रवीन्द्र उप्रेती
बर्दिबास, जेठ ३ गते । बद्लिदो जीवन शैली, अनावश्यक सोच र खानपानमा लापरवाहीजस्ता कारणले उच्च रक्तचाप प्रमुख स्वास्थ्य समस्या बन्दैगएको चिकित्सकको भनाइ छ ।
पहिले सम्भ«ान्त र शहरियामा देखा पर्ने यो समस्या अब ग्रामीण भेगमा पनि फैलिदै गएको उहाँहरुले बताउनुभयो । विश्व उच्च रक्तचाप दिवसको अवसर पारेर बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालले शनिवार बर्दीबासमा आयोजना गरेको निःशुल्क रक्तचाप तथा मुटु परीक्षण शिविरमा डा. श्यामसुन्दर शाही (फिजिसियन) का अनुसार असपतालमा आउने विरामीमध्ये ६० प्रतिशतमा उच्च रक्तचापको समस्या देखिएको छ ।
बदलिदो समय क्रमसँगै रक्तचाप लाग्ने उमेर १० वर्षले घटेको उहाँले बताउनुभयो । डा. शाहीले भन्नुभयो, ‘हामी कलेज छँदा ४० वर्ष कटेकोमा उच्च रक्तचाप देखा पर्ने पढेका थियौं । अहिले यो उमेर घटेर ३० वर्ष पार गरेका अधिकांशमा ‘हाइपर टेन्सन’ देखिएको छ । चिन्ताजनक अवस्था हो ।’
असपताल प्रमुख दीपक कार्कीकाअनुसार रक्तचापलाई नियमित रुपमा मापन गर्नुपर्ने आवश्यकतालाई पैरवी गर्न शुभ स्वास्तिक अस्पतालले सवारी चालक र मोटरपार्टस् वर्कसपमा कार्यरत श्रमिकलाई लक्षित गरी अस्पताल परिसरमा आयोजना गरेको निःशुल्क शिविरमा अपरान्ह २ बजेसम्म सर्वसाधारणसहित १२६ जनाको परीक्षण गरिएकोमध्ये अधिकांशमा उच्च रक्तचाप पाइएको छ ।
तनावपूर्ण जीवन, अस्वस्थ्य खानपान र असन्तुलित जीवनशैलीले उच्च रक्तचाप विश्वब्यापी समस्या बनेको डा. शाहीले बताउनुभयो । यसले स्वास्थ्य क्षेत्रमा मस्तिष्क घात, हृदयाघातजस्ता समस्या थपेको उहाँको भनाइ छ ।
डा शाहीले भन्नुभयो, ‘उच्च रक्तचापबाट बच्न सन्तुलित जीवन यापन गर्ने, नुनको मात्रा घटाएर ५ प्रतिशतमा झार्ने, मध्यपान र धुम्रपान नगर्ने, तनाव नलिने, पत्रु खाना (जंक फुड) नखाने, नियमित ब्यायाम गर्नेजस्ता आनीवानीले रक्तचाप सन्तुलित राख्न सकिन्छ ।