साहारा लिम्बू
फुङलिङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –२ खोक्लिङस्थित ओझागाउँ आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । कोशी प्रदेश सरकारको ६५ प्रतिशत र स्थानीय सरकारको ३५ प्रतिशत लागत साझेदारीमा निर्माण सम्पन्न भएको ६ कोठे भवनको आइतबार औपचारिक उद्घाटन गरिएको हो ।
एक करोड ६० लाख रुपियाँमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य खगेनसिं हाङगामले गर्नुभएको हो । कार्यक्रममा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त कार्की साथै वडा अध्यक्ष, जनप्रतिनिधि, स्थानीयवासी, अभिभावक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो ।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि हाङगामले ग्रामीण क्षेत्रको शैक्षिक विकासका लागि भौतिक पूर्वाधार निर्माण महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विद्यालयको स्तरोन्नतिसँगै गुणस्तरीय शिक्षामा समेत ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । गाउँपालिका अध्यक्ष कार्कीले स्थानीय तहले शिक्षालाई प्राथमिकतामा राखेर आवश्यक पूर्वाधार विकासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उद्घाटन समारोहका अवसरमा विद्यालयका लागि जग्गा दान गर्ने ओझा बन्धु कुलवंश एकता उद्धार उत्थान प्रतिष्ठानका पदाधिकारी तथा जग्गा दाताहरुलाई सम्मान गरिएको छ । उहाँहरूलाई सम्मानपत्र, मायाको चिनो तथा दोसल्ला ओढाएर कदर गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
स्थानीयवासीले नयाँ भवन निर्माणसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीले सहज र व्यवस्थित वातावरणमा अध्ययन गर्न पाउने विश्वास व्यक्त गरेका छन् ।