बर्खायाम सुरु नहुँदै परेको पानीले नसोचेको क्षति पुर्यायो । वैशाख २१ गतेको वर्षाले देशका राजमार्गमा अवरोध गर्यो । वर्षाले नारायणगढ–बुटवल सडकखण्ड, सूर्यविनायक–धुलिखेल सडकखण्ड र पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्देलगायतका सडकखण्ड अवरुद्ध भएका थिए । त्यो दिनको वर्षाले कान्ति लोकपथसमेत केही समय रोकिएको थियो । त्यसै गरी वैशाख २९ गतेको वर्षाले काभ्रेको पनौतीमा एक जना महिलालाई बगाएर बेपत्ता बनायो । मौसम पूर्वानुमान महाशाखाका अनुसार वैशाख २९ गते काभे्रपलाञ्चोक, गुल्मी, स्याङ्जालगायतका केही क्षेत्रमा भारी वर्षा भएको थियो । गुल्मीमा ५६.४ मिलिमिटर, स्याङ्जामा ५३ मिलिमिटर र काभ्रेमा छ घण्टामै ३९.६ मिलिमिटर वर्षा भएको थियो ।
एक्कासि भएको ठुलो वर्षाले काभ्रेमा जनधनको क्षति हुन पुग्यो । गत वर्ष रोसी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्गको डाइभर्सन बगाउँदा १८ घण्टाभन्दा धेरै समय सडक अवरुद्ध हुन पुग्यो । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका हजारौँ यात्री मारमा परे । वर्षा सुरु नहुँदै सडकको दुरवस्थाले यस वर्ष पनि दसैँमा घर जानेबेला के हुने हो भन्नेतर्फ राजमार्ग प्रयोग गर्नेहरूमा चिन्ता बढ्न थालेको छ । प्री मनसुनका बेला भएको मानवीय तथा भौतिक क्षति आजको समयमा अपत्यारिलो र लाजमर्दो विषय हो । प्राकृतिक प्रकोप रोक्न त सकिँदैन तर यसबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न भने पक्कै सकिन्छ । सम्भावित क्षति रोक्न ऋतु अनुसारको तयारी र व्यवस्थापन चुस्त दुरुस्त राख्नु पर्छ । सडक तथा अन्य भौतिक पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती र लापर्बाही नियन्त्रण गर्नु पर्छ ।
नेपालमा जुन महिनाको १० देखि १५ को आसपास बङ्गालको खाडीमा विकास हुने मनसुन पूर्वी क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने बताइन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिना रहने मनसुनमा नेपालमा वार्षिक वर्षाको ८० प्रतिशत वर्षा यसै अवधिमा हुने मौसमविद्को भनाइ छ । जलवायु परिवर्तनको असर मनसुनमा पनि देखिएको छ । अधिक वर्षा र खण्डवृष्टि यसका उदाहरण हुन् । पृथ्वीको तापक्रम बढ्दै जानु, विभिन्न प्रजातिका जीवजन्तु तथा वृक्ष लोप हुँदै जानु, विभिन्न रोगका प्रकोप फैलनु पनि जलवायु परिवर्तनको परिणाम हो, भनिएको छ ।
मनसुनले मानव, जीवजन्तु, कृषि, वातावरणलगायत समग्र पर्यावरणमा महत्वपूर्ण भूमिका खेल्छ । नेपालमा भौगोलिक अवस्थाले गर्दा मनसुनसँगै आउने बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिको उच्च जोखिम रहेको छ । जसका कारण हरेक वर्ष नेपालमा मनसुनको समयमा ठुलो जनधनको क्षति हुने गर्छ ।
गत वर्षको मनसुनमा देशभरि ठुलो मात्रामा मानवीय तथा भौतिक क्षति भयो । असोज दोस्रो साता परेको अविरल वर्षाले देशको राजमार्गमा ठुलै क्षति पु¥यायो । काठमाडौँ उपत्यकाका नदी किनार आसपासका बस्ती डुबानमा परे । जापान सरकारको सहयोगमा बनेको बिपी राजमार्गको करिब १२ किलोमिटर सडक बगाउँदा देशलाई ठुलो क्षति भयो । खुर्कोटमा सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीको पक्की पुल बगाउँदा दुई जिल्लाबिचको आवतजावत केही हप्ता अवरुद्ध भयो । दसैँको मुखमा राजमार्गमा समस्या हुँदा हजारौँ यात्रु वैकल्पिक मार्गमार्फत कष्टपूर्ण यात्रा गर्न बाध्य भए । यता मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको भरिएको ड्याम खोल्दा कुलेखानी खोलामा आएको बाढीले सिस्नेरी बजारमा ठुलो क्षति पुर्यायो । बाढीले कुलेखानी सिस्नेरी सडकखण्डको केही भाग बगाउनुका साथै उक्त क्षेत्रमा प्रशिक्षणमा रहेका केही होनाहार युवा खेलाडीसमेत गुमाउनु पर्यो ।
विपत् व्यवस्थापन
नेपाल प्राकृतिक तथा भूबनोटका हिसाबले विभिन्न प्रकारका विपत्को उच्च जोखिममा रहेको देश हो । यहाँ भूकम्प, बाढीपहिरो, आगलागी, खडेरी, महामारी जस्ता प्राकृतिक विपत् आइपर्ने गरेका छन् । यस्ता विपत्मा जनधनको ठुलो क्षति हुनुका साथै सामाजिक, आर्थिक र वातावरणीय क्षेत्रमा समेत नकारात्मक असर पर्ने गरेको छ । विपत् व्यवस्थापन भन्नाले कुनै पनि विपत् आउनुअघि त्यसबाट हुने सम्भावित क्षति कम गर्न गरिने तयारी, विपत् आइसकेपछि गरिने उद्धार तथा राहत र पुनर्निर्माणसम्मको कार्यलाई बुझिन्छ । यसमा विपत्को जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र पुनस्र्थापना जस्ता कुरा पर्छन् । विपत्बाट हुने सम्भावित जोखिमलाई कम गर्न विभिन्न उपाय अवलम्बन गरिन्छ । जोखिम पहिचान गर्ने, जनचेतना अभिवृद्धि गर्ने, भूउपयोग योजना बनाउने, पूर्वाधार विकासमा ध्यान दिनु पर्छ । जलवायु परिवर्तन अनुकूलन कार्यका लागि प्रोत्साहन गर्न सकिन्छ । कमजोर भूबनोट भएका क्षेत्रमा बस्ती विकासलाई निरुत्साहित गर्ने, भूकम्पप्रतिरोधी संरचना निर्माणलाई जनचेतना अभिवृद्धि गर्न सकिन्छ । बाढीको जोखिम भएका क्षेत्रमा तटबन्ध निर्माण गरी जोखिम न्यूनीकरण गर्न सकिन्छ ।
पूर्वतयारी
विपत्अघि त्यसको सामना गर्न गरिने तयारी नै विपत्को पूर्वतयारी हो । विभिन्न विपत्सम्बन्धी पूर्वसूचना प्रणालीको विकास गर्न सकिन्छ । उद्धार तथा राहत सामग्रीको व्यवस्थापन, स्वयंसेवकको तालिम, सुरक्षित स्थानको पहिचान र विपत् व्यवस्थापन योजना निर्माण जस्ता कार्य पर्छन् । प्रभावकारी पूर्वतयारीले विपत्को समयमा हुने क्षतिलाई धेरै हदसम्म कम गर्न मद्दत गर्छ । प्राकृतिक विपत्को क्षेत्रमा क्रियाशील सरकारी निकाय तथा गैरसरकारी संस्थालाई थप सशक्त बनाउँदै जनताप्रति उत्तरदायी बनाउनु पर्छ । विपत्पछि तत्कालै गरिने उद्धार, राहत र प्राथमिक उपचारका कार्य प्रतिकार्य अन्तर्गत पर्छन् । यस समयमा खोज तथा उद्धार टोलीको परिचालन, घाइतेको उपचार, खाद्यान्न, पानी, औषधी, आश्रयको व्यवस्थापन जस्ता कार्य प्राथमिकतामा पर्छन् । यस चरणमा छिटो एवं प्रभावकारी ढङ्गले मानवीय क्षति कम गर्न र थप क्षति हुनबाट जोगाउन मद्दत गर्छ ।
पुनर्निर्माण तथा पुनस्र्थापना
विपत्पश्चात् प्रभावित भौतिक संरचना तथा समुदायलाई पुरानै अवस्थामा फर्काउने कार्य पुनर्निर्माण तथा पुनस्र्थापना हो । क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, जीविकोपार्जनका अवसरको सिर्जना, सामाजिक तथा मनोवैज्ञानिक सहयोग प्रदान गर्ने जस्ता कार्य यस अन्तर्गत पर्छन् । जसले समुदायलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।
नेपालमा प्राकृतिक विपत् व्यवस्थापनका लागि धेरै प्रयास भए पनि थुप्रै चुनौती विद्यमान छन् । भौगोलिक विकटता, कमजोर पूर्वाधार, आर्थिक समस्या, समन्वयको अभावलगायत पर्याप्त स्रोतसाधनको कमी जस्ता कारणले विपत् व्यवस्थापनलाई थप जटिल बनाएको छ । यस्ता चुनौतीको सामना गर्न र विपत् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सरकार, गैरसरकारी संस्था, समुदाय र सरोकारवाला सबै पक्ष एक भई सहकार्य गर्नुको विकल्प छैन । विपत् जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता देखिन्छ । विपत् पूर्वतयारीलाई थप सुदृढ बनाउनु आवश्यक छ ।