• २० वैशाख २०८१, बिहिबार

भरतपुर महानगरको प्रमुखमा एमालेका सुवेदीको मनोनयन

blog

चितवन, वैशाख १२ गते । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट विजय सुवेदीले मनोनयन दर्ता गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उहाँले मनोयन दर्ता गराउनुभएको हो ।

पार्टी कार्यालयबाट नेता कार्यकर्तासहित भेला भएर र्‍यालीसहित सुवेदी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो । सुवेदीको प्रस्तावकमा नेकपा एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवाली र समर्थकमा एमाले नेता कृष्णभक्त पोखरेल रहनुभएको छ ।

मनोनयनपछि सुवेदीले चितवनले राजनीतिक आन्दोलनको नेतृत्व गरेको भन्दै अब आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताउनुभयो । मनोनयन दर्ता गर्नुअघि सुवेदीले पार्टी कार्यालय पसिरमा रहेको मदन भण्डारी र जीवराज आश्रित तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल गएर बिपी कोइरालाको शालिकमा माल्यापर्ण गर्नुभएको थियो ।