अधिकांश स्थानीय तहमा गठबन्धन सफल
स्थानीय तह निर्वाचनमा वडा तहसम्म चुनावी एकता गरेका पाँच दलीय गठबन्धन अधिकांश स्थानीय तहमा सफल भएको छ । जिल्लाको १० वटा स्थानीय तह र ८५ वटा वडामध्ये अधिकांश पालिका र वडा गठबन्धनका साझा उम्मेदवारले जितेका हुन् ।
खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित
हरिकृष्ण ऐडीमुगु, जेठ ४ गते । मुगुको खत्याड गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का अजबहादुर शाही बिजयी हुनुभएको छ । उपध्यक्षमा नेपाली काँग्रेसकी सरिता रोकाया निर्वाचित हुनुभएको छ । खत्याड निर्वाचन कार्यालयका निर्वाचन अधिकृत डा. बाबुराम ढुङ्ग्यानाका अनुसार अध्यक्ष पदमा उम्मेदवार शाहीले ३ हजार ५ सय २१ मत ल्याएर ५ बर्षका लागि प्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँको प्रतिद्वन्दी नेकपा (एमाले) का लालबहादुर मल्ल ले २ हजार ६ सय २१ मत ल्याएर पराजित हुनुभयो । यस्तै गठबन्धनको तर्फबाट उपाध्यक्षमा काँग्रेसकी सरिता रोकायाले ४ हजार ५ सय ४८ मत ल्याएर बिजयी हुनुभएको छ । प्रतिद्वन्दी एमालेकी कविता गिरिले २ हजार ४ सय ९९ मत प्राप्तगरी पराजित हुनुभयो । ११ वडा रहेको खत्याड गाउँपालिकामा एमालेले ३ वटा, कांग्रेसले ३ वटा र यसैगरी माओवादीले ५ वटा वडामा जित हात पारेको छ । ०७४ को स्थानीय तह निर्बाचनमा एमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडामा जितेको थियो ।
आठबिस नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी
जिल्लाको आठबिस नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार तर्कबहादुर बडुवाल नगर प्रमुख र उपप्रमुखमा कल्पना थापा विजयी हुनुभएको छ ।
रामगोपालपुर नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी
महोत्तरीको रामगोपालपुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाल कम्प्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विजयी भएका छन् । रामगोपालपुर नगरपालिकाको प्रमुखमा एमालेका रामदुलार साह र रिना देवी यादव विजयी हुनुभएको छ ।
चितवनको कालिका नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी
चितवनको कालिका नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विनोद रेग्मी निर्वाचित हुनुभएको छ । उहाँले गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार शिवराम केसीलाई १४३ मतले पराजित गर्नुभएको हो ।
देवदहको प्रमुख उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजयी
छविलाल पाण्डे बुटवल, जेठ ४ गते । रुपन्देहीको देवदह नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का उम्मेदवार ध्रुव खरेल निर्वाचित हुनुभएको छ । एमालेको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार बन्नुभएका खरेलले नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बन्नुभएका निवर्तमान नगर प्रमुख हिरा खत्रीलाई १ हजार ६ सय २० मत अन्तरले पराजित गर्नुभयो । खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३२३ मत पाउनुभयो । खरेलसँग पराजित हुनुभएका खत्री २०७४ सालको निर्वाचनमा एमालेका टीकाराम चापागाईलाई पराजित गरी नगर प्रमुख निर्वाचित हुनुभएको थियो ।त्यसैगरी नगर उपप्रमुखमा पनि एमालेकै बिद्यालक्ष्मी गुरुङ निर्वाचित हुनुभएको छ । २०७४ सालमा उपप्रमुख निर्वाचित गुरुङले गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीलाई ६ हजार ४९४ मतान्तरले पराजित गर्नुभयो ।
मोहन्याल गाउँपालिका अध्यक्षमा माओवादीका उपाध्याय विजयी
कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का देवीदत्त उपाध्याय (हिमशिखर) विजयी हुनुभएको छ । गठबन्धनबाट चुनाव लड्नु भएका उपाध्यायले नेकपा (एमाले) का उम्मेदवार धर्म थापालाई ४०९ मतान्तरले पछिपार्दै विजयी हुनुभएको हो ।
गम्भीर त्रुटि गर्ने कर्मचारीको विवरण पठाउन आयोगको निर्देशन
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ ४ गते । निर्वाचन प्रक्रियामा जानी जानी गम्भीर त्रुटि र गल्ती गर्ने कर्मचारीको विवरण निर्वाचन आयोगमा पठाउन आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलद्वारा बुधबार जारी विज्ञप्तिमा सो निर्देशन दिइएको हो । स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका, २०७८ का व्यवस्थाको प्रतिकुल हुनेगरी काम गर्ने कर्मचारीको आयोगले विवरण माग गरेको छ । मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्धकट्टीसहित मतपत्र दिने, अर्धकट्टीमा दस्तखत नगराउने, स्ट्याम्प प्याडको सट्टामा अर्कै मसी प्रयोग गराउने, मतपत्र र मतदाताको सही विवरण तयार नगर्ने, मतपत्रमा मतसङ्केत गर्न रबरको स्वस्तिक छाप दिनुपर्नेमा पित्तलको स्वस्तिक छाप दिनेजस्ता त्रुटि भएको देखिएको आयोगको भनाइ छ ।“सही किसिमले मुचुल्का तयार नगर्ने, सुरक्षण सिलहरू सही ढङ्गले नलगाउने, पोलबुकमा स्पष्ट विवरण नराख्ने, मतदाता नामावली विवरणमा स्पष्ट रेजा नलगाउने, मतगणना गर्दा आएको सङ्ख्या र कम्प्युटरमा प्रविष्ट सङ्ख्या फरक पार्ने, मतगणना सम्पन्न भएपछि घोषणा गर्न ढिलाइ गर्ने, स्थानीय तह निर्वाचन (मतगणना) निर्देशिका, २०७८ विपरीत मतपत्र सदर वा वदरको निर्णय गर्ने आदि गम्भीर प्रकृतिका गल्तीहरू गरेको देखिएका छन्” विज्ञप्तिमा उल्लेख छ । मतदान कार्यमा खटिएका जिम्मेवार मतदान अधिकृतबाट भएका यस्ता गल्तीहरूले निर्वाचनमा विवाद उत्पन्न भई निर्वाचन अवरुद्ध हुने, स्थगित हुने र मतगणना समेत प्रभावित हुने अवस्था आएको आयोगले प्रष्ट पारेको छ । “यसप्रकारका गम्भीर त्रुटि गल्ती गर्ने मतदान अधिकृत र संलग्न अन्य कर्मचारीको नाम, थर, पद, कार्यरत कार्यालयको नाम र ठेगाना, कर्मचारी संकेत नम्बर, खटिएको मतदान केन्द्रको नाम र ठेगाना सबै विवरण खुलाई आयोगमा पठाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ” विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन प्रक्रियामा भ्रम उत्पन्न हुने समाचार सम्प्रेषण नगर्न आग्रह
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ ४ गते । निर्वाचन पद्धति र प्रक्रियामा भ्रम उत्पन्न हुनेखालका समाचार सम्प्रेषण नगर्न नगराउन निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्नुहुँदै सो आग्रह गर्नुभएको हो ।“निर्वाचान सञ्चालनका सबै प्रक्रियामा आयोगको समग्र जिम्मेवारी रहेकोप्रति कुनै द्विविधा नरहेको सन्दर्भमा केही सञ्चारमाध्यममा आएका अन्यथा अर्थ लाग्ने आशयको समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ” विज्ञप्तिमा भनिएको छ, ”निर्वाचन पद्धति र प्रक्रियामा भ्रम उत्पन्न हुनेखालका समाचार सम्प्रेषण नगर्न नगराउन आयोग आग्रह गर्दछ । आयोगको गरिमा र निर्वाचन प्रक्रियाप्रति नै अविश्वास हुनेगरी समाचार सम्प्रेषण नगर्न, नगराउन आयोग सबैमा हार्दिक अनुरोध गर्दछ ।”यथासमयमा मतगणना सम्पन्न होस् भन्ने सबैको चाहनालाई छिटो कार्य सम्पादन गर्न पनि आयोगले आग्रह गरेको छ । आज मध्यान्हसम्म चार सय ६० पालिकाको अन्तिम परिणाम प्राप्त भइसकेको पनि आयोगले प्रष्ट पारेको छ । अन्य ठाउँको मतपरिणाम आउनेक्रम जारी रहेको आयोगले बताएको छ । परिणाम आउन बाँकी पालिकामा मतगणना कार्य २०७९ जेठ ५ गतेसम्म सम्पन्न गर्न आयोगका तर्फबाट अधिकतम् प्रयास भइरहेको जनाउँदै प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “धेरै मत गणना गर्नुपर्ने अवस्था रहेको महानगर र उपमहानगरपालिकाहरुका हकमा बढीभन्दा बढी मतगणना टोली व्यवस्था गरी तोकिएको समयभित्र मतगणना कार्य सम्पन्न गर्न यसअघि नै आयोगबाट भएको निर्देशनलाई आयोग पुनः स्मरण गराउन चाहन्छ ।” पाँच दिनभित्र मतगणना सक्न निर्देशनविभिन्न कारणबाट मतदान कार्य स्थगन भएका पालिकाहरुलाई पाँच दिनभित्र गणना कार्य सम्पन्न गर्न निर्देशन दिएको छ । आयोगको संवैधानिक जिम्मेवारी एवम् मितव्ययीरुपमा निर्वाचन सम्पन्न गराउने दायित्व र जिम्मेवारीलाई पूर्णरुपमा सफल पार्न सबै राजनीतिक दल, उम्मेदवार, आमसञ्चार जगत, नागरिक समाजलगायत सबै सरोकारवालाको उत्तिकै साथ र सहयोग अपरीहार्य रहने आयोगले प्रष्ट पारेको छ ।विद्यमान कानूनी व्यवस्थाबमोजिम बहालवाला स्थानीय जनप्रतिनिधिहरुको पदावधि यही जेठ ५ गतेसम्म रहेको र तत्पश्चात स्थानीय तह सरकारमा जनप्रतिनिधि विहीनता हुने अवस्थालाई मध्यनजर गरी जेठ ५ गतेभित्र नै मतगणना सम्पन्न गर्न आयोगले भनेको छ । “मतगणना कार्यमा सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भइ मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्नेजस्ता समस्याहरु खडा गर्ने, गणना गर्दैजाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो मतान्तर देखिएमा शुरुदेखि नै पुनः मतगणना गराउन खोज्नेजस्ता कार्यबाट मतगणना यथासमयमा सम्पन्न गर्ने कार्यमा व्यवधान उत्पन्न हुने हुँदा त्यस प्रकारका व्यवहार प्रदर्शन नगर्न आयोग हार्दिक आग्रह गर्दछ” विज्ञप्तिमा उल्लेख छ ।
बाह्रदशी गाउँपालिकामा एमालेका उम्मेदवार विजयी
विष्णुप्रसाद पोखरेलदमक, जेठ ४ गते । झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेद्वारहरु विजयी हुनुभएको छ । अध्यक्षमा देवेन्द्र चम्लागाई र उपाध्यक्षमा शान्ता खरेल निर्वाचित हुनुभएको हो । अघिल्लो स्थानीय निर्वाचनमा दुबै पद काँग्रेसले जितेको थियो ।एमालेले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित वडा ६ मा प्यानलै जितेको छ । वडा १, २, ३, ७ काँग्रेस, ४ स्वतन्त्र र ५ नम्बर वडा राप्रपाले जितेको निर्वाचन अधिकृतको कार्यालय बाह्रदशीले जनाएको छ ।चम्लागाईले ७ हजार १४८ मत ल्याई अध्यक्ष पदमा विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी निवर्तमान अध्यक्ष काँग्रेसका खड्गप्रसाद राजवंशीले ४ हजार ३६१ मत ल्याउनुभएको छ । यसैगरी उपाध्यक्षमा एमालेकी शिवाकोटीले ६ हजार ६३६ मत ल्याई निर्वाचित बन्नुभयो । निकटतम प्रतिस्पर्धी राप्रपाकी कमला राजवंशीले ४ हजार १९५ मत पाउनुभयो ।
धुलिखेलको मत गणना कार्य रोकियो
केदार तिमल्सिना बनेपा, जेठ ४ गते । स्थानीय तह निर्वाचन अन्तर्गत काभ्रेको धुलिखेल नगरपालिकाको मतगणना गर्ने क्रममा निर्वाचन आयोगले जारी गरेको मतगणना निर्देशिका अनुसार नभएको भन्दै विरोध भएपछि धुलिखेलमा जारी मतगणना कार्य रोकिएको छ । स्थानीय तह निर्वाचन मतगणना (पहिलो संशोधन) निर्देशिका २०७९ अनुसार मत गणना कार्य नहुँदा मतगणना कार्य बीचैमा रोकिएको बताइएको छ । धुलिखेल नगरपालिका–९ को मत गणना सुरु हुनुअघि मुख्य निर्वाचन अधिकृत समेत रहनुभएका निर्वाचन अधिकृत मोहनराज भट्टराईले मतपत्रको छैटौँ नम्बरमा रहेका खुल्ला सदस्यको मत सदर हुने विषयमा सर्वदलीय बैठक बोलाएपछि गणना कार्य रोकिएको हो । मंगलबार साँझदेखि रोकिएको मतगणना कार्य अझै सुचारु हुन सकेको छैन । स्थानीय तह निर्वाचन मतगणना (पहिलो संशोधन) निर्देशिका २०७९को परिच्छेद २६ (छ) मा उल्लेख भएअनुसार सुरुदेखि नै मतगणना नगरेका कारण समस्यमा आएको बताइएको छ । उक्त बुँदामा एकभन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा मत सङ्केत चिन्ह पर्नेगरी मत सङ्केत गरिएमा उक्त मत बदर हुने उल्लेख छ । सो बुँदाअनुसार मतगणना नहुँदा मत गणनाका क्रममा समस्या आएको गणनामा सहभागीको भनाइ छ । आयोगको बैशाख ३० गतेको थप निर्देशनमा मतपत्रको छैटौँ नम्बरमा रहेको खुला सदस्य पदमा उम्मेदवारी दिएको र उम्मेदवारी नदिएको पार्टीमा छाप लगाएको खण्डमा उम्मेदवारी दिएको पार्टीको मत सदर हुने व्यवस्था छ । तर धुलिखेलमा खुल्ला सदस्यमा मात्रै नभई सबै पदमा सोही अनुसार मत गणना गरिएपछि विवाद चुलिएको छ ।धुलिखेलका सहायक मतदान अधिकृत शेषराज दाहालले आयोगको थप निर्देशनको बारेमा सर्वदलीय बैठकमा कुरा राखिएको भएपनि त्यस बारेमा कुनै दलका प्रतिनिधिले प्रश्न नगरेका कारण सोहीअनुरुप सबै पदमा मतगणना गरिएको बताउनुभयो । ‘हामीले सबै पदमा यसरी नै मतगणना गरेका थियौँ, जुन निर्देशिका विपरित रहेछ, हिजो (मङ्गलबार) पाँचखालमा पनि सोहीअनुरुप मतगणना गर्न लागेपछि नियम विपरित भएको थाहा पाएपछि हामीले सर्वदलिय बैठक राख्न खोजेका हौँ, दलहरु आउनुभएको छैन’ सहायक मतदान अधिकृत दाहालले भन्नुभयो, ‘हामीले आयोगलाई पत्र लेखेर धुलिखेलको समस्या समाधानको अनुरोध गरेका छौँ’ । गठबन्धनमा रहेका दलहरुले यसअघि सर्वदलीय बैठकअनुसार धुलिखेल वडा नम्बर–१ देखि ८ सम्म मतगणना गरेअनुरुप नै मत गणना हुनुपर्ने माग राखेका छन् । नेकपा (एमाले) धुलिखेल नगर कमिटिका अध्यक्ष दयाराम महतले निर्वाचन अधिकृतले आफुहरुलाई आयोगको थप निर्देशनको बारेमा छलफल गर्न बोलाए पनि निर्देशनको बारेमा कुनै जानकारी नदिइएको गुनासो गर्नुभयो । एमाले विधि र कानुनअनुसार चल्ने भन्दै कानुन अनुसार नै मतगणना हुनुपर्ने पक्षमा आफुहरु रहेको उहाँले बताउनुभयो । निर्देशिकामा सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको, औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिन्ह बाहेक अन्य चिन्ह वा छाप लगाई मत सङ्केत गरिएको, मत सङ्केत चिन्ह नबुझिने गरी लतपतिएको वा च्यातिएको, उम्मेदवारको निर्वाचन चिन्ह रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको, उम्मेदवार नरहेको निर्वाचन चिन्हमा मात्र मत सङ्केत गरिएको, निर्वाचित गर्नुपर्ने सङ्ख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा छुट्टाछुट्टै मत सङ्केत गरिएको, एकभन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा मत सङ्केतको चिन्ह पर्नेगरी मत सङ्केत गरिएको अवस्थामा मत बदर हुने उल्लेख छ ।
रौतहटको तीन वटा पालिकामा प्रमुख र उपप्रमुख निर्वाचित
जिल्लाको दुर्गाभगवती गाउँपालिकाको अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार भिखारीप्रसाद यादव सात हजार ५२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
बुटवलका प्रमुखमा काँग्रेसका खेलराजको अग्रता
स्थानीय तह निर्वाचनको जारी मतगणनामा बुटवलका प्रमुख पदका उम्मेदवार काँग्रेस नेता खेलराज पाण्डेयले मतान्तरलाई फराकिलो बनाउँदै अघि बढ्नुभएको छ ।
९९ वर्षीय गुरुङद्वारा स्टेचरमा आएर पुनः मतदान
अमरराज नहर्कीतनहुँ, जेठ ४ गते । तनहुँमा एक ९९ वर्षीय वृषसिंह गुरुङले स्टेचरमा आएर पुनः मतदान गर्नुभएको छ । व्यास नगरपालिकाको नगर प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीबाट कुटपिट भएपछि रोकिएको मतदान केन्द्रमा बुधबार पुनः मतदान गर्नुभएको हो । व्यास नगरपालिका वडा नं. ८ को २ वटा मतदान केन्द्रमा बुधबार पुनः मतदान गरिएको थियो । निर्वाचन आयोगको शनिबार भएको निर्णयानुसार शुक्रबार भएको मतदानलाई रद्ध गरी पुनः मतदान गर्नु भनी निर्देशन भई आएकाले बुधबार पुनः मतदान भएको हो । वडा नम्बर ८ को रिस्तीस्थित पुरानो गाविस भवन फेदी क र ख केन्द्रमा पुनः मतदान भइरहेको छ । यसअघि वैशाख ३० गते पनि गुरुङले मतदान गर्नुभएको थियो । बुधबार गुरुङले दोस्रो पटक मतदान गर्नुभएको हो । मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाका अनुसार विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म पुनः मतदान हुँदैछ ।
झापाको हल्दिबारीमा राप्रपाका रवीन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित
विष्णुप्रसाद पोखरेलदमक, जेठ ४ गते । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको आफ्नो पालिका झापाको हल्दिबारीमा राप्रपाले अध्यक्ष र उपाध्यक्षसहित पालिकामा बहुमत ल्याएको छ । गाउँपालिकाको अध्यक्ष रवीन्द्र लिङ्देन पुनः निर्वाचित हुनुभएको हो । उहाँ राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनका आफ्नै भाइ हुनुहुन्छ । निर्वाचन अधिकृतको कार्यालय हल्दिबारीका अनुसार लिङ्देन ६ हजार ८५६ मत ल्याएर विजयी बन्नुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का डम्बरबहादुर गिरीलाई २ हजार १९० मतान्तरले पराजित गर्नुभयो । गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ । गिरीले ४ हजार ६६६ मत ल्याउनुभयो । गाउँपालिका उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली निर्वाचित हुनुभएको छ । मैनालीले ५ हजार ७८ मत ल्याउनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी एमालेका शान्तादेवी गौतमले ४ हजार १०६ मत ल्याउनुभयो ।
पूर्व राज्यमन्त्रीको वडामा उन्मुक्ति पार्टीका उम्मेदवार विजयी
अविनाश चौधरीधनगढी, जेठ ४ गते । नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वराज्यमन्त्री जनकराज चौधरीको वडामा नागरिक उन्मुक्ति पार्टीले विजय हासिल गरेको छ । सो पार्टीका अनर चौधरी अत्यधिक मतका साथ वडा अध्यक्षमा विजयी हुनुभएको हो । नेपाली काङ्ग्रेसका उम्मेदवारलाई २२६ मतान्तरले पराजित गरी उहाँ वडा अध्यक्षमा विजयी हुनुभएको छ । जित हासिल गर्नुभएका चौधरीले ८०३ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा नागरिक उन्मुक्ति पार्टीका सोनी डङ्गौरा, नागरिक उन्मुक्ति पार्टीबाट दलित महिला सदस्यको उम्मेदवार नहुँदा सो पद्मा काङ्ग्रेसका उम्मेदवार शान्ती नेपाली विजयी हुनुभएको छ । खुला सदस्यमा नागरिक उन्मुक्ति पार्टीका रामबहादुर चौधरी र श्यामसुन्दर चौधरी विजयी हुनुभएको छ । काङ्ग्रेसका नेताद्वय एवम् पूर्वमन्त्री रामजनम चौधरी र पूर्व राज्यमन्त्री चौधरीको गृह पालिका हो । दुवै जनाको वडामा नागरिक उन्मुक्ति पार्टीले कब्जा जमाउन सफल भएको छ । पूर्वमन्त्री चौधरीको घर रहेको वडामा नागरिक उन्मुक्ति पार्टीका रामजनम चौधरी नै विजयी भइसक्नुभएको छ । जोशीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार जित नजिक रहनु भएको छ । अब औपचारिक घोषणा गर्न मात्रै बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयको भनाई छ ।
पन्ध्र ठाउँमा मतदान जारी, मतदान शान्तिपूर्ण रहेको आयोगको भनाई
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ ४ गते । गत वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह सदस्य निर्वाचन २०७९ विभिन्न कारणले स्थगित भएको पन्ध्र ठाउँमा आज मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार मतदान कार्य शान्तिपूर्ण रुपमा भइरहेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदान शान्तिपूर्ण र उत्साहप्रदरुपमा भइरहेको खवर आयोगलाई प्राप्त भएको छ । उहाँकाअनुसार आज तनहुँको व्यास नगरपालिका वडा ४, हुम्लाको चंखेली गाउँपालिकाको वडा २, बाराको पचरौता नगरपालिका वडा २, सोही नगरपालिकाको वडा २ को श्रीनगर प्रावि मतदान केन्द्रमा मतदान कार्य जारी छ । सोहीअनुसार रौतहटको फतुवाविजयपुर नगरपालिकाको वडा ७, देवाही गोनाही नगरपालिका वडा २, यमुनामाई गाउँपालिका वडा १, वडा २, गढीमाई नगरपालिका वडा ३, वडा ६, बौधीमाई नगरपालिका वडा १, वडा २, वडा ९ र गरुडा नगरपालिका वडा ७ मा मतदान कार्य जारी रहेको आयोगले जनाएको छ ।आयोगकाअनुसार अछामको साँफेबगर नगरपालिका वडा १३ मा जेठ ६ गतेका लागि मतदान समय तोकिएको छ । सोहीअनुसार उदयपर र बाजुरा जिल्लाका विभिन्न मतदान केन्द्रमा स्थगित निर्वाचनको मिति तोक्न बाँकी रहेको आयोगको भनाई छ ।आयोगकाअनुसार उदयपुरको त्रियुगा नगरपालिका वडा १२, बाजुराको बुढीगंगा नगरपालिका वडा १, वडा २, वडा ३, वडा ४, वडा ५, वडा ६, वडा ७, वडा ८, वडा ९, वडा १० र बुढीनन्दा नगरपालिकाको वडा ८ मा स्थगित निर्वाचनको मितिबारे निर्णय गर्न बाँकी रहेको छ । सोको निर्णय आयोगले छिटै गर्ने सहायक प्रवक्ता अर्यालले बताउनुभयो ।
लिखुको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले
ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोक कार्की विजयी हुनुभएको छ ।
जैमिनी नगरपालिकामा जनमोर्चा विजयी
बागलुङको जैमिनी नगरपालिकामा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार जनमोर्चाका उम्मेदवार नरबहादुर थापा विजयी हुनुभएको छ । उपप्रमुखमा नेपाली काँग्रेसका हरिहर शर्मा विजयी हुनुभएको छ ।
जुगलमा गठबन्धनका रेशम र हिमाल विजयी
सिन्धुपाल्चोक, जेठ ४ गते । जुगल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का रेशम स्याङ्बो र नेपाली कांग्रेसका हिमाल श्रेष्ठ विजयी भएका छन् । उक्त गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भई नेकपा एमालेसँग निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो । एकिकृत समाजवादीका उम्मेदवार स्याङ्बोले पाँच हजार ५७२ मत ल्याउनु भएको छ भने उहाँको निकटतम प्रतिदन्द्धी एमालेका जयबहादुर लामाले चार हजार ४१५ मत ल्याउनु भएको छ ।गठबन्धनका उपाध्यक्ष उम्मेदवार हिमाल कुमार श्रेष्ठले चार हजार ७६८ मत ल्याई विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिदन्द्धी एमालेकी सुनिता थापा लामाले तीन हजार ७०७ मत ल्याई पराजित हुनु भएको छ ।
सल्यानको दार्मा गाउँपालिकामा माओवादीको 'क्लिन स्वीप'
सल्यान जिल्लाको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले 'क्लिन स्वीप' गरेको छ । अध्यक्ष, उपाध्यक्ष र छ वटै वडा जितेर माओवादीले दार्मामा जित दर्ता गर्दै पहिलो पटक क्लिन स्वीपको इतिहास रच्न सफल भएको हो ।
रौतहटको छ वटा नगरपालिकामा पुनः मतदान सुरु
रौतहटको ६ वटा नगरपालिकामा बुधबार मतदान सुरु भएको छ । वैशाख ३० गतेको निर्वाचनमा उत्पन्न विवाद, मतपेटिकामा आगजनी तथा लुटपाटको घटनाले स्थगन भएको निर्वाचन आज पुनः सुरु भएको हो ।
जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता बढ्दै
मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । त्यहाँ पाँचदलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका साझा उम्मेदवार पाँचौँ स्थानमा छन् । गठबन्धनका तर्फबाट नगरप्रमुखका साझा उम्मेदवार जनता समाजवादी पार्टीका लालकिशोर साहको मत परिणाम निराशाजनक देखिएको हो । नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साहले तीन हजार ९५६ मतका साथ अग्रता बनाउँदा निवर्तमान नगरप्रमुखसमेत रहनुभएका गठबन्धनका उम्मेदवार लालकिशोर ४२९ मत ल्याएर पाँचौँ स्थानमा हुनुहुन्छ ।
धमाधम आउँदै निर्वाचन परिणाम
गत शुक्रबार सम्पन्न स्थानीय तह सदस्यको निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । उम्मेदवारहरू धेरै भएका स्थानमा मतगणनाको परिणाम आउन समय लागेको पाइएको छ । बागमती प्रदेशका विभिन्न जिल्लाबाट प्राप्त मत परिणामअनुसार सत्तारूढ गठबन्धनले अग्रता लिएको छ भने दोस्रो स्थानमा नेकपा (एमाले) रहेको छ ।