काठमाडौँ, फागुन ५ गते । नेपाली बजारमा खानेतेलको भाउ अस्वाभाविक रूपमा भाउ बढेको छ । खानेतेल उत्पादक उद्योगीहरूले पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको बहानामा प्रतिलिटर ४० देखि ५० रुपियाँसम्म भाउ बढाएका छन् ।
फागुनको पहिलो सातासम्म प्रतिलिटर २६०/२६५ रुपियाँमा पाइने सनफ्लावर तेल अहिले बढेर प्रतिलिटर तीन सय रुपियाँ पुगेको छ । भटमासको तेलमा झनै मूल्यको टुङ्गो छैन । पश्चिम एसियामा जारी द्वन्द्वका कारण देखाएर नेपालका उद्योगीले खानेतेल अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रिन्ट गरेर पठाउन थालेको खुद्रा व्यापारीले बताएका छन् ।
नेपाल खुद्रा व्यापार सङ्घका महासचिव अमुकाजी तुलाधरले दिनदिनै बढेको मूल्यवृद्धिले साना खुद्रा व्यापारीले तेल बिक्री गर्न छोड्नुपर्ने अवस्था आएको गुनासो गर्नुभयो । “साना व्यापारीले धेरै भण्डारण गर्न सकिँदैन, अहिले एमआरपीभन्दा बढी भाउ तिर्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो, “यस्तो अवस्थामा कसरी व्यापार गर्ने ? बरु तेल बिक्री नगर्ने मनस्थितिमा मलगायतका धेरै व्यवसायी पुगेका छौँ ।” अस्वाभाविक रूपमा बढ्ने मूल्यले झनै त्रसित बनाएको दुःखेसो सङ्घका महासचिव तुलाधरले गर्नुभयो ।
नेपाल किराना खाद्य तथा थोक व्यापार सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले पश्चिम एसियामा जारी द्वन्द्वले नेपालमा खानेतेलको भाउ बढाउनु लज्जास्पद र गैरजिम्मेवारीपन भएको टिप्पणी गर्नुभयो । उहाँका अनुसार नेपालका तेल उत्पादक उद्योगीले नेपालमा भन्दा भारत पठाउँदा उच्च मूल्य पाएपछि हाल नेपालमा खानेतेलको मूल्य नियोजित रूप बढाइएको हो । “नेपालमा खानेतेलका लागि चाहिने कच्चा पदार्थ मलेसिया र सिङ्गापुरबाट आउने हो, द्वन्द्व प्रभावित देशबाट आउँदैन । यो विषयमा कोही पनि झुक्किन झुक्याउन हुन्न,” उहाँले भन्नुभयो ।
एमआरपीभन्दा बढी मूल्य मागिएमा सम्बन्धित उद्योगबारे उजुरी गर्न खुद्रा व्यापारीलाई उहाँले आग्रह गर्नुभयो । “साच्चिकै खुद्रा व्यापारीलाई मर्का परेको हो भने त बिलसहित सम्बन्धित निकायमा उजुरी गर्नु प¥यो,” उहाँले भन्नुभयो, “नियमनकारी निकायले पनि त्यस्ता व्यापारी तथा उद्योगीलाई कारबाही गर्नु पर्छ यसमा हामी पूरा साथ दिन्छौँ ।”
उपभोक्ता अधिकारकर्मीले भने अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुभन्दा पहिल्यै मौज्दात रहेको तेललाई समेत नयाँ मूल्य तोकेर बेच्ने प्रवृत्ति बढेको भन्दै सरकारले कडा कदम चाल्नुपर्ने माग गरेका छन् ।
यता नेपाल चामल, तेल, दाल उद्योग सङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यवृद्धि र ढुवानी मार्गमा देखिएको अवरोधले गर्दा समस्या भएको छ । अर्जेन्टिना र इन्डोनेसिया जस्ता मुलुकबाट कच्चा तेल बोकेर आउने ठुला जहाज बाटोमै रोकिएको सङ्घले जनाएको छ ।
खाद्य कम्पनीमा भने पुरानै मूल्यमा खानेतेल
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने हाल बजार मूल्यभन्दा केही सस्तोमा तेल बिक्री गरिरहेको जनाएको छ । कम्पनीका अनुसार भटमासको तेल प्रतिलिटर २४०, सनफ्लावर २७५ र विभिन्न ब्रान्डका तोरीका तेल २५५ देखि ३६० रुपियाँसम्ममा उपलब्ध छन् । कम्पनीका प्रवक्ता माधव मिश्रले बजारमा हल्ला भए जस्तो सन्फ्लावरबाहेक अन्य खानेतेलको मूल्य नबढेको दाबी गर्नुभयो ।
यसबिचमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खानेतेलको अनियन्त्रित मूल्यवृद्धि र कालोबजारी भइरहेको गुनासो बढेपछि आफ्नो सक्रियता बढाएको जनाएको छ । विभागका निर्देशक नरहरि तिवारीले अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न विभागले अनुगमनलाई तीव्र पारिएको जानकारी दिनुभयो । तिवारीका अनुसार विभागले अहिले विशेष गरी तेलको मूल्य र मौज्दातलाई केन्द्रित गरेर मूल्यवृद्धिको सत्यतथ्य बुझ्न सूक्ष्म अध्ययन र ‘भेरिफिकेसन’ गरिरहेको छ । “बजारमा खानेतेलको मौज्दात पर्याप्त हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गर्ने वा कार्टेलिङ गरी मूल्य बढाउने जोकोहीलाई छोड्दैनौँ, कानुनु अनुसार कारबाही हुन्छ,” उहाँले भन्नुभयो ।