• १२ साउन २०८१, शनिबार

नक्कली परीक्षार्थी पक्राउ

blog

राममणि दाहाल

हेटौँडा, साउन १२ गते। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी भक्तपुरद्वारा सञ्चालन भइरहेको डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति परीक्षामा परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यामिक विद्यालयको परीक्षा केन्द्रमा शनिबार बिहान सञ्चालन भएको डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो। 

छात्रवृत्तिका लागि आवेदन दिने परीक्षार्थीको सट्टामा नक्कली परीक्षार्थी परीक्षा केन्द्रमा परीक्षा दिइरहेको परीक्षा निरीक्षकले फेला पारी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएपछि नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पक्राउमा पर्नेमा बारा जिल्ला परवानीपुर नगरपालिका २ का वर्ष २० का नरेन्द्र महतोले रौतहट घर भएका वर्ष १९ का असाब आलमको ठाउँमा र भरतपुर महानगरपालिका ८ का वर्ष १५ का नाबालकले वर्ष १८ का निमेश राय यादवको ठाउँमा परीक्षा दिएका थिए। 

यस्तै सर्लाही जिल्ला विष्णु गाउँपालिका ७ का वर्ष १८ का राजीवकुमार राउतले सिराहा जिल्ला घर भएका वर्ष १८ का ललनकुमार यादवको ठाउँमा र रौतहट जिल्ला गरुडा नगरपालिका २ का वर्ष १८ का लालबाबु सहनीले सर्लाही जिल्लाका वर्ष १८ का सुनिल महतोको ठाउँमा परीक्षा दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।