• ३ साउन २०८१, बिहिबार

निर्वाचन प्रक्रियामा भ्रम उत्पन्न हुने समाचार सम्प्रेषण नगर्न आग्रह

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ ४ गते । निर्वाचन पद्धति र प्रक्रियामा भ्रम उत्पन्न हुनेखालका समाचार सम्प्रेषण नगर्न नगराउन निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्नुहुँदै सो आग्रह गर्नुभएको हो ।

“निर्वाचान सञ्चालनका सबै प्रक्रियामा आयोगको समग्र जिम्मेवारी रहेकोप्रति कुनै द्विविधा नरहेको सन्दर्भमा केही सञ्चारमाध्यममा आएका अन्यथा अर्थ लाग्ने आशयको समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ” विज्ञप्तिमा भनिएको छ, ”निर्वाचन पद्धति र प्रक्रियामा भ्रम उत्पन्न हुनेखालका समाचार सम्प्रेषण नगर्न नगराउन आयोग आग्रह गर्दछ । आयोगको गरिमा र निर्वाचन प्रक्रियाप्रति नै अविश्वास हुनेगरी समाचार सम्प्रेषण नगर्न, नगराउन आयोग सबैमा हार्दिक अनुरोध गर्दछ ।”

यथासमयमा मतगणना सम्पन्न होस् भन्ने सबैको चाहनालाई छिटो कार्य सम्पादन गर्न पनि आयोगले आग्रह गरेको छ । आज मध्यान्हसम्म चार सय ६० पालिकाको अन्तिम परिणाम प्राप्त भइसकेको पनि आयोगले प्रष्ट पारेको छ । अन्य ठाउँको मतपरिणाम आउनेक्रम जारी रहेको आयोगले बताएको छ । 

परिणाम आउन बाँकी पालिकामा मतगणना कार्य २०७९ जेठ ५ गतेसम्म सम्पन्न गर्न आयोगका तर्फबाट अधिकतम् प्रयास भइरहेको जनाउँदै प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “धेरै मत गणना गर्नुपर्ने अवस्था रहेको महानगर र उपमहानगरपालिकाहरुका हकमा बढीभन्दा बढी मतगणना टोली व्यवस्था गरी तोकिएको समयभित्र मतगणना कार्य सम्पन्न गर्न यसअघि नै आयोगबाट भएको निर्देशनलाई आयोग पुनः स्मरण गराउन चाहन्छ ।”  

पाँच दिनभित्र मतगणना सक्न निर्देशन

विभिन्न कारणबाट मतदान कार्य स्थगन भएका पालिकाहरुलाई पाँच दिनभित्र गणना कार्य सम्पन्न गर्न निर्देशन दिएको छ । आयोगको संवैधानिक जिम्मेवारी एवम् मितव्ययीरुपमा निर्वाचन सम्पन्न गराउने दायित्व र जिम्मेवारीलाई पूर्णरुपमा सफल पार्न सबै राजनीतिक दल, उम्मेदवार, आमसञ्चार जगत, नागरिक समाजलगायत सबै सरोकारवालाको उत्तिकै साथ र सहयोग अपरीहार्य रहने आयोगले प्रष्ट पारेको छ ।

विद्यमान कानूनी व्यवस्थाबमोजिम बहालवाला स्थानीय जनप्रतिनिधिहरुको पदावधि यही जेठ ५ गतेसम्म रहेको र तत्पश्चात स्थानीय तह सरकारमा जनप्रतिनिधि विहीनता हुने अवस्थालाई मध्यनजर गरी जेठ ५ गतेभित्र नै मतगणना सम्पन्न गर्न आयोगले भनेको छ । 

“मतगणना कार्यमा सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भइ मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्नेजस्ता समस्याहरु खडा गर्ने, गणना गर्दैजाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो मतान्तर देखिएमा शुरुदेखि नै पुनः मतगणना गराउन खोज्नेजस्ता कार्यबाट मतगणना यथासमयमा सम्पन्न गर्ने कार्यमा व्यवधान उत्पन्न हुने हुँदा त्यस प्रकारका व्यवहार प्रदर्शन नगर्न आयोग हार्दिक आग्रह गर्दछ” विज्ञप्तिमा उल्लेख छ ।