• १५ चैत २०८०, बिहिबार

जाजरकोटबाट शक्ति बस्नेत तेस्रो पटक विजयी

blog

सहदेव बस्नेत 

जाजरकोट, मङ्सिर ८ गते । जाजरकोटबाट प्रतिनिधि सभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट (नेकपा माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत विजयी हुनुभएको छ । 

कुल ६५ हजार ६६१ मतमध्ये बस्नेतको पक्षमा ३४ हजार १५१ आएको छ । उहाँले नेकपा एमालेका निरज आचार्यलाई ९ हजार ३१ मतले पराजित गर्नुभएको छ । बस्नेतले जाजरकोटकै इतिहासमा तीन पटक लगातार निर्वाचनमा विजय हासिल गर्ने नेता हुनुभएको छ । 

एमाले नेता आचार्यले २५ हजार १२० मत प्राप्त गर्नुभएको छ । बस्नेत योसँगै तीन पटक संसदीय निर्वाचनमा विजयी हुनुभएको हो । संविधान सभाको दोस्रो निर्वाचन २०७०, २०७४ सालमा भएको निर्वाचनमा बस्नेत निर्वाचित हुनुभएको थियो ।  बस्नेत स्वास्थ्य मन्त्री, गृहमन्त्री र वन तथा वातावरण मन्त्रीसमेत भएर सरकारमा लामो अनुभव गरिसक्नुभएका नेतामा पर्नुहुन्छ ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव रहेका बस्नेत जाजरकोटको ग्रामीण वर्ग सङ्घर्षवाट राजनीति सुरु गरेका नेता हुनुहुन्छ । वि सं २०२८ साल वैशाख ०१ भेरी नगरपालिका– ०१ कालेगाउँमा उहाँको जन्म भएको हो ।

शान्त, शालीन तथा बौद्धिक नेताका रूपमा आफूलाई स्थापित गरेका बस्नेत विवादरहित  हुनुहुन्छ । आफूले जिल्लामा सुरु गरेको समृद्धिको यात्रालाई पूरा गर्ने लक्ष्य लिएको बस्नेत बताउनुहुन्छ । जिल्लामा विकास प्रेमी नेताका रूपमा चिनिनुहुने बस्नेत पार्टी केन्द्रमा समेत पहुँच राख्ने नेताको रूपमा परिचित हुनुहुन्छ । बस्नेतको पहलमा जाजरकोटमा ५० शय्याको जिल्ला अस्पताल, कर्णाली प्रदेशकै जडीबुटी प्रशोधन केन्द्र, भेरी कोरिडोर, मध्यपहाडी लोक मार्ग, लुम्बिनी–रारा लोक मार्ग सञ्चालनमा आएका छन् ।

विजयपश्चात् नेता तथा कार्यकर्तासँग खुसीयाली साट्नुहुँदै नेता बस्नेत । तस्बिर  : सहदेव बस्नेत