• २६ चैत २०८२, बिहिबार

मुस्ताङमा एचपिभी खोपप्रति किशोरीको चासो बढ्दो

blog

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरको खोप रोकथामका लागि ‘एचपिभी’ खोप लगाउँदै किशोरी ।

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), चैत २६ गते ।
मुस्ताङमा पाठेघरको मुखमा हुने क्यान्सरको जोखिमबाट जोगाउनका लागि विद्यालय केन्द्रित एचपिभी खोप अभियानमा किशोरीको चासो देखिएको छ । जाडो बिदा सकिएपछि मुस्ताङमा एचपिभी खोप नलगाउदाँ हुने जोखिमका बारेमा सचेतनामुलक अभियानसँगै बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा २६ जना किशोरीले खोप लगाएका छन् ।

खोप अभियानमा लुप्रा आमाविमा दुई जना, जननर्मल मावि छुसाङ ६ जना, जनशान्ति मावि कागबेनी १८ जनाले खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र बोहोराले जानकारी दिनुभयो । कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउने अभियानमा २७ जनाको तथ्याङ्क संकलन गरिएकोमा २६ जनाले लगाएको र अधिकांसले खोपको महत्त्वका बारेमा चासो लिएको स्वास्थ्य प्रमुख बोहोराको भनाइ छ ।

गाउँपालिकामा हालसम्म ९६ दशमलव ३० प्रतिशत किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङका खोप फोकलपर्सन सम्झना बुढाले बताउनुभयो । बुढाले भन्नुभयो, ‘‘खोप अभियान उत्साहजनक रुपमा सञ्चालन भइरहेको छ,सतप्रतिशत लक्ष्य भेटाउन खोप केन्द्रमा लगाउन छुटेकालाई घरमै पुगेर समेत लगाएका छौं, चैत महिनामा अभियान सकिन्छ ।’’

विद्यालय बाहिर रहेका उमेर समूहका किशोरी छुटेमा सम्पर्क गर्न समेत गाउँपालिकाको स्वास्थ्य शाखामार्फत समुदायस्तरमा अभियान सञ्चालन गरिएको छ । कोही पनि किशोरी नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ खोप अभियानमा छुटेकाहरूको स्वास्थ्यकर्मी, जनप्रतिनिधिसहितको टोलीले अनुगमन गरिने खोप फोकलपर्सन बुढाको भनाइ छ ।  

प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङका अनुसार घरपझोङ गाउँपालिकामा ८१ जना, लो–घेकर दामोदर कुण्ड गाउँपालिका ४१ जना, थासाङ गाउँपालिका ४० जना, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका २७ र लोमन्थाङ गाउँपालिकामा १२ जना किशोरी रहेका छन् । खोप अभियान चैत २८ गते सम्पन्न हुन्छ । १० देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर भएकाले सानो उमेरमा लगाएको खोप बढी प्रभावकारी हुन्छ । ३० वर्षमाथिका महिलाले पाँच–पाँच वर्षमा र एचआइभी सङ्क्रमित महिलाले हरेक तीन वर्षमा पाठेघरको मुखको नियमित जाँच गराउन गराउनु राम्रो हुने चिकित्सकको भनाई छ ।