• १३ साउन २०८१, आइतबार

काठमाडौं महानगरपालिका

एमालेका स्थापित र राप्रपाका श्रेष्ठको उम्मेदवारी दर्ता

blog

तस्बिर : मनोजरत्न शाही

सपना थामी–आशा साह
काठमाडौं, वैशाख १२ गते ।
नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा केशव स्थापितले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

सोमबार राष्ट्रिय सभागृहमा पुगेर उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो । साथै उपप्रमुखमा सुनीता डङ्गोलले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ ।

स्थापित र डङ्गोल दिउँसो बाजागाजासहित उम्मेदवारी मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुग्नुभएको हो । स्थापित काठमाडौं महानगरको पूर्व प्रमुख तथा प्रदेशसभा सदस्य समेत भइसक्नुभएको छ ।


यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएको छ ।

राप्रपाका तर्फबाट प्रमुख पदमा मदन दास श्रेष्ठ र उपप्रमुखमा विनीता मगैयाले मनोनयन गर्नुभएको छ ।

सहायक निर्वाचन अधिकृत कुमार श्रेष्ठका अनुसार मध्याह्न १२ बजेसम्म प्रमुखमा २५ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा स्वतन्त्र १६ जना र पार्टी गत नौ जना छन् ।

त्यसैगरी, प्रमुख पदमा पाँच जना महिलाको उम्मेदवारी परेको छ भने २० जना पुरुष छन् । त्यसैगरी, उपप्रमुख पदमा अहिलेसम्म स्वतन्त्र १४ र पार्टीगत पाँच गरी १९ जनाको उम्मेदवारी परेको छ । जसमा पाँच महिला र १४ पुरुष छन् ।

महिला सदस्य, दलित सदस्यलगायतका हालसम्म २३ जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो ।

उम्मेदवारी दर्ताका लागि अहिले राष्ट्रिय सभागृहमा भीड निकै बढेको छ ।