• ४ जेठ २०८१, शुक्रबार

नगरप्रमुखको तलब–भत्ता सहायता कोषमा

blog

तनहुँ समाचारदाता 

तनहुँ, जेठ ११ गते ।  समाजसेवीका रूपमा परिचित तनहुँ शुक्लागण्डकी नगरपालिकाका नवनिर्वाचित प्रमुख कृष्णराज पण्डितले तलब–भत्ता नलिने घोषणा गर्नुभएको छ । विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध समाजसेवी पण्डितले विभिन्न सङ्घ संस्थालाई आर्थिक सहयोग प्रदान गर्दै आउनुभएको छ ।

स्वच्छ छवि, मिलनसार र प्रस्ट वक्ताका रूपमा परिचित नगरप्रमुख पण्डितले धेरैजसो जनप्रतिनिधि सुविधाभोगी भए भन्ने आरोप लागिरहेको बेला आफूले भने तलब–भत्ता नलिने घोषणा गर्नुभएको हो । 

शपथग्रहणपछि नगर प्रमुखको पदभार सम्हाल्दै उहाँले सरकारबाट प्राप्त हुने कुनै पनि तलब–भत्ता नलिने बताउनुभयो । उम्मेदवार बन्दा पनि पण्डितले तलब भत्ताबापतको रकम गरिब, निमुखा, अपाङ्गता भएका र उपचारका लागि खर्च गर्न नसक्ने व्यक्तिहरूको सहयोगमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

आफ्नो तलब–भत्ताबापतको रकम सामाजिक सेवा र दीनदुःखीको सेवामा मद्दत गर्न ‘नगरप्रमुख सहायताका कोष’ स्थापना गर्ने जानकारी पनि नगरप्रमुख पण्डितले दिनुभयो । 

तनहुँ उद्योग वाणिज्य सङ्घको निर्वतमान अध्यक्षसमेत हुनुभएका पण्डित व्यापार र व्यावसायबाट आर्जन गरेकोमध्ये केही रकम समाजसेवामा खर्च गर्दै आउनुभएको छ । 

 हार्डवेयर, पेट्रोलपम्प, डोजर तथा ट्याक्टरको बिक्री सोरुमलगायतका विभिन्न व्यवसाय आबद्ध पण्डित भन्नुहुनछ, “ती व्यवसायमा परिवारका अन्य सदस्यहरू पनि जोडिएकाले आर्थिक समस्या छैन ।” 

परिवारको जीविकोपार्जनका लागि सिङ्गो परिवार अन्य व्यापार व्यवसायसँग जोडिएकाले आर्थिक समस्या नभएको उहाँ बताउनुहुन्छ । व्यापार र भाडा लगाइएका बहुउद्देश्यीय भवनको आम्दानीले घरखर्च चल्छ, नगर प्रमुख पण्डितले थप्नुभयो । 

सरकारी तलब–भत्ताको भर पर्नुपर्दैन । शुक्लागण्डकीवासीलाई खरको छानामुक्त गराउने लक्ष्यसमेत आफूले लिएको पण्डितले बताउनुभयो । शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, सडक, यातायातजस्ता सुविधालाई महत्त्वसाथ अगाडि बढाउने योजना उहाँको छ । “विकासमा कायापलट ल्याउने विश्वासमा मलाई मत दिनुभएको छ । मत खेर जान दिन्न,” पण्डितले भन्नुभयो ।

विभिन्न सामाजिक सङ्घ र संस्थामा आबद्ध भई सामाजिक कार्य सक्रिय पण्डित विगतको कामको मूल्याङ्कन गरी नगरपालिकावासीले जिताएको बताउनुहुन्छ । बूढादेखि युवा मिलाउन सक्ने क्षमता पनि उहाँमा छ । 

स्पष्टसँग आफ्नो कुरा राख्न सक्नुहुन्छ, कुनै आर्थिक प्रलोभनमा पर्नुहुन्न भन्ने पार्टीले मात्र हैन, आमजनताले बुझेर मत दिनुभएकाले विजयी भएको पण्डितको भनाइ छ । 

“सेवाहरू घरदैलोमा पु¥याउने कोसिस गर्छु, जनतालाई आर्थिक समृद्धिमा लैजाने कुराहरूमा औद्योगिक वातावरण निर्माण गर्न सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्छु,”  पण्डितले भन्नुभयो, “बिदेसिनुपर्ने बाध्यता छन् । त्यसका लागि कसरी स्थानीय बासिन्दा जोडिएर आम्दानीको बाटोहरू बनाउन सकिन्छ । छलफल गर्छु ।”

“जनप्रतिनिधि निर्वाचित हुँदा राज्यकोषबाट आउने सुविधा विपन्न नागरिकका लागि खर्च गर्ने योजना बनाएको छु,” पण्डितले भन्नुभयो । 

आगामी पाँच वर्षभित्र प्रत्येक वडालाई सडक सञ्जालले जोड्ने उहाँको प्रतिबद्धता छ । “१२ महिना चल्ने सडक सबै वडामा पु¥याउने मेरो लक्ष्य छ,” पण्डितले भन्नुभयो । 

प्रत्येक महिना आफ्नो क्षेत्रमा पुगेर जनताका सुख–दुःख र विकासलाई प्राथमिकतामा राख्ने नगरप्रमुख पण्डितको भनाइ छ । उहाँ काँग्रेसतर्फबाट नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । 

प्रत्येक वडालाई सडक सञ्जालले जोड्ने र १२ महिना सवारी चल्ने बनाउने मेरो लक्ष्य छ,” पण्डितले भन्नुभयो । समाजसेवी एवं दानवीरका रूपमा परिचित पण्डितले नेकपा एमालेका मुक्तिनाथ तिमिल्सिनालाई फराकिलो मतान्तरले हराउनुभएको विश्लेषण गरिएको छ ।

पण्डित तिमिल्सिनाभन्दा दुई हजार चार सय २३ मत बढी ल्याई विजयी हुनुभयो । पण्डितले १२ हजार २६३ र तिम्सिनाले नौ हजार ८४० मत प्राप्त गर्नुभयो ।