्रदान गर्दै जिल्लाका विभिन्न स्थानमा सामूहिकरूपमा ग्रामथानमा भेला भएर यो पर्व मनाउने कार्य भइरहेको आदिबासी नेता नित्यानन्द ताजपुरीयाले बताउनुभयो । उहाँकाअनुसार आ–आफ्ना घरमा घाटोसरी थान बनाएर पूजा गर्ने, ग्रामथानमा गएर कूलदेवताको पूजापाठ गर्ने कार्य पनि भइरहेको छ । 

उहाँकाअनुसार कमल गाउँपालिका ६ को ग्रामथानमा सदियौकालदेखि परम्परागत रुपमा हुँदैआएको कुलपुजासहितको धार्मिक मेला पनि यो बर्ष भब्य रुपमा सकिएको छ । विहीबार लागेको मेलामा १० हजारभन्दा बढीको सहभागिता रहेको जानकारी दिनुभयो ।

विवाह गरेर गएका छोरी–चेली बोलाएर, देश–विदेशमा रहेका आफन्त एकै स्थानमा भेला भएर मीठा परिकार बनाएर खाँदै दुःख, सुख साटेर हर्षोल्लासका साथ यो पर्व मनाइने गरेको गौरीगन्जकी आदिबासी अगुवा महिला फुलवती राजवंशीले बताउनुभयो ।