पोखरा महानगरमा गठबन्धन र एमालेको उम्मेदवारी दर्ता
पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गर्नुभएको छ।
रुकुम पूर्वमा राप्रपाद्वारा गाउँपालिका र वडाअध्यक्षमा उम्मेदवारी दर्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुकुम पूर्वको सिस्ने गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनबाट काँग्रेसका पाण्डेको उम्मेदवारी
नेपाली काँग्रेसका खेलराज पाण्डेले बुटवल उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी मनोनयन गर्नुभएको छ ।
भरतपुर महानगरको प्रमुखमा एमालेका सुवेदीको मनोनयन
भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट विजय सुवेदीले मनोनयन दर्ता गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उहाँले मनोयन दर्ता गराउनुभएको हो ।
रामेछाप प्रमुखमा श्रेष्ठ र उपप्रमुखमा कार्कीको उम्मेदवार
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)तर्फबाट रामेछाप नगरपालिकामा प्रमुख र उप्रपमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेपालगन्जमा सत्ता गठबन्धनका उम्मेदवारद्वारा उम्मेदवारी दर्ता
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपालगन्जमा सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरुले सोमबार उम्मेदवारी दर्ता गराएका छन् ।
दोलखामा गठबन्धनका साझा उम्मेदवारको मनोनयन दर्ता
बाबुराम शर्मा चरीकोट, वैशाख १२ गते। आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि दोलखाबाट गठबन्धनका साझा उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। नौ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षलगायत ३८८ पदका लागि साझा उम्मेदवारी मनोनयन दर्ता भएको हो। भीमेश्वर नगरपालिका नगरप्रमुखमा ईश्वरनारायाण मानन्धर (नेका) र उपप्रमुखमा सङ्गीता पाख्रिन ( समाजवादी), जिरी नगरपालिकामा नगरप्रमुखमा लाक्पा शेर्पा (नेका) र उपप्रमुखमा गेल्बु शेर्पा (माओवादी) ले मनोनयन दर्ता गराउनुभएको छ। त्यसैगरी कालिञ्चोक गाउँपालिकामा अर्जुनप्रसाद सिवाकोटी (नेका) र उपाध्यक्षमा कुलबहाुर बुढाथोकी ( माओवादी), वैतेश्वर गाउँपालिका अध्यक्षमा छवि लामा (नेका) र उपाध्यक्षमा लक्ष्मण खड्का (माओवादी), तामाकोसी गाउँपालिका अध्यक्षमा प्रोणप्रताप केसी (समाजवादी) र उपाध्यक्षमा सिर्जना सुवेदी (नेका), मेलुङ गाउँपालिका अध्यक्षमा रवीन्द्र कार्की (समाजवादी) र उपाध्यक्षमा भक्तबहादुर तमाङ (नेका), बिगु गाउँपालिका अध्यक्षमा सञ्जीव ओली (माओवादी) र उपाध्यक्षमा आङनिमा शेर्पा (नेका) ले मनोनयन दर्ता गराउनुभएको छ। त्यस्तै गौरीशङ्कर गाउँपालिका अध्यक्षमा विश्वास कार्की (माओवादी) र उपाध्यक्षमा श्यामसुन्दर तमाङ (नेका), शैलुङ गाउँपालिका अध्यक्षमा रिमालबाबु श्रेष्ठ (माओवादी) र उपाध्यक्षमा दावादोर्जे तमाङ (नेका) ले मनोनयन दर्ता गराउनुभएको छ। वडा अध्यक्ष र सदस्यको गठबन्धनमा सहमति नभएपछि अहिले मनोनयन दर्ता गराउने र पछि उम्मेदवारी फिर्ता लिने सहमति भएको नेपाली काँग्रेस जिल्ला सभापति बर्मा लामाले जानकारी दिनुभयो।
धनगढी उपममहानगरमा गठबन्धन र एमालेको उम्मेदवारी दर्ता
सत्तारुढ गठबन्धनको तर्फबाट धनगढी उपमहानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले सोमबार उम्मेदवारी दर्ता गराउनु भएको छ।
गठबन्धनबाट विराटनगर प्रमुखमा कोइराला, उपप्रमुखमा यादवको मनोनयन दर्ता
स्थानीय तहको निर्वाचनका लागि मनोनयनको दोस्रो तथा अन्तिम दिन विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट नागेश कोइरालाले प्रमुख पदमा मनोनयन दर्ता गराउनुभएको छ ।
भक्तपुर नगर प्रमुखमा राप्रपाका लाखाजू र उपप्रमुखमा लक्ष्मीको उम्मेदवारी दर्ता
भक्तपुर, वैशाख १२ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको तर्फबाट भक्तपुर नगरपालिका प्रमुखमा बद्री लखाजूले उम्मेदवारी दर्ता गराउनुभएको छ। भक्तपुर दरबार क्षेत्रमा रहेको भक्तपुर नगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो। त्यसैगरी राप्रपाको तर्फबाट भक्तपुर नगर उपप्रमुखमा लक्ष्मी छुस्याबागले उम्मेदवारी दर्ता गराउनुभएको छ। गठबन्धन, नेकपा (एमाले)लेसमेत उम्मेदवारी दर्ताको तयारी गरेका छन्। नेकपा (माओवादी केन्द्र)ले गठबन्धन तोडेर छुट्टै उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ। भक्तपुरका जिल्ला निर्वाचन अधिकारी नरेन्द्र न्यौपानेका अनुसार भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुरथिमि नगरपालिका, चाँगुनारायण नगरपालिकामा उम्मेदवारी दर्ता गराउने क्रम जारी छ।
निवर्तमान प्रमुख चिरीबाबु महर्जनको उम्मेदवारी दर्ता
ललितपुर महानगरपालिकाको प्रमुख पदमा सत्तापक्षीय गठबन्धनमा नेपाली काँग्रेसबाट चिरीबाबु महर्जनले र नेकपा (माओवादी केन्द्र)बाट बाबुराजा ब्रजाचार्यले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न आयुक्त तुलाधरको निर्देशन
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख १२ गते । स्थानीय तह सदस्य निर्वाचन मनोनयन दर्ताको दोस्रो दिन निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले आयोगले सम्पेको जिम्मेवारी कुशलतापूर्वक वहन गर्न निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारी तथा सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ । सोमबार तारकेश्वर नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुहुँदै उहाँले सो निर्देशन दिनुभएको हो । निर्वाचन अधिकृत चपला पोखरेलकाअनुसार तारकेश्वर नगरपालिका धर्मस्थली काठमाडौंमा रहेको निर्वाचन अधिकृतको कार्यालयको उहाँले अनुगमन तथा निरीक्षण गर्नुभएको हो । आयुक्त डा. तुलाधरले निर्वाचन अधिकृतको कार्यालय, मनोनयनदर्ताको लागि गरिएको तयारीबारे जानकारी लिनुहुँदै आवश्यक सहयोग र समन्वयका लागि आयोगमा सम्पर्क राख्न आग्रह गर्नुभयो । सोहीअनुसार आयुक्त डा. तुलाधरले काठमाडौं उपत्यकाका प्रायः सबैजसो निर्वाचन अधिकृतको कार्यालयमा महिला निर्वाचन अधिकृतहरुलाई खटाइएकोमा खुशी व्यक्त गर्नुभयो । आयोगले दिएको जिम्मेवारी पूर्ण बफादार भई कुशलतापूर्वक सम्पन्न गर्न गराउन निर्देशन पनि उहाँले दिनुभयो । निर्वाचन आचारसंहिता पालनामा कडाई गर्न निर्वाचन अधिकृतको कार्यालय, प्रहरी प्रशासन एवम् सुरक्षाकर्मीलाई उहाँले निर्देशन दिनुभयो । सो अवसरमा निर्वाचन अधिकृत पोखरेलले निर्वाचन कार्यालय अन्तर्गतका मतदान केन्द्र र निर्वाचनसँग सम्बन्धित हालसम्म भएका कार्यप्रगतिबारे जानकारी गराउनुभएको थियो ।
काठमाडौं महानगर प्रमुखमा काँग्रेसका सिंहको उम्मेदवारी
नेपाली काँग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सिर्जना सिंहले उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा पुगेर उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
गठबन्धनबाट घोराहीको प्रमुखमा शर्मा र उपप्रमुखमा डाँगीद्वारा उम्मेदवारी दर्ता
घोराही, वैशाख १२ गते । स्थानीय तह निर्वाचनका लागि घोराही उपमहानगरपालिकाको प्रमुखमा हेमराज शर्मा र उपप्रमुखमा भूपबहादुर डाँगीले उम्मेदवारी दर्ता गर्नुभएको छ । गठबन्धनमा भएको सहमतिअनुसार प्रमुख पदमा माओवादीबाट शर्मा र उपप्रमुख पदमा नेपाली काँग्रेसबाट डाँगीले उम्मेदवारी दर्ता गर्नुभएको हो । उम्मेदवारी दर्ताका लागि घोराहीस्थीत नेपाली काँग्रेसको पार्टी कार्यालयबाट शर्मा र डाँगी बाजागाजासहितको ¥यालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो । उम्मेदवारी दर्ताका लागि गठबन्धनका तर्फबाट नेपाली काँग्रेस राष्ट्रियसभा मुख्य सचेतक अनिता देवकोटा, नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रेखा शर्मालगायतका नेताहरु ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो । उम्मेदवारी दर्तापछि मेयरका उम्मेदवार शर्माले घोराहीको समग्र विकाससँगै सुशासन स्थापनाका लागि आफूले उम्मेदवारी दर्ता गरेको बताउनुभएको थियो । उहाँले घोराहीलाई समृद्ध सहर बनाउन कृषि उत्पादन, स्वास्थ्य, शिक्षा, पर्यटनसँगै आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेको बताउनुभएको थियो । सत्ता गठबन्धनबाट घोराही उपमहानगरको मेयरमा माआवादी केन्द्र र उपप्रमुखको पद काँग्रेसको भागमा परेको थियो । उपप्रमुखमा उम्मेदवारी दिएका डाँगी घोराहीको प्रमुखमा आकाङ्क्षी थिए ।
मन्थली नगरपालिकामा भयाे एमालेकाे उम्मेदवारी दर्ता
नवराज श्रेष्ठ रामेछाप, वैशाख १२ गते । स्थानीय तह निर्वाचनको लागि रामेछापको मन्थली नगरपालिकामा एमालेका उम्मेदवारले सोमबार मनोनयन दर्ता गराएका छन् । नगरपालिकाको प्रमुखमा लब श्रेष्ठ र उपप्रमुखमा इश्वरी बस्नेतले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गर्नको लागि नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य माधव ढुङ्गेल, गीता कार्की, एमाले मन्थली नगर पार्टी अध्यक्ष रामबाबु घिमिरेलगायतका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएको थियो । मन्थली बजारबाट बाजागाजासहित एमालेका नेताहरू उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएको थियो ।१४ वटा वडा रहेको मन्थली नगरपालिकामा एमालेले वडा नं १ मा दिनेश सुवेदी, २ मा सुरेन्द्र कार्की, ३ मा कृष्णगोपाल थापा, ४ मा शुक्रबहादुर श्रेष्ठ, ५ मा गणेश कार्की, ६ मा शङ्कर थापा, ७ मा देवेन्द्र श्रेष्ठ र ८ मा गोपाल श्रेष्ठ उम्मेदवार बन्नुभएको छ । यसै गरी वडा नं ९ मा गोकर्णराज आरण, १० मा रामहरि चौहान , ११ मा कृष्णबहादुर पुलामी भूपाल, १२ मा खुसहरि बुढाथोकी, १३ मा नवराज थापामगर र १४ मा मोतीलाल तामाङ उम्मेदवार बन्नुभएको छ । उम्मेदवारी दर्ता गरेपछि नगरप्रमुखका उम्मेदवार लब श्रेष्ठले सबैको सहयोग र सद्भावबाट आफूले चुनाव जित्ने विश्वास व्यक्ति गर्नुभयो । सबैको भावनालाई सम्बोधन गरी मन्थली नगरपालिकाको विकासमा जुट्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
१६ हजारको उम्मेदवारी दर्ता, निर्वाचन अधिकृतको कार्यालयमा भीड
निर्वाचन आयोगले सोमबार मध्याह्न १२ बजेसम्म उम्मेदवारी मनोनयनको विवरण सार्वजनिक गर्दै १६ हजार ५६८ उम्मेदवारी परेको जनाएको छ ।
मुसीकोट नगर प्रमुख र वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता
राजु लामिछानेरुकुम पश्चिम, वैशाख १२ गते । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको प्रमुख र वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट मुसीकोट १ को वडाध्यक्षमा निर्वाचित वीरबल केसीले नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केसीले नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।त्यसैगरी, वडा नम्बर १ को अध्यक्षका लागि पनि स्वतन्त्रबाट उम्मेदवारी परेको छ । मुसीकोट नगरपालिका १ का कालिबहादुर महताराले वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनुभएको हो । उहाँ नेपाली काँग्रेसको भ्रातृसङ्गठन तरुण दलका मुसीकोट नगर निर्वाचन परिचालन समितिका संयोजक हुनुहुन्छ । नेपाली काँग्रेसले मुसीकोट नगरपालिकाको प्रखुमको लागि महेन्द्र केसी, उप प्रमुखमा निर्मला गिरी र वडा नम्वर १ को वडा अध्यक्षमा ज्ञानुचन्द्र चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
ललितपुर महानगर प्रमुखमा १० जनाको उम्मेदवारी
ललितपुर महानगरपालिकाको प्रमुख पदमा १० जनाको उम्मेदवारी परेको छ ।
एमालेका स्थापित र राप्रपाका श्रेष्ठको उम्मेदवारी दर्ता
नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा केशव स्थापितले उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार राष्ट्रिय सभागृहमा पुगेर उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो । साथै उपप्रमुखमा सुनिता डङ्गोलले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ ।
छ दिनमै एमाले परित्याग गर्नुभएका साहद्वारा प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुहुँदै
जनकपुरधाम, वैशाख १२ गते । स्थानीय तह निर्वाचन अन्तर्गत मनोनयन दर्ता गराउने अन्तिम दिन जानकीराम साहले नेकपा एमाले पार्टी परित्याग गरेपछि स्वतन्त्र उम्मेदवार हुने भएको छ ।जनकपुरधाम उपमहानगरको उपप्रमुखको टिकट पाउने आश्वासन पाएर उहाँ छ दिनअघि लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको थियो । जनकपुरधाम उपमहानगरमा एमालेले शिवशंकर साह हीरालाई प्रमुखको टिकट दिएपछि जानकीरामले एमाले परित्याग गरेको बुझिएको छ । पार्टी परित्याग गर्नुभएका जानकीरामले स्वतन्त्रबाट प्रमुखकाे लागि उम्मेदवारी दिने तयारीमा जुट्नुभएकाे छ । पार्टी परित्याग गरी स्वतन्त्रबाट प्रमुखको उम्मेदवारी दिन लाग्नुभएका जानकीरामले नवगठित तराई मधेस लोकतान्त्रिक पार्टीले टिकटका लागि प्रस्ताव गरेको बताउनुहुँदै उहाँले अव कुनै पनि राजनीतिक दलबाट उम्मेदवारी नदिने जानकारी दिनुभयो ।
टुङ्गाे लाग्याे अर्घाखाँचीमा गठबन्धनकाे उम्मेदवार
गणेश खनालअर्घाखाँची, वैशाख १२ गते । गठबन्धनले उम्मेदवार टुङ्ग्याएको छ । काँग्रेसले आफ्नो भागमा परेको पाँच स्थानीय तहमा काँग्रेसले उम्मेदवार चयन गरेको हाे।सन्धिखर्क नगरपालिका प्रमुखमा काँग्रेस लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी र शीतगंगा नगरपालिका प्रमुख छविलाल पौडेललाई उम्मेदवार बनाएको छ । कांग्रेस–माओवादी गठबन्धनमा उपप्रमुख जितेको भूमिकास्थान नगरपालिकामा याे पटक कांग्रेसले उम्मेदवार पाएन । नगरप्रमुख राजमो र उपप्रमुख माओवादीलाई भाग परेको छ ।त्यस्तै, छत्रदेव गाउँपालिका अध्यक्षमा चन्द्रमान श्रेष्ठ, उपाध्यक्षमा इन्दिरा भुसाल, पाणिनि गाउँपालिका अध्यक्षमा अच्युत गौतम र उपाध्यक्षमा लक्ष्मी गौतमलाई चयन गरेको छ । श्रेष्ठ र भुसाल नयाँ अनुहार हुन् । पाणिनिका दुई गौतमलाई पुनः दोहोरिएका हुन् । मालारानी गाउँपालिका उपाध्यक्षमा शोभाखर खनाललाई उम्मेदवार बनाएको छ । जसपा गठबन्धनबाट बाहिरिएको छ ।पाणिनि गाउँपालिका र छत्रदेव गाउँपालिका काँग्रेस एक्लै भिड्ने भएको छ । माओवादीले सन्धिखर्क नगरपालिका उपप्रमुखमा राजेन्द्र भुसाल, शीतगंगा नगरपालिकाको उपप्रमुखमा टिका रेस्मी, भूमिकास्थान नगरपालिकाको उपप्रमुखमा बालकृष्ण बजान्डे र मालारानी गाउँपालिकाको अध्यक्षमा पदम क्षेत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एसले केही वडा अध्यक्ष र सदस्यहरु पाएको छ । एमालेले केही दिन अगाडि उम्मेदवार टुङ्गाे लागिसकेको छ ।
पाल्पामा गठबन्धनले टुङ्ग्यायो उम्मेदवार
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले पाल्पाले स्थानीय तहमा आफ्नो पार्टीबाट उम्मेदवारको टुङ्गो लगाएको छ ।
चौरजहारीमा माओवादी केन्द्रका उम्मेदरवारद्वारा उम्मेदवारी दर्ता
स्थानीय तह निर्वाचनअन्तर्गत रुकुम पश्चिमको चौरजहारीमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएको छ ।
निर्वाचन आयुक्तद्वारा चन्द्रागिरि निर्वाचन अधिकृतको कार्यालय निरीक्षण
गोरखापत्र अनलाइन काठमाडौं, वैशाख १२ गते । स्थानीय तह सदस्य निर्वाचन मनोनयन दर्ताको दोस्रो दिन निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले सोमबार चन्द्रागिरि नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण गर्नुभएको छ । निर्वाचन अधिकृत सिर्जना थपलियाकाअनुसार चन्द्रागिरि नगरपालिकाको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको हो । आयुक्त डा. तुलाधरले निर्वाचन अधिकृतको कार्यालय, मनोनयनदर्ताको लागि गरिएको तयारीबारे जानकारी लिनुभयो । । सोहीअनुसार उहाँले मतदानपछि हुने मतगणनाका लागि तय गरिएको स्थानको समेत निरीक्षण गर्नुभएको थपलियाले जानकारी गराउनुभयो । सो अवसरमा आयुक्त डा. तुलाधरले उम्मेदवारी दर्ता गर्ने क्रममा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा महिलालाई प्राथमिकतामा राखेर मनोनयन दर्ताको व्यवस्था मिलाउन निर्देशन दिनुभएको निर्वाचन अधिकृत थपलियाले जानकारी गराउनुभयो । मनोनयन दर्ता प्रक्रियालाई सहज र चुस्त बनाउन भूमिका खेल्न उहाँले निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।