• ४ माघ २०८२, आइतबार

समानुपातिकतर्फको बन्दसूची भोलिसम्म

blog

काठमाडौँ, पुस १३ गते । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पुस १३ (आज) र १४ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि उम्मेदवारको बन्दसूची पेस गर्दै छन् । आयोगको निर्वाचन कार्यक्रमबमोजिम दलले उम्मेदवारको बन्दसूची पेस गर्न लागेका हुन् । 

समानुपातिक निर्वाचन प्रणालीतर्फको सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले पुस १३ गते आइतबार र १४ गते सोमबार कार्यालय समयभित्र बन्दसूची पेस गर्ने दलले न्यूनतम ११ र अधिकतम ११० जनाको नाम पेस गर्नुपर्ने जानकारी दिनुभयो । दलले उम्मेदवारको बन्दसूचीमा समावेशी समूहको प्रतिशत मिलाएर पेस गर्नुपर्ने छ । 

११ जना उम्मेदवारको मनोनयनको सूची पेस गर्ने दलले तीन/तीन जना आदिवासी जनजाति र खस आर्य, एक/एक जना थारू, मुस्लिम र दलित तथा दुई जना मधेशी समूहबाट नाम राख्नुपर्ने छ । जसमा आठ जना महिला उम्मेदवार हुनुपर्ने छ । जनगणना २०७८ को प्रतिवेदनबमोजिम सरकारले समावेशी समूहको प्रतिशत पुनरवलोकन गरेपछि आयोगले सोही आधारमा समावेशी प्रतिनिधित्वको सङ्ख्यामा हेरफेर गरेको छ । 

त्यसै गरी ११० जना उम्मेदवारको मनोनयन पेस गर्ने दलले ३२ जना आदिवासी जनजाति, ३३ जना खस आर्य, सात जना थारू, १३ जना दलित र १६ जना मधेशी समुदायबाट नाम पेस गर्नुपर्ने छ । जसमा महिला उम्मेदवार ५२ जना हुनुपर्ने छ । चार जना पिछडिएको क्षेत्रको प्रतिनिधित्व गरेको हुुनुपर्ने छ । 

निर्वाचन अधिकृत भट्टराईले उम्मेदवारको बन्दसूची पेस गर्दा केन्द्रीय समितिको निर्णय, मतदाता नामावलीमा नाम भएको निस्सा, उम्मेदवारको स्वघोषणासहितको मञ्जुरीनामा, नागरिकता, बन्दसूचीको सफ्ट र हार्डकापी, समानुपातिकतर्फको निर्वाचन प्रयोजनका लागि तोकिएका केन्द्रीय समितिका पदाधिकारीबाट बन्दसूची प्रमाणित भएको हुनुपर्ने जानकारी दिनुभयो । समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल ९३ वटा निर्वाचन चिह्नका लागि एक सय वटा दलले दल दर्ता गराएका छन् । समानुपातिकतर्फ भाग लिन दल दर्ता गराएका दलले मात्रै उम्मेदवारको मनोनयन सूची पेस गर्न पाउने छन् । 

यसरी पेस भएको सूचीउपर आयोगले छानबिन गरी आवश्यकता अनुसार सच्याउन दललाई सूचित गर्ने छ । आयोगले पुस १५ देखि पुस २० गतेसम्म सो अवधि तोकेको छ । पुस २१ देखि २७ गतेसम्म दलहरूले उम्मेदवारको बन्दसूची संशोधन गरी पेस गर्ने तथा पुस २८ गते बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा सोसम्बन्धी निवेदन दिन पाउने छन् । दाबी विरोध हुँदै निर्वाचन आयोगले माघ २० गते बन्दसूचीमा पेस भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने छ । फागुन २१ गते प्रत्यक्ष र समानुपातिक गरी दुवै प्रणालीतर्फको मतदान हुने छ । 

मतदाता नामावली सार्वजनिक 

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन पाउने मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । प्रकाशित नामावलीबमोजिम एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता मतदान गर्न योग्य छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ९६ लाख ६३ हजार ३५८ पुरुष र ९२ लाख ४० हजार १३१ महिला तथा २०० अन्य मतदाता छन् । २०७९ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए । यसरी गएको तीन वर्षमा नौ लाख १५ हजार ११९ जना मतदाता थपिएका छन् । 

आचारसंहिता स्वीकृत

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन आचारसंहिता स्वीकृत गरेको छ । आयोग पदाधिकारीको पुस १२ गते शनिबारको बैठकले निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले निर्वाचन आचारसंहिता तयार गरेको हो । आयोग पदाधिकारीको बैठकले स्वीकृत आचारसंहिता लागु हुने मिति तोकेपछि आचारसंहिता लागु हुने छ । विगतमा मतदान हुनुभन्दा करिब ४५ देखि ५० दिन बाँकी हुँदा निर्वाचन आचारसंहिता लागु हुँदै आएको हो । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विगतको अभ्यासबमोजिम नै स्वीकृत आचारसंहिता मतदान हुनभन्दा ४५/५० दिन अघिदेखि लागु हुने बताउनुभयो । 

नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी, नेपाल सरकार, प्रदेश सरकारका निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्तिलगायतलाई स्वीकृत आचारसंहिता लागु हुने छ । 

त्यसै गरी सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई आचारसंहिता लागु हुने छ । 

आचारसंहिताले स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने, जुलुस, आमसभा वा भेला गर्नुअघि प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा २४ घण्टाअगावै जानकारी गराउनुपर्ने, निर्वाचन प्रयोजनका लागि ७५ ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्मको क्षेत्रफल भएको आकारको एउटै रङ र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । 

अनलाइन वेब पेज, टिभी स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैङ्कका एटिएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारको बारेमा कुनै प्रचारप्रसार गर्न गराउन नहुने आचारसंहितामा उल्लेख छ । 

७५ स्थल र ८८५ केन्द्र थपिए

आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा गत निर्वाचनको भन्दा ७५ मतदान स्थल र ८८५ मतदान केन्द्र थपिएका छन् । कुल मतदान स्थल १० हजार ९६७ र २३ हजार ११२ मतदान केन्द्र कायम भएका छन् ।