• १६ चैत २०८०, शुक्रबार

संस्कृतिका संरक्षणमा विशेष ध्यान दिनुपर्छ : अध्यक्ष नेपाल

blog

काठमाडौँ,  फागुन  ९ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा रहेका विभिन्न समुदायका मौलिक चाडपर्व र संस्कृतिका संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।  

ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता रहेको नेपाली समाजमा विभिन्न जातजातिका समुदायले परम्परागतरूपमा मनाउँदै आएको पर्व संस्कृतिले देशलाई सांस्कृतिकरूपमा सम्पन्न बनाएको बताउनुभयो ।

उहाँले विविध जात, भाषा र संस्कृतिले नेपाली समाजलाई एकापसमा एकताबद्ध गर्नका साथै मानव सभ्यतासँग जोडिएका यस्ता पर्वको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका माध्यमबाट सामाजिक न्याय, समानता कायम भई हिमाल, पहाड र तराईका जनताको एकतालाई बलियो बनाउने र सबैको साझा प्रयासबाट हुने विकास र समृद्धिले राष्ट्र निर्माणमा योगदान पुग्ने भनिएको छ ।

चाडपर्वले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गरी एकआपसमा पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्ने सन्देशमा उल्लेख गरिएको छ । रासस