• ७ जेठ २०८१, सोमबार

सुदूरपश्चिममा विसु पर्वको रौनक, बटुक खाएर सिस्नु लगाउने चलन

blog

गोकर्ण दयाल 

बैतडी, वैशाख १ गते । बैतडीसहित सुदूरपश्चिममा विसु पर्वको रौनक सुरु भएको छ । नयाँ वर्षको पहिलो दिनलाई विसु पर्वका रुपमा मनाउँदै सेल, पुरी, बटुक र माँणा खाएर सिस्नु लगाउने चलन रहेको छ । 

विसु पर्व मनाउन रोजगारीका स्वदेश तथा विदेश गएकाहरु घर फर्केर आफन्तजनसँग भेटघाट गर्दै मीठो मसिनो खाएर सिस्नु लगाउँदै विसु पर्व मनाउँने परम्परा रहेको स्थानीय बुद्धिजिवीको भनाई छ । बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, अछाम, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने पहाडी समुदायमा विसु पर्व मनाउने चलन छ । 

सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा विसु पर्व मनाइने गरेको किवदन्ती रहेको छ । हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै विसु पर्व मनाउने गरिएको संस्कृतिविद चन्द्रमोहन तिवारीले बताउनुभयो । 

विसुका दिन बिहानै पवित्र कुवा तथा पँधेरामा गएर स्नान गरेर पूजाआजापछि मात्रै भोजनग्रहण गर्ने चलन रहेको तिवारीले बताउनुभयो । विसु पर्व मनाउन भारतबाट एक वर्षपछि घर फर्केको बझाङका रामसिंह बोहराले बताउनुभयो । विसुका दिन जसरी पनि घर फर्किनु पर्ने भएकाले आफूसँगै रोजगारीमा भारत गएकाहरु घर फर्केको बोहराले बताउनुभयो । 

विसु पर्व मनाउन भारतमा रोजगारीका लागि गएकाहरु दैनिक दुई सयभन्दा बढी सुदूरपश्चिमेली झुलाघाट नाकाबाट स्वदेश फर्किएको झुलाघाट प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक दानसिंह धामीले बताउनुभयो । 

चौकी ईन्चार्ज धामीले भन्नुभयो, “झुलाघाट नाकाबाट चैत महिनाभरी दुई हजार दुईसय १० जना नेपाली स्वदेश फर्किएका छन् । विसु पर्वकाबेला झुलाघाट नाकाबाट स्वदेश फर्किनेको भीड बढेको   छ । ”

विसुका दिन देवर–भाउजु, नन्द र भिनाजुलाई सिस्नो लगाएर रमाईलो गर्ने परम्परा छ । सिस्नोले छालाका विभिन्न रोग निको पार्ने जनविश्वास रहेको छ । विसु पर्वकै दिन कूलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) पकाई खाने चलन समेत रहेको छ ।