• २९ जेठ २०८२, बिहिबार

सामूहिक हत्याको कारक जटिल मनोरोग

blog

लीलाराज गिरीले छोरी र भतिजको हत्या गरी आफूले पनि आत्महत्या प्रयास गरेको चितवन भरतपुरको शुक्रनगरमा रहेको घर ।

वसन्त पराजुली 

नारायणगढ, जेठ २८ गते । यही जेठ २ गते बिहानै लीलाराज गिरीले विद्यालय जाने तयारी गरिरहेकी सात वर्षीय छोरी प्रभा गिरी र पाँच वर्षीय भतिजो साजन गिरीको खुर्पा प्रयोग गरेर हत्या गरे । भरतपुर महानगरपालिका–२५ निवासी लीलाराजले प्रभा र साजनको हत्या मात्रै गरेनन्, आफूले पनि घाँटी रेटेरै आत्महत्या गर्ने प्रयास गरे तर संयोगले उनी बाँचे अहिले उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । 

यस्तै बुटवल उपमहानगरपालिका–११, होराइजन चोकस्थित मिलीजुली पथमा एक महिला र उनका दुई छोरीको हत्या भयो । जेठ १४ गते स्थानीय ३१ वर्षीय दीपा बस्याल, छोरी सात वर्षीय स्नेहा बस्याल र चार वर्षीय नानी बस्यालको हत्या भयो । उनीहरूको हत्या अभियोगमा प्रहरीले स्थानीय सुजन कोइरालालाई पक्राउ गरेको छ । हत्या भएकी दीपा सुजनकी पूर्वपत्नी र छोरीहरू भएको बताइन्छ । उनले घरेलु हतियार हम्बर र चक्कु प्रहार गरी हत्या गरेको स्थानीयवासीले बताएका छन् । अहिले प्रहरी अनुसन्धानका क्रममा रहेका सुजन यसअघि दाइको हत्या गरेको अभियोगमा जेल जीवन बिताई चार वर्षअघि छुटेका थिए । 

जेलबाट छुटेपछि उनले एकल जीवन बिताइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । माथिका दुई प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समय सामूहिक हत्या जस्ता डरलाग्दा घटना समाजमा बढेका छन् । अझै अरूको हत्या गरिसकेपछि आफूले समेत आत्महत्या गर्ने क्रम पनि देखिन्छ । प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार नेपालमा आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ को तीन वर्षमा ३२ वटा यही प्रकृतिका सामूहिक हत्याका मुद्दा दर्ता भएका छन् । जसमा आफन्तको हत्यापछि १९ जनाले आत्महत्या गरेका र १६ जनाले आत्महत्या प्रयास गरेको उल्लेख छ । 

यो अवधिमा हत्या हुने महिला र बालबालिका नै धेरै देखिन्छन् । प्रहरीको तथ्याङ्क अनुसार महिला २१ जना र बालबालिका १९ जना यस्ता घटनामा मारिएका छन् । सामूहिक हत्यामा पर्ने पुरुषको सङ्ख्या भने तीन जना छ । चितवन मेडिकल कलेज मनोरोग विभागका प्राध्यापक डा. शैलेन्द्रराज अधिकारी यसरी सामूहिक हत्या गर्ने सामान्य मानिस नभई जटिल खालका मनोरोगी भएको तर्क गर्नुहुन्छ । “सामूहिक हत्या गरी आफूले पनि आत्महत्या गर्ने जटिल खालका मानसिक रोगी हुन् । जुन अहिले समाजमा बढिरहेका छन्,” उहाँले भन्नुभयो ।

चितवन शुक्रनगर हत्या प्रकरणमा अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार लीलाराज लामो समयदेखि मानसिक रोगी भएको अनुसन्धानमा खुलेको छ । “यो घटनाको हामी अनुसन्धान गर्दै छौँ । यो मानिस लामो समयदेखि मानसिक रोगी भएको भन्ने चाहिँ खुल्न आएको छ,” उहाँले भन्नुभयो । 

लीलाराजका दाजु रामकृष्ण गिरी परिवारमा ज्यादै दुःखद घटना भएको बताउनुहुन्छ । परिवारले प्रहरीमा दिएको किटानी जाहेरीमा पनि यो हत्या लीलाराजले नै गरेकाले हदैसम्मको कारबाहीको माग गरिएको छ । नेपाली सेनाको जमदार पदमा कार्यरत रहेकै बेला मानसिक समस्या भएपछि लीलाराज केही वर्षअघि सेनाबाट निवृत्त भएका थिए । त्यसयता सैनिक अस्पतालको मानसिक विभागमा नियमित उपचार गराउँदै औषधी खाइरहेका थिए । मनोविद् खिमा रिजाल पनि गम्भीर खालका मानसिक रोगीले मात्रै यति ठुला हिंसा गर्न सक्ने बताउनुहुन्छ । 

“यस्तो खालको घटना जटिल मानसिक स्वास्थ समस्या भएका मानिसले मात्रै गर्न सक्छन् । हामी डिप्रेसन मात्रै भनेर बस्छौँ । डिप्रेसनले क्षति गर्ने आफूलाई मात्रै हो । अरूलाई क्षति गर्नु भनेको जटिल खालको मानसिक समस्या हो,” उहाँले भन्नुभयो ।मनोचिकित्सक प्राडा शैलेन्द्रराज अधिकारी नेपालमा विभिन्न अध्ययनले १० देखि १५ प्रतिशत नागरिक मनोरोगी भएका र मनोरोगीमध्ये पनि २० प्रतिशत जटिल खालका मनोरोगी रहेको बताउनुहुन्छ । 

“हाम्रो जस्तो (चितवन मेडिकल कलेज) एउटै अस्पतालमा त अहिले दैनिक सय जनाभन्दा बढी मनोरोगी उपचारका लागि आइरहेका छन् । अब भन्नुस् त यसको अवस्था कति डरलाग्दो छ,” उहाँले थप्नुभयो, “कुनै पनि मनोरोगीलाई होच्याइएको छ । उसलाई विभिन्न कलङ्क लगाइएको छ । औषधी छाडेको वा रक्सी गाँजा, लागुऔषध जस्ता कुलतमा फसेको छ भने ऊ आक्रामक खालको मनोरोगी हुन्छ । जसले अप्रिय घटना गराउन सक्छ ।”

छोरी र भतिजको हत्यापछि लीलाराजले पनि अस्पतालको बेडबाट लेखे, “म नेपाल आर्मीको जमदार लीलाराज गिरी हुँ । परिवारकै सदस्यले मलाई मानसिक तनाव दिइरहन्थे ।” प्राडा अधिकारी यस्ता बिरामीको नियमित उपचार र औषधी सेवन नै समस्या समाधानको बाटो भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मनोरोगका बारेमा समाजमा जनचेतना जगाउनु पर्छ । सरकारी तवरबाटै पुनस्र्थापना केन्द्र निर्माण गरेर मनोरोगीलाई उद्धार गरिराख्ने वातावरण बनाउन सकियो भने मात्रै पनि समाजमा हुने यस्ता डरलाग्दा अपराध कम हुँदै जाने छन् ।”