• २५ चैत २०८२, बुधबार

सार्वजनिक यातायातको भाडामा वृद्धि

blog

फाइल तस्बिर

काठमाडौँ, चैत २५ गते । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको छ । विभागले १३ वटा सूचकको विश्लेषण तथा इन्धनको मूल्यमा आएको परिवर्तनका आधारमा यात्रुबाहक सवारी साधनमा १६.७१ प्रतिशत भाडा वृद्धि गरेको हो ।

परिमार्जित भाडादर अनुसार पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा १५.७५ प्रतिशत भाडा वृद्धि गरी समायोजन गरिएको विभागले जनाएको छ ।

विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा स्वचालित रूपमा भाडा समायोजन हुने व्यवस्था छ । यसअघि डिजेलको मूल्य प्रतिलिटर १५० रुपियाँ हुँदा २०८१ पुस २२ गते पछिल्लो पटक भाडा समायोजन गरिएको थियो ।

विसं २०७२ देखि लागू गरिएको वैज्ञानिक भाडादर प्रणाली अन्तर्गत इन्धन र अन्य प्राविधिक सूचकलाई आधार मानी भाडादर स्वचालित रूपमा समायोजन हुँदै आएको छ । नयाँ भाडादर आजैका मितिदेखि लागू हुने गरी विभागले सम्बन्धित सबै निकायलाई जानकारी गराएको छ ।