• ४ साउन २०८१, शुक्रबार

गम्भीर त्रुटि गर्ने कर्मचारीको विवरण पठाउन आयोगको निर्देशन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ ४ गते । निर्वाचन प्रक्रियामा जानी जानी गम्भीर त्रुटि र गल्ती गर्ने कर्मचारीको विवरण निर्वाचन आयोगमा पठाउन आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलद्वारा बुधबार जारी विज्ञप्तिमा सो निर्देशन दिइएको हो । 

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका, २०७८ का व्यवस्थाको प्रतिकुल हुनेगरी काम गर्ने कर्मचारीको आयोगले विवरण माग गरेको छ । मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्धकट्टीसहित मतपत्र दिने, अर्धकट्टीमा दस्तखत नगराउने, स्ट्याम्प प्याडको सट्टामा अर्कै मसी प्रयोग गराउने, मतपत्र र मतदाताको सही विवरण तयार नगर्ने, मतपत्रमा मतसङ्केत गर्न रबरको स्वस्तिक छाप दिनुपर्नेमा पित्तलको स्वस्तिक छाप दिनेजस्ता त्रुटि भएको देखिएको आयोगको भनाइ छ ।

“सही किसिमले मुचुल्का तयार नगर्ने, सुरक्षण सिलहरू सही ढङ्गले नलगाउने, पोलबुकमा स्पष्ट विवरण नराख्ने, मतदाता नामावली विवरणमा स्पष्ट रेजा नलगाउने, मतगणना गर्दा आएको सङ्ख्या र कम्प्युटरमा प्रविष्ट सङ्ख्या फरक पार्ने, मतगणना सम्पन्न भएपछि घोषणा गर्न ढिलाइ गर्ने, स्थानीय तह निर्वाचन (मतगणना) निर्देशिका, २०७८ विपरीत मतपत्र सदर वा वदरको निर्णय गर्ने आदि गम्भीर प्रकृतिका गल्तीहरू गरेको देखिएका छन्” विज्ञप्तिमा उल्लेख छ । 

मतदान कार्यमा खटिएका जिम्मेवार मतदान अधिकृतबाट भएका यस्ता गल्तीहरूले निर्वाचनमा विवाद उत्पन्न भई निर्वाचन अवरुद्ध हुने, स्थगित हुने र मतगणना समेत प्रभावित हुने अवस्था आएको आयोगले प्रष्ट पारेको छ । “यसप्रकारका गम्भीर त्रुटि गल्ती गर्ने मतदान अधिकृत र संलग्न अन्य कर्मचारीको नाम, थर, पद, कार्यरत कार्यालयको नाम र ठेगाना, कर्मचारी संकेत नम्बर, खटिएको मतदान केन्द्रको नाम र ठेगाना सबै विवरण खुलाई आयोगमा पठाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ” विज्ञप्तिमा भनिएको छ ।