• १३ साउन २०८१, आइतबार

स्थानीय तह निर्वाचन–२०७९

धमाधम आउँदै निर्वाचन परिणाम

blog

हेटौँडा, जेठ ४ गते । गत शुक्रबार सम्पन्न स्थानीय तह सदस्यको निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । उम्मेदवारहरू धेरै भएका स्थानमा मतगणनाको परिणाम आउन समय लागेको पाइएको छ । बागमती प्रदेशका विभिन्न जिल्लाबाट प्राप्त मत परिणामअनुसार सत्तारूढ गठबन्धनले अग्रता लिएको छ भने दोस्रो स्थानमा नेकपा (एमाले) रहेको छ ।

नेत्रावती डबजोङमा काँग्रेस 

धादिङ समाचारदाता मुरारी अधिकारीका अनुसार धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । गाउँपालिका अध्यक्षमा मेघनाथ रिजाल र उपाध्यक्षमा सीतामाया गुरुङ विजयी हुनुभएको हो ।

 

पाँचवटा वडा रहेको यस गाउँपालिकाको चारवटा वडामा काँग्रेस र एउटा वडाको वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । 

यस्तै गजुरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा सत्तासीन गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ र उपाध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसकी शर्मिला विसुराल विजयी हुनुभएको छ । माओवादी केन्द्रले अध्यक्षसहित पाँचवटा वडा र काँग्रेसले उपाध्यक्षसहित तीनवटा वडामा वडाध्यक्ष जितेको छ । यसैगरी खनियाबास गाउँपालिका अध्यक्षमा विजयी रणबहादुर तामाङले एक हजार ६०९ मत ल्याउनुभएको छ । गाउँपालिका उपाध्यक्षमा विजयी सेकेमान तामाङले एक हजार आठ सय ३७ मत ल्याउनुभएको छ । 

रुवीभ्याली गाउँपालिकाबाट अध्यक्षमा विजयी रामबहादुर तामाङले दुई हजार ७९२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा विजयी काँग्रेसका फेलामा तामाङ विजयी हुनुभएको छ । उहाँले दुई हजार ९०३ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार धनकुमारी तामाङले दुई हजार १३२ मत प्राप्त गर्नुभयो । 

भुम्लुमा गठबन्धन विजयी 

बनेपा समाचारदाता केदार तिमल्सिनाका अनुसार काभ्रेको भुम्लु गाउँपालिकामा गठबन्धनले विजय हासिल गरेको छ । भुम्लु गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का प्रेमबहादुर भुजेल र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार जितेन्द्रमान तामाङ विजयी हुनुभएको हो । 

१० वडा रहेको यस पालिकामा माओवादी केन्द्रले वडा नम्बर १ र ८, काँग्रेसले वडा २, ५ र ९ तथा एमालेले वडा ३, ४, ६, ७ र १० मा वडाध्यक्ष जितेको छ । मङ्गलबार साँझसम्म जिल्लाका १३५ मध्ये ६८ वडाको नतिजा सार्वजनिक भएको छ । नजिताअनुसार जिल्लाका ३१ वडामा विजयी हुँदै काँग्रेस पहिलो, २१ वडामा विजयी हुँदै एमाले, १२ वटा वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी हुनुभएको छ । 

माडीमा एमाले 

चितवन समाचारदाता शालिग्राम नेपालका अनुसार माडी नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)की ताराकुमारी काजी महतो निर्वाचित हुनुभएको छ । पाँचदलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का ऋषि काफ्ले दुई हजार १७२ मतान्तरले पराजित हुनुभएको हो ।


प्रमुखमा निर्वाचित महतोले नौ हजार ९०१ मत र काफ्लेले सात हजार ७२९ मत प्राप्त गर्नुभयो । प्रमुख र उपप्रमुख पदमा एमाले र राप्रपाले तालमेल गरेका थिए । 

उपप्रमुखमा नेपाली काँग्रेसका खेम महतो छ हजार ८३० मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी राप्रपाका मदन पौडेलले पाँच हजार १४० मत ल्याउनुभयो  । एमालेले अन्तिम चरणमा नगरप्रमुख र वडा नं. ६ को वडाध्यक्षमा जित हात पारेको छ । माओवादी केन्द्रबाट २, ४, ५ र ९, राप्रपाबाट १ र ८ र एकीकृत समाजवादीबाट ३ र ७ मा वडाध्यक्ष विजयी हुनुभएको छ । 

सुनापतिमा माओवादी केन्द्र  

रामेछाप समाचारदाता नवराज श्रेष्ठका अनुसार रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका दीपेन्द्र खड्कालाई पराजित गर्दै माओवादीका ठूलोकान्छा तामाङ विजयी हुनुभएको हो । तामाङले पाँच हजार ३९८ मत ल्याउनुभयो र खड्काले चार हजार ८५१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा माओवादीकै गीता विष्ट विजयी हुनुभएको छ । गाउँपालिकाका पाँच वडामध्ये चारवटा वडाको अध्यक्षमा माओवादी केन्द्र र एउटा वडा काँग्रेसले जितेको छ । 


यस्तै रामेछाप नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । प्रमुखमा लवश्री न्यौपानेले छ हजार ६३९ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी एमालेका रोशन पाख्रिनले पाँच हजार ९८६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपाध्यक्षमा काँग्रेसकै बालाकुमारी कार्की विजयी हुनुभएको छ । नौवटा वडा रहेको रामेछाप नगरपालिकाका सातवटा वडाको अध्यक्ष काँग्रेसले र दुईवटा वडाध्यक्ष माओवादी केन्द्रले जितेको छ । 

छवटा वडा रहेको गोकुल गङ्गा गाउँपालिकामा चारवटा वडाको वडाध्यक्ष काँग्रेस र दुईवटा वडाको वडाध्यक्ष एमालेले जितेको छ ।

जिरीमा जिरेल र बुढाथोकी 

दोलखा समाचारदाता बाबुराम शर्माका अनुसार पछिल्लो मत परिणामअनुसार दोलखाको जिरी नगरपालिकाको नगरप्रमुखमा नेपाल कम्युनिस्ट पार्टीका मित्र जिरेल र उपप्रमुखमा कृष्णमाया बुढाथोकी निर्वाचित हुनुभएको छ । जिरेल दुई हजार ९४९ र बुढाथोकी तीन हजार ४३४ मत ल्याएर विजयी हुनुभएको हो । जिरेलका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका लाक्पा शेर्पाले दुई हजार ६९२ र बुढाथोकीका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का तेजबहादुर तमाङले तीन हजार १२० मत ल्याउनुभएको छ । 

मेलुङ गाउँपालिका अध्यक्षमा हीरा थोकर र उपाध्यक्षमा गायत्री आचार्य नेकपा (एमाले)बाट विजयी हुनुभएको छ । अध्यक्षका उम्मेदवार हीरा थोकर पाँच हजार १५४ र उपाध्यक्ष गायत्री आचार्य चार हजार ७४९ मतका साथ विजयी हुनुभएको हो । 

अध्यक्षमा थोकरका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का रवीन्द्र कार्कीले तीन हजार ९९० र उपाध्यक्षमा नेपाली काँग्रेसका भक्तबहादुर तमाङले एक हजार ४४७ मत ल्याउनुभएको छ । 

एक नगरपालिका र छ गाउँपालिकामा मतगणना जारी छ । नौ स्थानीय तहमा रहेका ७४ वटा वडामा सबभन्दा बढी १६ वडा माओवादी केन्द्र, काँग्रेसका १५ र एमालेका १२, एकीकृत समाजवादीका दुई र स्वतन्त्र एक वडामा वडाध्यक्ष विर्वाचित हुनुभएको छ । २८ वडाको मतगणना जारी छ । 

सिन्धुलीमा काँग्रेस अग्रस्थानमा 

सिन्धुली समाचारदाता बाबुराम देवकोटाका अनुसार सिन्धुलीमा पालिका प्रमुख तथा उपप्रमुखमा सत्तारूढ गठबन्धनका उम्मेदवार बढी सङ्ख्यामा विजयी भएका छन् । तीनपाटन, घ्याङलेख र हरिहरपुरगढी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा सत्तारूढ गठबन्धन नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी बन्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तीनपाटन गाउँपालिकाको अध्यक्षमा काँग्रेसका कर्णबहादुर थापामगर नौ हजार २३९ मत प्राप्त गरी पुनः निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का छत्रबहादुर दाहालले आठ हजार ४२ मत ल्याउनुभएको छ । 


उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका धनबहादुर पुलामी विजयी बन्नुभएको छ । घ्याङलेख गाउ“पालिकाको अध्यक्षमा काँग्रेसका जगतबहादुर भोलन पुनः निर्वाचित बन्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका अध्यक्षका उम्मेदवार चतुरमान लोले एक हजार ३८३ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका शङ्करमान घलान दुई हजार ९८३ मत प्राप्त गरी विजयी बन्नुहुँदा उहाँका प्रतिस्पर्धी एमालेका प्रमिला वाइबाले एक हजार ४२८ मत प्राप्त गर्नुभयो ।  

हरिहरपुरगढी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका वज्रध्वज वाइबा चार हजार ७२९ मत प्राप्त गरी विजयी बन्नुभएको छ । उपाध्यक्षमा काँग्रेसका चेखबहादुर थिङ पाँच हजार ७०३ मत ल्याएर विजयी बन्दा उहाँका निकटतम प्रतिस्पर्धी निर्मला ठाडामगरले दुई हजार ८५५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

गोलन्जोर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का शङ्कर बराल चार हजार ७४४ मत प्राप्त गरी विजयी बन्नुभएको छ । उपाध्यक्षमा माओवादी केन्द्रका ज्वालाप्रसाद न्यौपाने विजयी हुनुभयो ।

नुवाकोटमा काँग्रेस 

नुवाकोट समाचारदाता नमराज सुवेदीका अनुसार नुवाकोटको तादी, तारकेश्वर, म्यागङ, किस्पाङ र सूर्यगढी गाउँपालिकाको मतगणना सकिएको छ । तीमध्ये तादी गाउँपालिका र तारकेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार तादी गाउँपालिका अध्यक्षमा काँग्रेसका सन्तमान तमाङ तीन हजार २४१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका किरणप्रसाद रिजालले दुई हजार ५१८ मत ल्याउनुभयो । 

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार सञ्जु श्रेष्ठ–प्याकुरेल तीन हजार ३९७ मत ल्याएर विजयी हुनुभएको छ भने प्रतिस्पर्धी काँग्रेसका ईश्वरी उप्रेतीले दुई हजार ७७८ मत पाउनुभयो ।

किस्पाङ गाउँपालिकामा अध्यक्षमा एमालेका वीरबल तामाङ विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी काँग्रेसका छत्रबहादुर लामा हुनुहुन्थ्यो । उपाध्यक्षमा माओवादी केन्द्रका अर्जुनप्रसाद न्यौपाने विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी काँग्रेसकी दिलकुमारी मोक्तान हुनुहुन्थ्यो  ।

यस्तै तारकेश्वर गाउँपालिकामा काँग्रेसका उम्मेदवार शिवप्रसाद अधिकारी र उपाध्यक्षमा माओवादी केन्द्रका हरिप्रसाद रिमाल विजयी हुनुभएको छ । म्यागङ गाउँपालिकामा अध्यक्षमा र उपाध्यक्ष दुवैमा काँग्रेसका उम्मेदवार विजयी बन्नुभएको छ । अध्यक्षमा आशा तामाङ र उपाध्यक्षमा सीता वाइबा तामाङ निर्वाचित हुनुभएको हो । यस्तै सूर्यगढी गाउँपालिकामा काँग्रेसका उम्मेदवार बन्नुभएका सन्तबहादुर घले अध्यक्ष र मञ्जु बुढाथोकी उपाध्यक्षमा विजयी हुनुभएको छ । छवटा पालिकाको मतगणना सम्पन्न भइसकेको छ ।

राक्सिराङमा गठबन्धन विजयी

मकवानपुर समाचारदाताका अनुसार मकवानपुरको राक्सिराङ गाउँपालिकामा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली काँग्रेसका राजकुमार मल्ल र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का वनस्थम थिङ निर्वाचित हुनुभएको छ ।


अध्यक्षमा निर्वाचित मल्लले पाँच हजार ४८१ र उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का बाबुलाल थिङले चार हजार ५७२ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा विजयी थिङले चार हजार ८३८ र उहाँका निकटतम प्रतिस्पर्धी एमालेका सुन्तलीमाया प्रजाले चार हजार १२१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नौवटा वडा रहेको पालिकामा काँग्रेसले वडा नं. २, ५, ७ र ९, एमालेले वडा नं. १, ३ र ४ तथा माओवादी केन्द्रले वडा नं. ६ र ८ को वडाध्यक्ष जितेको छ ।

यसअघि इन्द्रसरोवर गाउँपालिकामा अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी शर्मा र उपाध्यक्षमा एमालेकै उमाकुमारी लामा निर्वाचित हुनुभएको छ । यस्तै भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका हिदम लामा पुनः निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा सत्तारूढ गठबन्धनबाट काँग्रेसका सञ्जीव श्रेष्ठ विजयी बन्नुभएको छ ।