रामकृष्ण बोहरा
बागलुङ, जेठ ४ गते । बागलुङमा जिल्ला स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गत माघ फागुनमा सम्पन्न भएको पालिका स्तरीय खेलपछि खेलकुद समिति पदाधिकारीविहीन हुँदा ढिला गरी जिल्ला स्तरीय खेल सुरु भएको हो ।
आइतबार गण्डकी प्रदेशसभाका सदस्य जितबहादुर शेरचनले प्रतियोगिताको शुभारम्भ गर्दै खेलकुदको विकासले बालबालिकालाई अनुशासित बनाउने भन्दै हरेक खेलले शारीरिक रूपमा स्वस्थ्य, आत्मनिर्भर र सुरक्षामा पनि साथ दिने बताउनुभयो । खेल क्षेत्रको विकासका लागि स्थानीय तह, प्रदेश र संघिय सरकारले पनि उचित बजेट व्यवस्थापन गर्नुपर्ने बताउँदै शेरचनले बाङेचौर खेलमैदानलाई रङ्गशाला बनाउन पहल गर्ने बचन दिनुभएको छ ।
सबै पालिकाले सानो सानो रकम सहयोग गरेपछि जिल्ला स्तरीय खेल सञ्चालन सहज भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कंडेलले बताउनुभयो ।
प्रतियोगितामा छात्र छात्राको भलिबल, एथलेटिक्स, कबड्डी र मार्सलआर्ट लगायतका खेल हुने छन् । दसवटै पालिकामा खेल सम्पन्न भएपनि यो प्रतियोगितामा भने बागलुङ, गलकोट, जैमिनी नगरपालिका, काठेखोला र बडिगाड गाउँपालिका गरी ५ टिम मात्रै सहभागी छन् । जिल्ला स्तरीय खेल जित्ने टिमले गण्डकी प्रदेश स्तरीय खेलमा सहभागी बन्न पाउने छन् ।
प्रतियोगिताको पहिलो दिन सम्पन्न छात्रतर्फको एक सय मिटर दौडमा बागलुङ नगरपालिकाका हरिरोका प्रथम, बडिगाड गाउँपालिकाका प्रेम थापा द्वितीय, गलकोट नगरपालिकाका आयुष कार्की तृतिय, छात्रातर्फ बडिगाडका सुप्रिया घर्ति प्रथम, जैमिनी नगरपालिकाका पूजा शर्मा द्वितिय र गलकोट ऋतु गन्धर्व तृतिय हुनुभएको छ ।
यस्तै, छात्र ४ सय मिटर दौडमा बागलुङ नगरका हिरा रोका, बडिगाडका अमित राना, गलकोटका अनुज परियार, छात्रातर्फ बागलुङका अन्जली पौडेल, बडिगाडकी प्रेमकला राना, जैमिनीकी रोजिना नेपाली क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको छ ।
छात्रतर्फको १५ सय मिटर दौडमा गलकोटका बिमल नेपाली, बागलुङका पर्वत बोगटी र बडिगाडका संजोग सापकोटा, छात्रातर्फ जैमिनीकी अस्मिता घर्ति, गलकोटकी कृपा बस्नेत र काठेखोलाकी अस्मिता थापा क्रमशः प्रथम, द्वितीय र तृतीय भएको जिल्ला खेलुकद विकास समितिका सचिव किशोर छन्तयालले जानकारी दिनुभयो ।