• ३ जेठ २०८२, शनिबार

एमालेबाट निर्वाचित पूर्व जनप्रतिनिधिलाई सम्मान

blog

पूर्व जनप्रतिनिधिलाई सम्मान गर्नुहुँदै नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, जेठ ३ गते । नेकपा (एमाले) लमजुङले स्थानीय निर्वाचनमा निर्वाचित पूर्व जनप्रतिनिधि तथा उम्मेदवारलाई सम्मान गरेको छ । ३२ औं मदन आश्रित दिवसका दिन शनिवार सदरमुकाम बेसीसहरमा आयोजित एमालेको नवौं जिल्ला अधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकको अबसरमा पूर्व जनप्रतिनिधि तथा उम्मेदवारलाई सम्मान गरिएको हो । 

२०४३ सालका जनपक्षिय उम्मेदवार, २०४९ र २०५४ को स्थानीय निर्वाचिनमा एमालेबाट निर्वाचित गाउँ विकास समितिका अध्यक्ष, उपाध्यक्ष र अध्यक्ष तथा उपाध्यक्षका उम्मेद्वारलाई सम्मान गरिएको हो । सो बेला निर्वाचित र उम्मेदवार बनेर पराजित हुनुभएका करिब दुईसय जनालाई सम्मान गरिएको नेकपा (एमाले) लमजुङका अध्यक्ष राजकुमार विष्टले जानकारी दिनुभयो । 

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमालेका उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेकपा एमालेका केन्द्रीय सदस्य तथा लमजुङ इन्चार्ज जमीन्द्रमान घले र जिल्ला अध्यक्ष राजकुमार विष्टले संयुक्त रुपमा सम्मानपत्र, खादा र टिका लगाएर सम्मान गर्नुभयो । 

पूर्व जनप्रतिनिधिलाई पार्टीको नीतिअनुसार समाजवादउन्मुख समृद्ध नेपालको आधार निर्माण गर्ने कार्यमा उल्लेखनीय योगदान पु¥याएको र पार्टी निर्माणमा विगतमा देखाएको क्रियाशीलता, योगदान र समर्पणको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको एमालेका केन्द्रीय सदस्य एवं लमजुङ इञ्चार्ज जमीन्द्रमान घलेले बताउनुभयो ।

दोर्दी गाउँपालिका –७ घर भई तत्कालीन फलेनी गाउँ विकास समितिमा २०४९ सालमा उपाध्यक्षमा निर्वाचित टकबहादुर गुरुङले पार्टीले सम्झेर सम्मान गरेकोमा खुसी लागेको बताउनुभयो । 

कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगका सदस्य मायानाथ अधिकारी, एमाले गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडी लगायत प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका पदाधिकारी, सदस्य र प्रतिनिधि परिषदका प्रतिनिधिहरुको सहभागिता थियो ।