टोपलाल अर्याल
रेसुङ्गा, जेठ २७ गते । मालिका गाउँपालिकाका दुई विद्यालय बन्द भए पछि यहाँ अध्ययनरत बालबालिकाहरू बिचल्लीमा परेका छन् । मालिका गाउँपालिकाले अस्थायी कर्मचारी हटाउने निर्णय गरेका कारण यहाँका मालिका गाउँपालिका–२ दर्लिङ्गको शान्त समाज बाल विकास केन्द्र र वडा न ७ घमिरको बाँस खोला बाल विकास केन्द्र बन्द भएका हुन् ।
शान्त समाज बाल विकास केन्द्रमा कार्यरत शिक्षिका कल्पना घर्तीका अनुसार जेठ २२ गतेबाट विद्यालय बन्द छ । विद्यालयमा हाजिर नहुन गाउँपालिकाबाट जेठ २१ गते पत्र आएपछि सोही दिन विद्यार्थीलाई गृहकार्य दिएपछि सामाजिक सञ्जाल मार्फत सूचना लेखेर विद्यालय नगएको शिक्षिका घर्तीले बताउनु भयो ।
केन्द्रमा यो शैक्षिक सत्रमा ११ जना विद्यार्थी रहेका थिए । दैनिक अभिभावकले विद्यार्थी बोकेर आउँछन् । नेटा दर्लिङ्ग मावि र ह्वाङदी कतै बालबालिका पठाउने अवस्था नभएकाले आफूहरूले दुःख पाएको स्थानीय अभिभाव कमला विश्वकर्माले गुनासो गर्नुभयो । आफूहरू दैनिक आधा–पौने घण्टा हिँडेर बच्चा विद्यालयमा ल्याउँदै फर्किँदै गर्दा सास्ती भएको बताउनुभयो । शान्त समाज बाल विकास केन्द्र व्यवस्थापन समिति सदस्य दान बहादुर घर्तीले गाउँपालिकाले कलिला बालबालिकाको भविष्य माथि कुठाराघात गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“विद्यालय एक दिन पनि रोकिनु गलत भयो । विकट भनेर बालबालिका र अभिभावक माथि अन्याय गर्न पाइँदैन ।”
त्यस्तै मालिका गाउँपालिका–७ को बाँस खोला बालबालिका केन्द्र पनि तीन दिन देखी बन्द रहेको छ । केन्द्रमा कार्यरत शिक्षिका राधिका खड्काले पालिकाको निर्देशन अनुसार व्यवस्थापन समितिको बैठक राखेर जेठ २४ गतेबाट जागिर छोड्नुभयो । तिन दिन देखी बालबालिका शिक्षाको अधिकारबाट वञ्चित भएका छन् । नजिक विद्यालय छैनन् । बालबालिकालाई टाढा पुराउन नसकिने भएकाले अन्यौलतामै तिन दिन विद्यालय बन्द भएको बाँस खोला बाल विकास केन्द्र ब्याबस्थापन समिति अध्यक्ष टेक बहादुर परियारले गुनासो गर्नुभयो ।