• २५ चैत २०८२, बुधबार

दुई वर्षदेखि हिंसा भोगेकी बालिकाद्वारा किटानी जाहेरी

blog

चाँदनी आचार्य 

घोडाघोडी (कैलाली) चैत २५ गते । दुई वर्षदेखि घर भित्रै जबरजस्ती करणी तथा चरम हिंसा भोगेकी कैलालीका एक बालिकाले पीडक विरुद्ध किटानी जाहेरी दिने हिम्मत गर्नुभएको छ ।

 १३ वर्षीय पीडितले छिमेकी शोभा मिश्रको संरक्षणमा चैत २७ गते इलाका प्रहरी कार्यालय सुखडमा ६० वर्षीय कुशल भट्टराई विरुद्ध जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी दिनुभएको हो ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले पीडित बालिकाले २०८१ साल वैशाख १८ र २५ गते दिदीको ससुरा पर्ने कुशल भट्टराईले जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी दिएको जानकारी दिनुभयो ।

चैत १७ गते जाहेरी परेलगतै पीडक भट्टराईलाई प्रहरी हिरासतमा राखिएको छ भने पीडित बालिकालाई सेफ हाउस अत्तरिया पठाइएको प्रहरीले जनाएको छ ।

नाबालक पीडितको तर्फबाट जाहेरी दिने आफन्त नभएपछि छिमेकी शोभा मिश्रले पीडितको पक्षबाट संरक्षकबनी जाहेरी दिएको बताउनुभयो ।

छिमेकी मिश्रका अनुसार पीडित बालिकाको आमाले अर्कैसँग विवाह गरेर गए पछि बुवाले अर्को विवाह गरेपछि पीडित दिदीसँग बस्दै आउनुभएको थियो ।

दिदी भिनाजु पनि भारतको बैंङग्लुरुमा काम गर्न गएकोले बालिका घरमा दिदीका ससुरासँग बस्दै आउनु भएको थियो । लामोसमय देखि बालिकामाथि जबरजस्तीकरणी भएको हुनसक्ने आशङ्का छिमेकीले गरेपनि बिना प्रमाण बोल्न सकेका थिएनन्।

घटनाका विषयमा छिमेकी मिश्रले भन्नुभयो “ मैले बहिनीलाई सोध्ने आँट गरे । उनले भन्ने ठाउँ पाएकाे रैन छन् । मलाई उनले सबै कुरा भनिन् । मैले अनुमति लिएर उनका भनाइ सबै रेर्कड पनि गरेको छु । दुई वर्ष अगाडिबाट पीडित रैछन् । दुई पटक बलात्कार गरेको बताइन् ।”

किटानी जाहेरी दिन तयार भएपछि आफू संरक्षक भएर पीडितको पक्षबाट किटानी जाहेरी दिएको र पीडितलाई सेफ हाउसमा पठाएको मिश्रले जानकारी दिनुभयो ।

सेफ हाउसमा राखिएको पीडितलाई भारतबाट दिदी आएपछि सोमबार घरमा ल्याइएको छ । छिमेकी मिश्रले बुवा र सौतेनी आमाको नराम्रो व्यवहारबाट सुरक्षित हुन दिदीको घरमा बसेकी पीडित बालिकाले न्याय नपाए कुनै पीडितले न्याय नपाउने बताउनुहुन्छ । “उसको न्यायको लागि मैले रिस्क लिएको छु । छिमेकी हिसाबले अन्याय सहन सकिएन । बयान फेर्न लगाएर केस कमजाेर र पारिन्छ कि भन्ने लागेको छ ” उहाँले भन्नुभयो, “पारिवारिक प्रभावमा बालिकाले न्याय पाउदिन कि भन्ने छ । उनी मानसिकरुपमा धेरै कमजोर भइसकेकी छन् । अपराधी छुट्नु भएन, पीडितले न्याय पाउनु पर्छ ।”

बिगत तीन वर्ष देखि आफ्नो दिदीको घरमा बस्दै आउनु भएका पीडित बालिकाले भर्खरै कक्षा आठको वार्षिक परीक्षा दिनुभएको विद्यालयले जनाएको छ ।