राजन रावत
हुम्ला, चैत २६ गते । चालु आर्थिक वर्षमा सदरमुकाम रहेको सिमकोट गाउँपालिकाको वार्षिक बजेट आठ करोडभन्दा बढीले वृद्धि भएको छ। चार वटा कार्यक्रमका बजेट पछि निकासा भएपछि यसअघि गाउँपालिकाले तर्जुमा गरेको बजेटमा वृद्धि भएको हो।
गाउँपालिका अध्यक्ष बिजय भण्डारीका अनुसार, हिउदे तथा वर्षे गाउँसभासम्म आइपुग्दा ८ करोड ५२ लाख ५८ हजार रुपियाँ बजेट वृद्धि भएको छ। यसअघि गत असार १० गते सिमकोट गाउँपालिकाको एघारौं गाउँसभाले ६१ करोड १२ लाख ९२४ रुपियाँको वार्षिक बजेट पारित गरेको थियो। पछि थपिएको बजेटसहित बाह्रौं हिउदे सभाले ७० करोड ९९ लाख ८९ हजार ६३९ रुपियाँको बजेट पारित गरेको छ।
थपिएको बजेटमध्ये ७ करोड ९ लाख ८१ हजार रुपियाँ सामाजिक सुरक्षातर्फ, ३ लाख ३१ हजार रुपियाँ गरिब घर पहिचान कार्यक्रम, ९७ लाख ५० हजार रुपियाँ शैक्षिक सुधार भवन निर्माण, र ३८ लाख रुपियाँ स्वास्थ्य पूर्वाधारतर्फ छुट्टाइएको छ।
त्यसैगरी गाउँसभाले तीस वटा भौतिक पूर्वाधार योजना अनुमोदन गरी पारित गरेको छ। यी योजनामा भवन, खानेपानी, सिँचाइ, सडक र अन्य चालु कार्यक्रमहरू समावेश छन्।
सभाले चार कार्यविधि पनि पारित गरेको छ। नयाँ कार्यविधिहरूमा पोषणमैत्री स्थानीय तह वडा घोषण कार्यविधि २०८२, सिमकोट पशुस्वास्थ्य शिबिर सञ्चालन कार्यविधि २०८२, लोकसेवा कक्षा सञ्चालन कार्यविधि २०८२ रहेका छन्। त्यस्तै, जनप्रतिनिधि कर्मचारी उपचार कल्याण कोष सञ्चालन कार्यविधि संशोधन गरेर पारित गरिएको छ।
यता, सिमकोट गाउँपालिकामा लागू भएका लिप्स कार्यक्रमअन्तर्गत टेन्डर आह्वान भई बचेको बजेटबाट सात वटा योजना तर्जुमा गरी पारित गरिएको छ। यी योजनाका लागि एक करोड ४० लाख रुपियाँको व्यवस्था गरिएको छ।