- उपभोक्ताको भान्सामा पुगेपछि हुन्छ परीक्षण
- खाएपछि आउँछ रिपोर्ट
- थोरै बचेको गरिन्छ नष्ट
काठमाडौँ, पुस ९ गते । कालीमाटी तरकारी बजारमा मङ्गलबार थोकमा बेच्न ल्याइएको रायोको सागमा झन्डै शतप्रतिशत नै विषादी रहेको पाइयो । यो रिपोर्ट आधाभन्दा बढी विषाक्त साग उपभोक्ताको भान्सामा पुगेपछि आएको हो ।
विषाक्त साग खाइसकेपछि समितिले सूचना सार्वजनिक गरेपछि सञ्चार माध्यममा समाचार बन्यो । यो मङ्गलबारको मात्र नियति होइन, सधैँको हो । कालीमाटी तरकारी बजारमा सामान्यतः बिहान ३ बजेदेखि ४ बजेका बिचमा ताजा तरकारी आइपुग्छ र ४:३० देखि ७ बजेभित्र थोकमा बिक्री भई सबै तरकारी स्थानीय बजार, खुद्रा बजार हुँदै उपभोक्ताको भान्सामा पुगिसक्छ ।
तरकारी बजार कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको एकाइले बिक्री भएर बचेको रायोको नमुना झन्डै ६ बजे लिएर परीक्षण गर्दा ९९.०८० प्रतिशत विषाक्त रहेको प्रतिवेदन ६:३० बजेतिर समितिलाई दियो । अरू दिनकै जस्तो घटना मङ्गलबार पनि दोहोरिएको मात्र हो ।
प्रतिवेदन अनुसार काठमाडौँ नागार्जुन नगरपालिकाको रामकोटका कृषक/व्यापारी उत्तम रेग्मीले बेच्न ल्याएको रायो सागमा अर्गानोफस्फेट नामको विषादीको रोकावट दर ९९.०८० प्रतिशत भेटिएको थियो । यो भनेको शतप्रतिशत जस्तै हो ।
उक्त विषादीको त्यो मात्रा तरकारी उपभोग गर्न अयोग्य मानिन्छ । उक्त विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा बढी भए खान हुँदैन । प्रयोगशालाले नष्ट गर्नुपर्ने भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिसमक्ष बिहान ६:३० बजे रिपोर्ट दिएपछि समितिका सुरक्षागार्डसहित तरकारी स्टलमा ८:३० बजे पुग्दा धेरै जसो विषाक्त साग उपभोक्ताको भान्सा पाक्ने समय भइसकेको थियो । बचेको करिब ४० केजी साग मात्र समितिले नष्ट गरेको थियो ।
तरकारी भान्सामा पु¥याइसकेपछि बल्ल विषादी परीक्षण भएको रिपोर्ट सार्वजनिक हुने गरेको यो पहिलो घटना भने होइन । कालीमाटीमा मात्र होइन, केन्द्रीय प्रयोगशाला अन्तर्गतका सबै प्रयोगशालाको परीक्षण शैली यस्तै रहेको स्वयम् प्रयोगशालामा कार्यरत कर्मचारी र सरोकारवाला स्विकार्छन् । कालीमाटी फलफूल तथा तरकारी बजार थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यका अनुसार राति ३/४ बजेदेखि स्थानीय बजारमा जान्छ । प्रयोगशालाका कर्मचारी ६/७ बजे आएर रहलपहलको नमुना लिएर परीक्षण गरी खान नहुने प्रतिवेदन दिन्छन् जसको केही अर्थ हुँदैन ।
केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख डा. शान्ता कार्कीले प्रयोगशालामा काम गर्ने कर्मचारीको सुरक्षाको सुनिश्चित नभएकाले स्थानीय बजारमा जानुअघि प्रयोगशाला सञ्चालन गर्न सम्भव नभएको बताउनुभयो । उक्त एकाइमा खटिने दुई जना कर्मचारीले राति आएका नमुना लिएर परीक्षणमा खटिँदा जिउज्यानको सुरक्षा गर्ने सुनिश्चित गरेमा काम लगाउन सकिने उहाँको भनाइ छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा. प्रद्युम्नराज पाण्डेले रातिदेखि प्रयोगशाला सञ्चालन भएमा रिपोर्टमा खराबदेखि तरकारी नष्ट गर्न समिति तयार रहेको जानकारी दिनुभयो ।
प्रयोगशालामा काम गर्ने महिला कर्मचारी भएकाले सुरक्षामा केही चुनौती भने हुन सक्ने उहाँको भनाइ छ । कार्यकारी निर्देशक पाण्डेले प्रयोगशालाले खान अयोग्य भनेको तरकारी रिपोर्ट आउनेबित्तिकै नियन्त्रणमा लिएर नष्ट गर्ने गरेको दाबी गर्नुभयो । उहाँका अनुसार कुन प्रदेश र जिल्लाबाट आएको तरकारीमा समस्या देखिएको हो त्यसको कारबाहीका लागि सम्बन्धित प्रदेशमा रहेको पालिकामा पत्राचार गर्ने गरिएको छ ।
मङ्गलबार विषादीको समस्याका देखिएको काठमाडौँ नागार्जुन नगरपालिका रामकोटका कृषक र फार्मको अनुगमन गरी कारबाहीका लागि पत्राचार गरेको उहाँको भनाइ छ । नागार्जुन नगरपालिकाका प्रवक्ता महेश रिजालले कालीमाटी समितिको पत्र आएपछि कानुनी प्रक्रियामा जाने बताउनुभयो ।
सरकारले तरकारीमा विषादीको अवशेषबारे मापदण्ड निर्धारण गरेको छ । जस अनुसार ३५ प्रतिशतसम्म विषादीको अवशेष देखिए उपभोग गर्न मिल्छ ।
यसै गरी ३५ देखि ४५ प्रतिशत विषादीको अवशेष देखिए केही दिनलाई राखेर उपभोग गर्न मिल्छ । ४५ प्रतिशतभन्दा बढी विषादीको अवशेष देखियो भने खान नहुने अर्थात् नष्ट गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।