• १२ साउन २०८१, शनिबार

‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा : नेपालको रक्तसञ्चार सेवा’

blog

तस्बिर : रासस

काठमाडौँ, साउन १२ गते । नेपालमा रक्तसञ्चार सेवा प्रारम्भ भएको ५८ वर्ष पूरा भएको छ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन वर्षपछि अर्थात् २०२३ साउन १२ गते नेपाल रेडक्रस रक्तसञ्चार सेवा केन्द्रको सञ्चालन प्रारम्भ भएको हो ।

प्रारम्भमा वीर अस्पतालको हातामा लक्ष्मी ब्लड बैंकको रुपमा पहिलो रगत बैंक सञ्चालनमा ल्याइएको थियो । नेपालमै पहिलो रगत बैंकको रुपमा स्थापित यस केन्द्रले एक वर्षको अवधिमा जम्मा १५७ युनिट मात्र रगत सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०८०/८१ मा रेडक्रसले दुई लाख ९४ हजार चार सय ७७ युनिट रगत सङ्कलन र चार लाख छ हजार दुई सय ७१ युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराएको थियो ।

सुरुआती दिनमा रगतको किनबेच गर्ने पेसेवर व्यक्तिबाट समेत रगत सङ्कलन गर्ने गरिएकामा २०३९÷४० देखि त्यस्ता व्यक्तिबाट रगत नलिई स्वयंसेवी रगतदाताको सङ्ख्यामा वृद्धि गरी रगत सङ्कलन गर्न थालिएको थियो । वि.सं.२०४८ चैत २४ मा तत्कालीन सरकारले रेडक्रसलाई नै नेपालभर रक्तसञ्चार सेवा सञ्चालनको एकल अधिकार दिएको थियो । २०५० सालमा सरकारबाट रक्तसञ्चार सेवाको राष्ट्रिय नीति स्वीकृत भई लागू भएको थियो ।

नेपाल रेडक्रसले काठमाडौँमा केन्द्रीय रक्तसञ्चार सेवाका साथै विराटनगर, भरतपुर, पोखरा, नेपालगञ्ज र धनगढी गरी पाँच स्थानमा प्रदेशस्तरीय रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएको छ । २४ जिल्लामा जिल्लास्तरीय र विभिन्न जिल्लाका ४१ स्थानबाट आकस्मिक रक्तसञ्चार सेवा प्रदान हुँदै आएको छ । रक्तसञ्चार सेवाको ५९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले नेपाल रेडक्रसले मानवीय सेवामा पुर्याएको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल रेक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले आर्थिक वर्ष २०८०/८१ मा रेडक्रसले दुई लाख ९४ हजार चार सय ७७ युनिट रगत सङ्कलन र चार लाख छ हजार दुई सय ७१ युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रले वि.सं.२०७२ वैशाख १२ को विनाशकारी भूकम्प पश्चात पनि रक्तदानको कार्यक्रम निरन्तर जारी राखेको र कोभिड महामारीका समयमा पनि केन्द्रले आफ्नो सेवा जारी राख्न सफल भएको थियो ।” कार्यकारी निर्देशक ढकाललले अगामी दिनमा रक्त सेवालाई थप चुस्त बनाइने जानकारी दिनुभयो । 

नेपाल रेडक्रसका अध्यक्ष प्रा.डा.सुदर्शनप्रसाद नेपालले ‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा : नेपालको रक्तसञ्चार सेवा’को मूल भावनालाई कार्यान्वयनमा लैजान र नेपाल सरकारले संस्थालाई दिएको जिम्मेवारी पूरा गर्न नेपाल रेडक्रस प्रतिबद्ध रहेको बताउनुभयो । रासस