• ९ पुस २०८२, बुधबार

सुनको मूल्य एकै दिन साढे पाँच हजारले बढ्यो

तोलाको तीन लाख पुग्ने अनुमान

blog

काठमाडौँ, पुस ९ गते । सुनको मूल्य एकै दिन तोलामा पाँच हजार पाँच सय रुपियाँले बढेर नयाँ रेकर्ड बनाएको छ । मूल्यको बढ्दो प्रवृत्तिले गर्दा प्रतितोला तीन लाख रुपियाँसम्म पुग्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार बढ्दै गएको सुनको मूल्य आगामी दिनमा पनि थप बढ्ने अनुमान गरिएको हो ।

सोमबार प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँमा कारोबार भएको सुन मङ्गलबार दुई लाख ६७ हजार दुई सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस चार हजार ३९७ अमेरिकी डलर रहेको सुनको मूल्य मङ्गलबार बढेर चार हजार ४८७ अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा एकैदिन प्रतिऔँस ९० अमेरिकी डलरले बढेको छ । 

सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले निरन्तर उकालो लागेको सुनको मूल्य बढेर तीन लाख पुग्ने सङ्केत देखिएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य पाँच हजार अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ, शाक्यले भन्नुभयो, “त्यतिबेला स्थानीय बजारमा भने सुनको मूल्य तीन लाख पुग्छ ।” महासङ्घका अनुसार एक वर्षको अवधिमा तोलामा सुनको मूल्य एक लाख १७ हजार छ सय रुपियाँले बढेको छ । २०८१ पुस पहिलो साता प्रतितोला एक लाख ४९ हजार छ सय रुपियाँ रहेको सुनको मूल्य अहिले बढेर दुई लाख ६७ हजार नाघेको छ ।

सुनको मूल्य बढ्दा बजारमा माग कम भई कारोबार ठप्प भएको व्यवसायीको भनाइ छ । व्यवसायी शाक्यले भन्नुभयो, “उपभोक्ताको क्रयशक्ति न्यून हुनु र बजारमा माग नै नभएकाले सुनको कारोबार ठप्प अवस्थामा पुगेको छ ।” पुस महिना अफ सिजन भएकाले कारोबार ठप्प रहेको व्यवसायीको भनाइ छ ।

बजारमा सुनको कारोबार नभएपछि वाणिज्य बैङ्कले सुन आयात गर्न छाडेको नेपाल बैङ्कर्स एसोसिएसनले जनाएको छ । दैनिक २५ केजीका दरले विभिन्न वाणिज्य बैङ्कलाई सुन आयात गर्न कोटा निर्धारण गरिएको छ । बैङ्कमा पर्याप्त मात्रामा सुनको मौज्दात भएकाले सुन आयात नभएको बैङ्कर्स एसोसिएसनले जनाएको छ । 

चाँदी पाँच हजार पुग्ने

यसैबिच चाँदीको मूल्य पनि निरन्तर बढ्दै गएको छ । सोमबार प्रतितोला चार हजार २३५ रुपियाँमा कारोबार भएको चाँदी मङ्गलबार तोलामा २० रुपियाँले बढेर चार हजार २५५ रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मङ्गलबार चाँदीको मूल्य प्रतिऔँस ७० डलर पुगेको छ । यो मूल्य बढेर ७५ डलरसम्म पुग्ने अनुमान गरिएको छ । त्यतिबेला स्थानीय चाँदीको मूल्य तोलामा पाँच हजारसम्म पुग्ने अनुमान गरिएको छ ।  महासङ्घका अनुसार चाँदी गरगहनासँगै औद्योगिक क्षेत्रमा प्रयोग हुने गर्छ ।  विशेष गरी सोलार प्यानल, विद्युतीय सवारी, ब्याट्री प्रविधि, डाटा सेन्टर र एआई प्रविधिमा चाँदीको प्रयोग बढ्दै जाँदा विश्वमा माग बढ्दै गएको छ । माग अनुसार आपूर्ति नहुँदा मूल्य निरन्तर बढ्दै गएको व्यवसायीको भनाइ छ । महासङ्घका अनुसार एक वर्षको अवधिमा चाँदीको मूल्य तोलामा दुई हजार ४६० रुपियाँले बढेको छ ।