रमेश विश्वकर्मा
गुल्मी, वैशाख १७ गते। गुल्मीमा दोस्रो राष्ट्रिय आर्थिक गणना अभियान तिव्र रूपमा सञ्चालन भएको छ।
अर्थतन्त्र मापनका लागि आर्थिक गणना भन्ने मूल नाराका साथ देशव्यापी रूपमा सञ्चालन भइरहेको राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत यस जिल्लामा बुधबारसम्म ३६ सय ४१ प्रतिष्ठानहरूको गणना सम्पन्न भइसकेको जिल्ला आर्थिक गणना अधिकारी गीता भण्डारीले जानकारी दिनुभयो।
गुल्मीका दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहमा गणक प्रत्येक आर्थिक क्रियाकलाप सञ्चालन हुने एकाइमा पुगेर तथ्याङ्क सङ्कलन गरिरहेको उहाँले बताउनुभयो।
जिल्ला आर्थिक गणना अधिकारी भण्डारीका अनुसार राष्ट्रिय आर्थिक गणना २०८२ का लागि यस जिल्लामा करिब १२ हजार प्रतिष्ठानको गणना गरिने लक्ष्य राखिएको छ।
आर्थिक गणना अभियान आगामी असार सात गतेसम्म सञ्चालन हुने छ। २०७५ सालको पहिलो आर्थिक गणनामा यहाँका ९५ सय ४८ प्रतिष्ठानको गणना गरिएको थियो।
सम्पूर्ण औपचारिक तथा अनौपचारिक व्यवसाय ,व्यापार, उद्योग कलकारखाना, सेवा प्रदायक संस्था, यातायात, शैक्षिक संस्था ,स्वास्थ्य संस्था, बैँक तथा वित्तीय संस्था, दर्ता भई सञ्चालनमा रहेका कृषि तथा पशुपक्षी फर्म लगायतका सम्पूर्ण प्रतिष्ठानबाट विवरण सङ्कलन भइरहेको छ।
गणनामा प्रतिष्ठानको दर्ताको अवस्था, संलग्न रोजगारी, प्रतिष्ठानको वैधानिक स्थिति, संस्थागत क्षेत्र, साङ्गठनिक अवस्था, सञ्चालन अवधि, भवन तथा जमिनको स्वामित्व, वार्षिक सञ्चालन खर्च, उत्पादन, लगानी सम्बन्धी विवरणका साथै प्रतिष्ठान तथा व्यवसायले भोगेका समस्यालगायतका विवरणहरू सङ्कलन गरिएको छ।
आर्थिक गतिविधि गतिशील प्रकृतिका हुने भएकाले समय परिस्थितिसँगै अर्थतन्त्रको संरचना र विशेषता बारे जानकारी हासिल गर्न विविध आर्थिक क्रियाकलाप सञ्चालन गर्ने आर्थिक प्रतिष्ठानबाट नियमित विवरण सङ्कलन गर्नु अपरिहार्य रहेको उहाँले बताउनुभयो।
गुणस्तरीय तथ्याङ्कको अभावमा सही आर्थिक नीति तथा कार्यक्रम तर्जुमा गर्न कठिन हुने हुँदा स्थानीय तहदेखि संघसम्मका विभिन्न आर्थिक नीति तथा कार्यक्रम तर्जुमा गर्न र मूल्याङ्कन गर्नका लागि समेत आर्थिक तथ्याङ्कको महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ।
यस जिल्लामा ३४ जना गणक र पाँच जना सर्वेक्षक वैशाख २ गतेदेखि स्थलगत तथ्याङ्क सङ्कलनका लागि फिल्डमा परिचालित हुनुहुन्छ।
जिल्ला आर्थिक गणना कार्यालयका व्यवस्थापन समूहका कर्मचारीहरू द्वारा प्रत्येक स्थानीय तहमा पुगी सम्पूर्ण गणकलाई भेटी स्थलगत तथ्याङ्क सङ्कलन कार्यको सुपरीवेक्षण गरी आवश्यक पृष्ठपोषण प्रदान गरिएको भण्डारीले बताउनुभयो।
राष्ट्रिय आर्थिक गणना कार्यलाई सहयोग र सहजीकरण गर्नका लागि स्थानीय तहमा स्थानीय आर्थिक गणना समन्वय समिति र वडा तहमा वडा सहजीकरण समिति गठन समेत गरिएको छ।