• १२ साउन २०८१, शनिबार

एक जना मात्र महिला निर्वाचित

यी हुन् माओवादीका प्रतिनिधि सभाका १७ सांसद

blog

प्रतिनिधि सभामा निर्वाचित नेकपा (माओवादी केन्द्र)का सांसद ।

काठमाडौं, मङ्सिर १५ गते । मङ्सिर ४ गते सम्पन्न संघीय चुनावमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नेकपा (माओवादी केन्द्र) ले हालसम्म १७ निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ । 

सत्ता गठबन्धनसँग सहकार्य गरेको माओवादीले प्रत्यक्षतर्फ १६५ मध्ये ४४ क्षेत्रमा उम्मेदवार उठाएको थियो । माओवादीले उम्मेदवारी दिएकोमध्ये १७ निर्वाचन क्षेत्रमा जित हासिल गरिसकेको छ भने २६ क्षेत्रमा पराजित भएको छ। 

सुदूरपश्चिम प्रदेशमा एउटा पनि स्थान सुरक्षित गर्न नसकेको माओवादीले मधेश प्रदेशमा प्रतिनिधि सभातर्फ एउटा क्षेत्र जितेको छ। 

गण्डकी प्रदेशमा दुई क्षेत्रमा माओवादी विजयी भएको छ। लुम्बिनी र प्रदेश १ मा तीन–तीन क्षेत्र जितेको माओवादीले बागमती र कर्णाली प्रदेशमा चार–चार क्षेत्र जितेको छ ।

सो पार्टीले कुल ४४ उम्मेदवारमध्ये आठजना महिला उठाएकोमा एकजनाको मात्र जित भएको छ । दोलखामा बिहीबार (मङ्सिर १५) पुनः मतदान भएको छ । यो क्षेत्रमा माओवादीका गंगा कार्की उम्मेदवार हुनुहुन्छ ।प्रदेश १

भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य सुदन किराँती विजयी हुनुभएको छ। किराँतीले नेकपा (एमाले)का शेरधन राईलाई दुई हजार ३ सय ८५ मतले पराजित गर्नुभएको हो।  उहाँले कुल खसेको मत ६१ हजार ८ सय ३० मध्ये २८ हजार ५ सय ७८ मत पाउनुभएको छ। पूर्व मुख्यमन्त्रीसमेत रहेका उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का राईले २६ हजार १ सय ९३ मत पाउनुभयो। 

खोटाङबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का रामकुमार राई विजयी हुनुभएको छ । नेकपा (एमाले)का विशाल भट्टराईलाई दुई हजार ६६९ मतान्तरले पराजित गर्दै राई विजयी हुनुभएको हो । खोटाङमा खसेको ६७ हजार तीन सय ७३ मतमध्ये राईले ३१ हजार तीन सय ५१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी भट्टराईले २८ हजार ६८२ मत प्राप्त गर्नुभएको छ। 

मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी विजयी हुनुभएको छ । ३० हजार ६१२ मत ल्याएर मोदी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोदप्रसाद ढकालले २४ हजार ४६३ मत पाउनुभएको छ । 


मधेश 

सर्लाही-२ बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार महिन्द्र राय यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ। निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राजेन्द्र महतोलाई दुई हजार ११ मतान्तरले हराउँदै यादव निर्वाचित हुनुभएको हो। यादवले २३ हजार ५२९ मत पाउँदा महतोले २१ हजार ५१८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 


बागमती 

नुवाकोट क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङ विजयी हुनुभएको छ । तामाङले नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीलाई तीन हजार ८५ मतान्तरले पराजित गर्नुभएको हो। माओवादीका तामाङले २६ हजार ५४८  मत प्राप्त गर्नुभएको छ भने एमालेका मैनालीले २३ हजार ४६५ मत प्राप्त गर्नुभएको छ ।

काभ्रेपलान्चो निर्वाचन क्षेत्र १ बाट नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य सूर्यमान तामाङ (दोङ) विजयी हुनुभएको छ। नेकपा (एमाले)का रेसमबहादुर लामालाई तीन हजार ९२८ मतान्तरले पराजित गर्दै दोङ विजयी हुनुभएको हो। दोङले ३४ हजार ५१२ मत प्राप्त गर्नुभयो भने एमालेका लामाले ३० हजार ५४८ मत प्राप्त गर्नुभएको छ। 

सिन्धुपाल्चोक प्रतिनिधि सभा–१ मा नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा ‘सुबोध’ विजयी हुनुभएको छ । निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार सुरेश नेपाललाई तीन हजार ३५६ मतले पछाडि पार्दै सापकोटा विजयी हुनुभएको हो । सापकोटाले ३० हजार ३७४ मत पाउनु भएको छ भने एमालेका नेपालले २७ हजार १८ मत पाउनुभएको छ । 

सिन्धुली क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र)का लेखनाथ दाहाल ‘राज’  विजयी हुनुभएको छ । उहाँ २७ हजार ५१७ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मदेवार मनोजजङ्ग थापाले छ हजार १६२ मत मात्र प्राप्त गर्नुभएको छ । उहाँबीच २१ हजार ३५५ मतको अन्तर छ ।


गण्डकी 

गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ।  दाहाल २६ हजार १०३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका  कविन्द्र बुर्लाकोटीलाई १३ हजार ४६६ मतले पराजित गर्नुभएको हो । बुर्लाकोटीले कुल १२ हजार ६३७ मत प्राप्त गर्नुभएको छ । दाहालका प्रतिस्पर्धी मानिएका एमालेका अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा खुम्चिनुभएको छ । उहाँले सात हजार तीन सय ९३ मत पाउनुभएको छ। 

बागलुङ क्षेत्र नम्बर २ बाट नेकपा (माओवादी केन्द्र)का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी हुनुभएको छ। पौडेल २४ हजार ७७९ मत ल्याएर विजयी हुनुभएको हो । नेकपा (एमाले)का मञ्जु शर्मा चालिसेलाई चार हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्य विजयी  हुनुभएको हो। उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का चालिसेले २० हजार १८० मत प्राप्त गर्नुभएको छ। 


लुम्बिनी 

रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन विजयी हुनुभएको छ । माओवादी उपमहासचिव पुन ४१ हजार सात सय १४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पूर्ण बुढामगरले १६ हजार चार सय ८५ मत ल्याउनुभएको छ । माओवादीका पुनले एमालेका बुढालाई २५ हजार दुई सय २९ मतान्तरले पराजित गर्नुभएको हो। 

रुकुम पूर्वको प्रतिनिधि सभामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार पूर्णबहादुर घर्ती विजयी हुनुभएको छ । उहाँले १२ हजार २ सय ६२ मत प्राप्त गरेर विजय हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार कैलाशकुमार मल्लले ५ हजार २ सय ११ मत प्राप्त गर्नुभएको छ। 

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र)का  रेखा शर्मा विजयी हुनुभएकाे छ । १९७ मतान्तरले नेकपा (एमाले)का महासचिव शंकर पोखरेल पराजित गर्दै शर्मा विजयी हुनुभएकाे हाे  । उहाँले २६ हजार ८७७ मत पाउनुभएकाे छ ।


कर्णाली 

रुकुम पश्चिमबाट नेकपा (माओवादी केन्द्र)का जनार्दन शर्मा विजयी हुनुभएको छ । अर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव शर्मा ३९ हजार ५४९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले नेकपा (एमाले)का उम्मेदवार नन्दराम देवकोटालाई २६ हजार ५८८ मतले पराजित गर्नुभएको हो । एमालेका देवकोटाले १२ हजार ९६१ मत ल्याउनुभएको छ । 

जाजरकोटबाट नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत विजयी हुनुभएको छ। ६५ हजार ६६१ मतमध्ये बस्नेतको पक्षमा ३४ हजार १५१ आएको छ। उहाँले नेकपा (एमाले)का निरज आचार्यलाई ९ हजार ३१ मतले पराजित गर्नुभएको हो। एमाले आचार्यले २५ हजार १२० मत प्राप्त गर्नुभएको छ।

कालीकोटको एक मात्र प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का महेन्द्रबहादुर शाही निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री रहनुभएका शाहीले नेकपा (एमाले)का नगीन्द्र शाहीलाई आठ हजार ६४ मतले पराजित गर्नुभएको हो । माओवादीका शाहीले २४ हजार ४७४ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका शाहीले १६ हजार ४१० मत पाउनुभएको छ। 

हुम्लाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का छिरिङ् डमडुल लामा (कार्चेन) विजयी हुनुभएको छ । लामाले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दल रावलभन्दा चार हजार ८५५ मत बढी ल्याएर विजयी हुनुभएको हो । लामाले १४ हजार ३७१ मत प्राप्त गर्नुभएको छ भने रावलले नौ हजार ५१६ मत प्राप्त गर्नुभएको छ ।