• ९ पुस २०८२, बुधबार

निर्वाचन नलड्ने धवलशमशेरको घोषणा

blog

बाँके समाचारदाता 

बाँके, पुस ९ गते । बाँकेको राजनीतिमा २०५१ सालदेखि नै सक्रिय अनि हरेक निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका विघटित प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणाले आसन्न निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गर्नुभएको छ । डा. राणाले २०५१ सालमा सेफ दी नेसनका तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गर्नुभएको थियो । २०५४ सालमा उहाँ नेकपा (एमाले) का तर्फबाट नेपालगन्ज नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो । 

विसं २०६४ मा पहिलो संविधान सभा निर्वाचनमा बाँके ३ बाट राप्रपाका तर्फबाट  संविधान सभा सदस्यको उम्मेदवार बनेका राणा २०७० सालको संविधान सभा निर्वाचनमा तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग झिनो मतान्तरले पराजित हुनुभएको थियो । त्यसबेला उहाँ राप्रपा नेपालको उम्मेदवारका रूपमा रहनुभएको थियो । 

विसं २०७४ सालमा नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा राप्रपाबाट विजयी राणा २०७९ को निर्वाचनमा बाँके क्षेत्र नम्बर २ मा नेकपा (एमाले) सँगको गठबन्धनको सहयोगमा प्रतिनिधि सभामा विजयी हुनुभएको थियो । 

हाल राप्रपाका महामन्त्री रहनुभएका डा. धवलशमशेरको उपस्थितिमा सम्पन्न पार्टीको क्षेत्र नम्बर २ को बैठकले सहमहामन्त्री ऋषिराज देवकोटा एवं नेताहरू नन्दलाल वैश्य र चन्द्रशेखर पाण्डेको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ । बैठकमा राणाले आफू राप्रपाको केन्द्रीय सङ्गठन विस्तारमा केन्द्रित हुने भन्दै नयाँ पुस्तालाई उम्मेदवार बनाउने पक्षमा भएकाले आफ्नो नाम सिफारिस नगर्न आग्रह गर्नुभएको थियो ।  

राप्रपाका सहमहामन्त्री देवकोटाका अनुसार उम्मेदवार छनोट गर्न बसेको बैठकमा अधिकांशले डा. धवलको नाम सिफारिस गर्ने भन्दै उहाँमाथि दबाबसमेत दिएका थिए । राणाले नमानेपछि अन्य तीन जनाको नाम सिफारिस भएको हो । डा. राणाले तीन दशकभन्दा लामो समयदेखि चुनावी प्रतिस्पर्धामा रहेको भन्दै अन्य व्यक्त्लिाई पालो दिनु पर्छ भन्ने लागेर निर्वाचनमा प्रतिस्पर्धा नगर्ने योजना बनाएको बताउनुभयो ।