• २५ असोज २०८२, शनिबार

प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

blog

काठमाडौँ, असोज २४ गते । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । आज काउन्सिलका सदस्य बालकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बैठकले आचारसंहिता उल्लङ्घनका प्रवृत्ति, उजुरी र स्वअनुगमनलगायत सम्बन्धमा विभिन्न छ वटा निर्णय गरेको छ । 

कतिपय मिडियाबाट भ्रामक सूचनाहरू सम्प्रेषण भइरहेको गुनासा आइरहेको र काउन्सिलको अनुगमनबाट त्यस्तो देखिएको ठहर बैठकले गरेको छ । बदलिँदो परिस्थितिसँगै प्रतिनिधिसभा निर्वाचनको मिति तय भएको अवस्थामा थप जिम्मेवार भई आचारसंहिता पालनामा ध्यान दिन पत्रकार र सञ्चारमाध्यमलाई आह्वान गर्ने निर्णय काउन्सिलले गरेको छ ।

त्यसैगरी आचारसंहिता अनुगमनलाई थप चुस्तदुरुस्त बनाउन काउन्सिलका तीन सदस्यलाई  ‘फोकल पर्सन’ तोक्ने निर्णय गरेको छ । उजुरी तथा गुनासा सुन्ने व्यवस्था पनि गरेको छ । फोकल पर्सनमा टेलिभिजन, एफएम रेडियोतर्फ नकुल अर्याल, छापा माध्यमतर्फ पदमराज जोशी र अनलाइन सञ्चारमाध्यमतर्फ शन्तराम बिडारीलाई फोकल पर्सन तोकिएको छ ।

त्यसैगरी सातै प्रदेशमा आचारसंहिता, मिडिया अनुगमन तथा श्रमजीवी पत्रकार र मिडियाको अवस्था सम्बन्धमा अन्तरक्रिया गर्ने पनि बैठकले निर्णय गरेको छ । गत भदौ ५ देखि असोज ५ सम्म सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गर्ने काउन्सिलले निर्णय गरेको छ । जसका लागि सदस्य बालकृष्ण अधिकारीको संयोजकत्वमा विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरेको छ ।