• १३ साउन २०८१, आइतबार

जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न आयुक्त तुलाधरको निर्देशन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १२ गते । स्थानीय तह सदस्य निर्वाचन मनोनयन दर्ताको दोस्रो दिन निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले आयोगले सम्पेको जिम्मेवारी कुशलतापूर्वक वहन गर्न निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारी तथा सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ । सोमबार तारकेश्वर नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुहुँदै उहाँले सो निर्देशन दिनुभएको हो । 

निर्वाचन अधिकृत चपला पोखरेलकाअनुसार तारकेश्वर नगरपालिका धर्मस्थली काठमाडौंमा रहेको निर्वाचन अधिकृतको कार्यालयको उहाँले अनुगमन तथा निरीक्षण गर्नुभएको हो । आयुक्त डा. तुलाधरले निर्वाचन अधिकृतको कार्यालय, मनोनयनदर्ताको लागि गरिएको तयारीबारे जानकारी लिनुहुँदै आवश्यक सहयोग र समन्वयका लागि आयोगमा सम्पर्क राख्न आग्रह गर्नुभयो । 

सोहीअनुसार आयुक्त डा. तुलाधरले काठमाडौं उपत्यकाका प्रायः सबैजसो निर्वाचन अधिकृतको कार्यालयमा महिला निर्वाचन अधिकृतहरुलाई खटाइएकोमा खुशी व्यक्त गर्नुभयो । आयोगले दिएको जिम्मेवारी पूर्ण बफादार भई कुशलतापूर्वक सम्पन्न गर्न गराउन निर्देशन पनि उहाँले दिनुभयो । निर्वाचन आचारसंहिता पालनामा कडाई गर्न निर्वाचन अधिकृतको कार्यालय, प्रहरी प्रशासन एवम् सुरक्षाकर्मीलाई उहाँले निर्देशन दिनुभयो ।  

सो अवसरमा निर्वाचन अधिकृत पोखरेलले निर्वाचन कार्यालय अन्तर्गतका मतदान केन्द्र र निर्वाचनसँग सम्बन्धित हालसम्म भएका कार्यप्रगतिबारे जानकारी गराउनुभएको थियो ।