• २४ असोज २०८२, शुक्रबार

शान्तिपूर्ण र्‍याली गर्ने वातावरण बनाउन युवा सङ्घको माग

blog

पत्रकार सम्मेलनमा युवा संघ नेपालका नेताहरु ।

गोरखापत्र अनलाइन

काठमाडौँ, असोज २४ गते । नेकपा (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले आइतबार मोटरसाइकल र्‍याली आयोजना गर्न वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।  

शनिबार मोटरसाइकल र्‍याली आयोजना गर्ने भनिएको कार्यक्रम जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट स्वीकृति प्राप्त नभएपछि युवा सङ्घले शुक्रबार साँझ आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्दै सो आग्रह गरेको हो ।  

सङ्घका अध्यक्ष क्षितिज थेबेले पछिल्लो राजनीतिक परिस्थितीलाई गम्भीर एवम् जिम्मेवारीबोध भएको भन्नुहुँदै आम जनता त्रसित भएको र अन्यौलको वातावरण सिर्जना भएको बताउनुभयो । उहाँले जेनजी आन्दोलनलाई काँधमा राखेर गलत समूहले फाइदा उठाउन खोजेको धारणा राख्नुहुँदै परिवर्तनको पक्षमा रहेका नवयुवा (जेनजी) पुस्तालाई मार्गनिर्देश गर्न युवा सङ्घ सक्षम रहेको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, “लोकतन्त्रमा नागरिकको मौलिक हक हुन्छ । सरकार अधिनायकवाद र निरङ्कुशतर्फ अघि बढ्नु हुन्न । देश र नागरिकको सुरक्षाका लागि शान्ति स्थापना, नागरिकको रक्षाको लागि शान्तिपूर्ण र्‍याली गर्न दिन उहाँले माग राख्नुभयो । “हामी विधिको शासण मान्ने, कानुनी राज्य स्थापना गर्ने, मान्यता बोक्छौं । भोलिको बाइक र्‍याली रोकेको विषयमा ध्यानाकर्षण भएको छ । आइतबारका लागि वातावरण बनाउन माग गर्दछौं ।”

उहाँले मौनता र अनुशासनलाई कमजोरी नठान्न समेत आग्रह गर्नुभयो । आइतबार शान्तिपूर्ण मोटरसाइकल र्‍याली आयोजना गर्ने वातावरण बनाउन म सरकारसँग माग गर्दछु, उहाँले भन्नुभयो ।