काठमाडौँ, जेठ २७ गते । चालु आर्थिक वर्षको दस महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह भएको छ ।
नेपाल राष्ट्र बैँकले चालु आर्थिक वर्षको दस महिनाको तथ्याङ्कमा आधारित भएर मङ्गलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक प्रतिवेदनअनुसार गत वैशाख मसान्तसम्म उक्त रकम स्वदेश भित्रिएको हो । वैशाख महिनामा मात्र एक खर्ब ६५ अर्ब ३० करोड भित्रिएको थियो ।
गत वैशाख मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि चार लाख पाँच हजार ६१० जनाले अन्तिम स्वीकृति र दुई लाख ८० हजार ३१४ ले पुनः श्रम स्वीकृति लिएका छन् ।
प्रतिवेदनअनुसार वैशाख मसान्तसम्ममा मुलुकको चालु खाता दुई खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ९३ अर्ब ३१ करोडले बचतमा थियो ।
वैशाख मसान्तसम्ममा खुद पुँजीगत ट्रान्सफर आठ अर्ब ४८ करोड रहेको छ भने १० अर्ब ६० करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । समीक्षा अवधिमा शोधनान्तर बचत चार खर्ब ३८ अर्ब ५२ करोड रहेको छ । विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ ।
समीक्षा अवधिको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव चार महिनाको वस्तु आयात र १४ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैँकले जनाएको छ । रासस