• १६ चैत २०८०, शुक्रबार

सर्लाही २ मा महिन्द्र राय तेस्रो पटक विजयी,राजेन्द्र महतो पराजित

blog

सर्लाही २ मा निर्वाचित महिन्द्र राय यादव । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, मङ्सिर १० गते । सर्लाही क्षेत्र नम्बर २ बाट (नेकपा माओवादी) केन्द्रका उम्मेदवार महिन्द्र राय यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । 

निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राजेन्द्र महतोलाई दुई हजार ११ मतान्तरले हराउँदै यादव निर्वाचित हुनुभएको हो । यादवले २३ हजार ५२९ मत पाउँदा महतोले २१ हजार ५१८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै, नेकपा एमालेका राजनारायण साहले १४ हजार ८१९ र जनमत पार्टीका नरेश प्रसाद कुशवाहाले छ हजार ५५४ मत प्राप्त गर्नुभएको छ । महिन्द्र राय यादव सर्लाही २ बाट तेस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । 

यादव २०७० र २०७४ सालमा पनि यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । हाल डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आबद्ध यादव माओवादी केन्द्रसँगको सहमति अनुसार माओवादीको हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रनु भएको थियो । 

सर्लाही–२ मा मधेशका दुई जना शीर्षस्थ नेताबीचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको थियो । कडा प्रतिस्पर्धाकाबीच तेस्रो पटक निर्वाचित भएर महिन्द्र राय यादवले यहाँ ‘ह्याट्रिक’ गर्नुभएको छ । 

२०७४ मा धनुषामा नेपाली कांग्रेसका तत्कालीन उपसभापति विमलेन्द्र निधिलाई पराजित गर्नुभएका राजेन्द्र महतो यो पटक भने आफ्नै गृह जिल्ला सर्लाही आएर आफ्ना पूर्व सहकर्मी यादवसँग प्रतिस्पर्धामा उत्रनुभएको थियो ।