काठमाडौँ, वैशाख १९ गते । रोल्पाको थवाङमा भएको जिप दुर्घटनाको सत्यतथ्य छानबिन गर्न गठित समितिको समयावधि आज सकिएको छ । २०८३ वैशाख १७ गते रोल्पाको थवाङ गाउँपालिका–१ मा २० जनाको ज्यान जाने गरी भएको हृदयविदारक दुर्घटनापछि सरकारले सूक्ष्म छानबिनका लागि सो समिति गठन गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै समितिको प्रतिवेदन प्राप्त हुनासाथ त्यसका निष्कर्ष र सुझावलाई तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।
विज्ञप्तिमा उल्लेख भए अनुसार, दुर्घटना लगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको सक्रियतामा उद्धार कार्यलाई तीव्रता दिइएको थियो । घटनाको सूक्ष्म छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीको नेतृत्वमा रहेको गृह मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी उपरीक्षकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
सडक दुर्घटना नागरिकको जीवन र परिवारको भविष्यसँग जोडिएको गम्भीर विषय भएको ठहर गर्दै सरकारले यसमा देखिने प्राविधिक तथा मानवीय कमजोरी सुधार्न दृढता व्यक्त गरेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार, देशभरकै सडक सुरक्षा प्रणालीमा आवश्यक नीतिगत र संरचनागत सुधार गर्न सरकार पूर्ण रूपले प्रतिबद्ध रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस दुःखद घडीमा मृतकप्रति पुनः हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी सडक सुरक्षा सुनिश्चित गर्ने सरकारको प्राथमिकता रहेको उल्लेख छ ।