पुरुषोत्तम सुवेदी
परासी, चैत २० गते । पश्चिम नवलपरासीको एउटा सामान्य परिवारकी रिङ्गला यादवको राजनीतिक यात्रा अहिले नयाँ उचाइमा पुगेको छ । १२ वर्षअघि संसद्मा पुग्ने उहाँको सपना अहिले पूरा भएको छ । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) बाट उहाँ समानुपातिकतर्फ सांसद हुनुभएको छ ।
राजनीतिमा निरन्तर लागेकी उहाँले समाजमा व्याप्त अवरोधलाई पार गर्दै आफ्नो पहिचान स्थापित गर्नुभएको छ । २०७० सालको संविधान सभा निर्वाचनमा तत्कालीन नवलपरासी क्षेत्र नं. ६ बाट नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेकी यादवले त्यतिबेलै राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति देखाउनुभएको थियो ।
यद्यपि त्यो यात्रा सहज थिएन । मधेशी समुदायकी बुहारीलाई सार्वजनिक जीवनमा प्रवेश गर्नु आफैँमा चुनौतीपूर्ण थियो । सामाजिक दबाब, आलोचना र सीमित अवसरबिच उहाँले आफूलाई निरन्तर अगाडि बढाउनुभयो ।
२०६२/६३ सालको जनआन्दोलनमा सक्रिय सहभागितासँगै सुरु भएको उहाँको राजनीतिक यात्रा २०६५ सालमा पाल्ही बहुमुखी क्याम्पसको विद्यार्थी राजनीतिबाट संस्थागत भयो । अनेरास्ववियुमा आबद्ध हुँदै उहाँले स्ववियु निर्वाचनमा उपसभापति पदमा उम्मेदवारी दिनुभयो, जसले उहाँको नेतृत्व क्षमता उजागर ग¥यो । त्यसयता उहाँ सङ्गठनमा निरन्तर सक्रिय रहँदै तीन कार्यकाल एमालेको जिल्ला सदस्य र हाल दोस्रो कार्यकालका लागि जिल्ला उपसचिवको जिम्मेवारी समालिरहनुभएको छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा पाल्हीनन्दन गाउँपालिकाको उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेकी यादवले चुनाव जित्न नसके पनि आफ्नो राजनीतिक पकड बलियो बनाउनुभयो । पार्टीले उहाँको योगदान, निरन्तरता र क्षमताको मूल्याङ्कन गर्दै समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभामा पठाएको हो ।
“मधेशका महिला र बालिका अझै पनि विभेद र कुरीतिबाट पीडित छन्,” यादव भन्नुहुन्छ, “उनीहरूको हकहित र सुरक्षाका लागि संसद्मा मेरो आवाज सधैँ बुलन्द रहने छ ।” उहाँ शिक्षा, स्वास्थ्य, रोजगारी र गरिबी निवारणका मुद्दामा नीतिगत सुधार ल्याउन तथा सरकारलाई जवाफदेही बनाउन सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ।
२०४२ सालमा रामग्राम नगरपालिका–१५, सुक्रौलीमा जन्मिनुभएकी यादवको राजनीतिक यात्रा वैवाहिक जीवनपछि थप उकालो लाग्यो । पवन माध्यमिक विद्यालयबाट एसएलसी र पाल्ही क्याम्पसबाट कक्षा १२ सम्म अध्ययन पूरा गर्नुभएकी यादवको यात्रा केवल व्यक्तिगत सफलता मात्र होइन, यो तराईमधेशका महिलाका लागि प्रेरणाको सन्देश पनि हो । सामाजिक बन्धन र परम्परागत सोचलाई चुनौती दिँदै नेतृत्व तहसम्म पुग्ने उहाँको प्रयासले महिला सहभागिता र सशक्तीकरणको नयाँ सन्देश दिएको छ ।
अब संसद्मा उहाँको उपस्थिति केवल प्रतिनिधित्वमा सीमित रहने छैन, बरु मधेशका आधारभूत समस्या महिला अधिकार, शिक्षा, स्वास्थ्य र रोजगारीका सवाललाई राष्ट्रिय बहसमा ल्याउने अपेक्षा गरिएको छ । “म एउटा समुदायबाट आए पनि अब सम्पूर्ण नेपाली जनताको साझा प्रतिनिधि हुँ,” उहाँ दृढतापूर्वक भन्नुहुन्छ, “सबैको मन जित्ने गरी काम गर्ने मेरो सङ्कल्प छ ।”
समानुपातिकबाट संसद्मा पुगे पनि आफू जिल्लाका समस्यासँग परिचित रहेको भन्दै उहाँले हरेक समस्या समाधानमा आफूले सहजीकरण गर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विशेष गरी महिला सहभागिता र समावेशीताको मुद्दालाई मैले विशेष जोड दिने छु । हरेक क्षेत्रमा उनीहरूको पहुँच सुनिश्चित गराउनेतर्फ मेरो प्रयत्न हुने छ ।”